Comments Add Comment

यी हुन् लकडाउनपछि करोड क्लबमा पुगेका ४ गीत

नेपाल सरकारले करिब ४ महिना लामो लकडाउनलाई लुजडाउनमा परिणत गरेसँगै म्युजिक भिडियो निर्माणमा बाढी नै आयो । चलचित्रको काम ठप्प हुँदा चलचित्रका कलाकारदेखि टिकटकका नयाँ प्रतिभा भिडियोमा व्यस्त बने । लकडाउनपछि सार्वजनिक भएका गीतहरुमध्ये कतिपयलाई दर्शकले रुचाए, कतिपय असफल भए ।

धेरै मेकरहरु त युटुबको भ्यूज र ट्रेन्डिङको आत्मरतीमा रमाए, तर उनीहरुको लाखौ रकम बालुवामा पानी जसरी सकियो । लकडाउनपछि सार्वजनिक भएका गीतहरुमध्ये ४ वटा गीत करोड क्लबमा प्रवेश गरेका छन् । यी चारै गीतलाई दर्शकले रुचाएका छन् । कतिपय गीतहरु सार्वजनिक भएको केही समयपछि दर्शकले मन पराएर करोड क्लबमा प्रवेश गरेका छन् भने कतिपय गीतहरु सार्वजनिक हुने वित्तिकै आक्रामकरुपमा करोड क्लबमा प्रवेश गरे ।

१. ए है मायाः लकडाउन लुजडाउनमा परिणत भएसँगै निर्माण गरेर रिलिज गरिएको पहिलो गीत हो, ‘ए है माया’ । यो गीत सार्वजनिक भएको साढे २ महिना भयो । यो गीतलाई हालसम्म १ करोड ५३ लाख भन्दा बढी पटक हेरिएको छ । २ लाख २१ हजार लाइक्स कमाएको यो गीतमा १२ हजार ७ सय भन्दा बढी प्रतिक्रिया आएका छन् । लकडाउनपछि करोड क्लब टेक्ने पहिलो हिट गीत बनेको ‘ए है माया’मा मेलिना राई र सरोज वलीको स्वर, दिपक शर्माको संगीत, सरोज वलीकै शब्द छ ।


भिडियोमा पल शाह, रियाशा दाहाल, सागर लम्साल, सुधिर श्रेष्ठको अभिनय छ । सरोज वलीले भिडियोको निर्देशन गरेका हुन् ।

२. के माया लाग्छ रः दर्शकले सर्वाधिक रुचाएको अर्को गीतमा पर्छ, ‘के माया लाग्छ र’ । यो गीत सार्वजनिक भएको २ महिना भयो । २ महिनामा गीतलाई हेर्नेको संख्या १ करोड ३७ लाख भन्दा धेरै छ । गीतको भिडियोमा १ लाख ९२ हजार लाइक्स आएको छ भने ४ हजार ६ सय भन्दा बढीले प्रतिक्रिया दिएका छन् ।

दर्शकले अत्याधिक रुचाएको यो गीतमा निशान भट्टराई र एलिना चौहानको स्वर, हर्क साउँदको शब्द रअंकितबाबु अधिकारीको संगीत छ । भिडियोमा मुकुन भुषाल र सुरविना कार्कीको मोडलिङ हेर्न सकिन्छ । भिडियोलाई नविन चौहानले निर्देशन गरेका हुन् ।

३. माया मारेरः नरेश खाती र समीक्षा अधिकारीको स्वर, नरेश खातीकै शब्द तथा संगीतमा तयार भएको ‘माया मारेर’ बोलको गीतले पनि युटुबमा एक करोडभन्दा बढी भ्यूज पाएको छ । सार्वजनिक भएको करिब ३ महिनामा यो गीतलाई हेर्नेको संख्या १ करोड १७ लाख भन्दा बढी छ । गीतको भिडियोमा १ लाख २६ हजारले लाइक गरेका छन् भने करिब ७ हजारले प्रतिक्रिया दिएका छन् । नरेश खातीकै निर्देशनमा तयार भएको भिडियोमा कमल ढुंगाना, रुपेश मगर, जेम थापा, बालबहादुर खातीको अभिनय छ ।

४. ओई काजलः चक्र बमको आवाजमा समावेश ‘ओई काजोल’ पनि सर्वाधिक रुचाइएको अर्को गीत हो । यो गीत सार्वजनिक भएको करिब २ महिना भयो । यो गीतको भिडियोलाई युटुबमा १ करोड ५५ हजार भन्दा बढी पटक हेरिएको छ । १ लाख ११ हजारले लाइक गरेको गीतमा ६ हजारभन्दा बढी प्रतिक्रिया आएको छ । यो गीत विस्तारै चलेको थियो । तर, श्रोताले रुचाउँदै गएपछि दमदार रुपमा चल्यो । गीतमा चक्र बमकै शब्द तथा संगीत छ । विक्रम चौहानको निर्देशनमा तयार भएको भिडियोमा चक्र र गीता ढुंगानाको मोडलिङ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment