Comments Add Comment

वीरगञ्जमा कोरोना संक्रमित पुरुषको मृत्यु

२२ भदौ, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका–३० लालपर्साका ५४ वर्षीय पुरुषको वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालको आईसीयूमा उपचारको क्रममा सोमबार दिउँसो १ बजे मृत्यु भएको हो ।

अस्पतालका चिकित्सक डा. नौसाद अलीका अनुसार मधुमेह, उच्च रक्तचाप, दम र मृगौला रोगबाट ग्रसित उनलाई कोरोना संक्रमण पुष्टि भएपछि भदौ १५ गते नारायणी अस्पतालले कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा पठाएको थियो ।

वीरगञ्ज हेल्थ केयरमा ३ पटक मृगौलाको डायलायसिस पनि गरिएको थियो । तर विभिन्न दीर्घ रोगबाट ग्रसित उनमा कोभिड निमोनिया देखिएको थियो । उपचारपछि पनि स्वास्थ्यमा सुधार आउन नसकेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

‘फुल अक्सिजन दिएर आईसीयूमा राखेका थियौं, १२ बजेतिर बढी गाह्रो हुन थाल्यो’ डा. अलीले भने ‘सीपीआर गर्नेदेखि लिएर गम्भीर अवस्थाबाट बाहिर ल्याउन एक घण्टासम्म कोशिस गर्‍यौं । तर बचाउन सकिएन ।’

योसँगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५९ पुगेको छ । साउन यतामा मात्रै ५३ जनाको मृत्यु भएको छ ।

मृत्यु भएका ५९ जनामध्ये पर्साका ४२ जना, बाराका १२ जना, रौतहटका ४ जना र सर्लाहीका १ जना छन् । दुई जनाको भने ठेगाना खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment