Comments Add Comment

कांग्रेसमा महाधिवेशन सार्ने र कार्यसमितिको म्याद थप्ने तयारी

‘अर्ली महाधिवेशन’ माग गर्नेहरु असन्तुष्ट

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकको फाइल तस्‍वीर ।

२६ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसको महामारीका कारण निर्धारित मितिमा १४ औं महाधिवेशन गर्न असम्भव रहेको भन्दै सार्ने तयारी गरेको छ ।

कांग्रेसले आगामी फागुन ७–१० गते काठमाडौंमा १४ औं महाधिवेशन गर्ने कार्यतालिका निर्धारण गरेको छ ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले बुधबार १०७ औं वीपी जयन्तीको अवसरमा भएको ‘वीपी विचार नेपालको समुन्नतिको मूल बाटो’ विषयक भर्चुअल अन्तक्र्रियामा संगठन समायोजन र क्रियाशील सदस्यतासम्बन्धी कार्यतालिका प्रभावित भइसकेकाले केन्द्रीय महाधिवेशन समयमै हुन नसक्ने बताएका थिए ।

फागुनमा महाधिवेशन हुन नसक्ने निश्चित भएकाले केन्द्रीय समिति बैठक बोलाएर सारी कार्यकर्तामा रहेको अन्योल चिर्नुपर्ने सिटौलाको भनाइ थियो ।

सभापति शेरबहादुर देउवाले महाधिवेशनका लागि तय गरिएको कार्यतालिका घर्किएपछि उपत्यका र विभिन्न स्थानमा भएको निषेधाज्ञाबीचमै भर्चुअल बैठक राखेर महाधिवेशनसम्बन्धी निर्णय गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

तर, नेता रामचन्द्र पौडेलले कोराना महामारीका कारण निषेधाज्ञा भएकै समयमा भर्चुअल बैठक राखेर महाधिवेशनसम्बन्धी छलफल गर्नु उपयुक्त नहुने भनेपछि रोकिएको थियो ।

बिहीबारबाट उपत्यकामा लकडाउन खुकुलो हुने संकेत पाएपछि सभापति देउवाले महाधिवेशनको कार्यतालिका र केन्द्रीय कार्यसमितिको म्याद थपबारे एजेण्डा राखेर केन्द्रीय कार्यसमिति बैठक असोज दोस्रो साताभित्र बोलाउने विषयमा नेता पौडेलसँग छलफल गरी मिति निर्धारण गर्न उपसभापति विमलेन्द्र निधिलाई जिम्मा दिएका छन् । निधिले यस विषयमा नेता पौडेलसँग कुराकानी गरिसकेका छन् ।

संस्थापन पक्षीय केन्द्रीय सदस्य एनपी साउदले विधानमा भएका व्यवस्था अनुरुप महाधिवेशनका क्रियाकलाप अगाडि बढाउन सरकारले तोकेको स्वास्थ्य ‘प्रोटोकल’ अनुरुप नमिल्ने भएको सार्नुको विकल्प नभएको बताए ।

महाधिवेशन सार्ने र वर्तमान केन्द्रीय कार्यसमितिको म्याद थप्ने एजेण्डामा छलफल गर्न सजोज दोस्रो साता केन्द्रीय कार्यसमितिको बैठक बोलाउने तयारी भइरहेको बताए ।

‘पार्टी विधानमा सक्रिय सदस्यको भेला राख्ने, नयाँ सदस्यता दिन नदिने त्यो भेलाले पारित गर्नुपर्ने व्यवस्था छ । सबै कार्यक्रम गर्न कोरोनाको प्रटोकल अनुसार मिल्दैन,’ साउदले भने, ‘केन्द्रीय समितिले बनाएको कार्यतालिकाभित्र संगठन समायोजन र क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सकिएन । अझै पनि ती कार्य तत्काल गर्ने अवस्था छैन । त्यसैले समयमै महाधिवेशन हुन गाह्रो छ, सार्नुपर्छ । यो मेरो व्यक्तिगत राय हो । आधिकारिक निर्णय असोज दोस्रो साता बोलाइएको केन्द्रीय कार्यसमिति बैठकले गर्छ ।’

गत असार २२ गतेको केन्द्रीय कार्यसमिति बैठकले संशोधन गरेको महाधिवेशनको कार्यतालिकाअनुसार संविधानअनुरुप पार्टी संगठन समायोजन साउन १० गतेसम्म सक्ने र प्रतिनिधिसभा क्षेत्रीय समितिलाई नयाँ सदस्यता वितरण र जिल्ला कार्यसमितिलाई पुराना क्रियाशील सदस्यको नविकरण गरिसक्ने समय निर्धारण गरेको थियो ।

तर, अहिलेसम्म प्रदेश नम्बर २ का सबै जिल्ला धनुषा, महोत्तरी, सर्लाही, रौतहट, सिरहा, बारा, पर्सा र सप्तरी वाग्मती प्रदेशका काभ्रे र सिन्धुपाल्चोक तथा गण्डकी प्रदेशको मुस्ताङमा समायोजनको काम सकिएको छैन । समायोजनको काम नसकिएका ११ बाहेक सोलुखुम्बु र डडेलधुरामा क्रियाशील सदस्यताको फाराम नै केन्द्रीय कार्यालयले पठाएको छैन । तत्काल कोरोना महामारीका कारण यी दुई काम गर्न असम्भव भएको भन्दै महाधिवेशन सार्ने तयारीमा कांग्रेस लागेको हो ।

कांग्रेसले केन्द्रीय कार्यसमितिका सबै सदस्यको पीसीआर परीक्षण गरी केन्द्रीय कार्यालयमै सामाजिक दूरी कायम गरेर बैठक राख्ने तयारी गरेको छ । अहिलेसम्म कांग्रेसका तीन केन्द्रीय सदस्यलाई कोरोना संक्रमण भएर निको भइसकेको छ ।

महालक्ष्मी उपाध्याय ‘डिना’, जीवनबहादुर शाही र अजय चौरासिया संक्रमण मुक्त भइसकेका छन् । शाही कांग्रेसको कर्णाली प्रदेश संसदीय दलका नेता पनि हुन । महामन्त्री डा. शशांक कोइरालाई मंगलबारमात्रै कोरोना संक्रमण भएको छ ।

संविधानतः ६ महिना म्याद थप्न मिल्छ

विधानमा भएको व्यवस्थाअनुरुप नियमित रुपमा कांग्रेसको महाधिवेशन गत फागनु १९ गतेभित्र उदघाटन भइसक्नु पर्थ्यो । शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको विधानमा उल्लेख भएको ४ वर्षे कार्यकाल १९ फागुनमा सकिएको थियो । कांग्रेसको १३ औं महाधिवेशन २०७२ फागुन २०–२३ गते सम्पन्न भएको थियो ।

तर, विधानमा भएको ‘विषेश परिस्थिति’को सुविधा प्रयोग गरेर गत पुस ११ गते बसेको केन्द्रीय कार्यसमितिको बहुमतले आगामी फागुन १९ गतेसम्म एक वर्ष म्याद थपेको थियो । त्यही बैठकले आगामी फागुन ७–१० मा महाधिवेशन गर्ने मिति पनि निर्धारण गरेको थियो ।

तर, कोरोना महामारीका कारण निर्धारित मितिमा गर्न नसक्ने भन्दै कार्यसमितिको म्याद थप्ने र महाधिवेशनको मिति सार्ने तयारी गरिएको हो । संविधानतः अब कांग्रेसले १३ औं महाधिवेशनबाट निर्वाचित समितिहरुको म्याद फागुन १९ देखि ६ महिना मात्रै थप्न सक्छ ।

नेपालको संविधान २०७२ को धारा २६९ को उपधारा ४ (ख) मा ‘राजनीतिक दलको विधानमा कम्तिमा पाँच वर्षमा एकपटक दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ, तर विशेष परिस्थिति उत्पन्न भइ पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिनेगरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन,’ भन्ने उल्लेख छ ।

संविधानको यही व्यवस्था प्रयोग गरेर ६ महिना कार्यसमितिको म्याद थप्ने र त्यही समयभित्र महाधिवेशन गर्ने तयारी कांग्रेसको छ ।

‘अर्ली महाधिवेशन’ माग गर्नेहरु असन्तुष्ट

२०७४ मा सम्पन्न स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित नतिजा आएपछि कांग्रेसमा अर्ली महाधिवेशनको कुरा उठेको थियो । गगन थापा, धनराज गुरुङ, चन्द्र भण्डारी, बद्री पाण्डे, प्रदीप पौडेल, कल्याण गुरुङलगायतका युवा नेताहरुले अर्ली महाधिवेशन गर्न सभापति देउवा र नेता पौडेलको ध्यानाकर्षण गराउँदै माग गरेका थिए ।

नेता रामचन्द्र पौडेलले केन्द्रीय कार्यसमिति बैठकमा समयमै महाधिवेशन गर्ने कार्यतालिकासहितको लिखित प्रस्ताव गरेका थिए । त्यसमा नेतृत्व तयार नभएर एक वर्ष म्याद थप हुँदा अहिले यो अवस्था आएको यसमा यो भन्दा अघिल्लो कार्यसमितिले पनि एक वर्ष म्याद थपेको थियो, हामीले पनि थप्नुपर्छ भन्ने परम्पराले कांग्रेसमा समस्या आइरहने केन्द्रीय सदस्य गगन थापा बताउँछन् ।

‘अहिले सभापति शेरबहादुर देउवाले अघिल्लोपटक सुशील कोइरालाको कार्यकालमा थपिएको थियो भन्नुहुन्छ । त्यसबेला कोइरालाले त्योभन्दा पहिलो थपिएको थियो भन्नुभयो । कांग्रेसमा राम्रा कुरालाई निरन्तरता नदिने र खराब कुरालाई निरन्तरता दिने कामले गर्दा समस्या भइरहन्छ,’ थापाले भने ।

संविधान र विधानमा भएको आपतकालीन अवस्थामा प्रयोग गर्न मिल्ने दफाहरुलाई परम्पराको नाममा प्रयोग गर्ने कांग्रेसको रोग भइसकेको उनको भनाइ छ । ‘विधानले जे कुरा भनेको छ, त्यो कहिल्यै गरिँदैन । कहिलेकाही अप्ठ्यारो पर्छ भनेर विधानमा आपतकालीन अवस्थामा प्रयोग गर्न मिल्ने दफाहरु राखिएको छ । त्यसलाई परम्पराको नाममा प्रयोग गर्ने कांग्रेसको रोग भइसक्यो,’ केन्द्रीय सदस्य थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment