+
+
Shares

पुनर्बहालीको माग गर्दै टाइगर प्यालेसका कर्मचारी आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २९ गते १४:३२

२९ भदौ, बुटवल । कामबाट निकालिएका रुपन्देहीको तिलोत्तमास्थित पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टका कर्मचारीहरु आन्दोलित भएका छन् ।

कम्पनीले करार सम्झौता नवीकरण नहुने भन्दै इमेल पठाएपछि कर्मचारीहरुले पुनर्बहालीको माग गर्दै सोमबार रिसोर्ट घेराउ गरेका हुन् ।

झण्डै दुई सयजनाको संख्यामा उपस्थित कर्मचारीहरुले अन्यायमा परेको भन्दै आफूहरुलाई पुनर्बहाली गर्न माग गर्दै नाराबाजी गरेका छन् ।

आन्दोलनमा महिला कर्मचारीको संख्या उल्लेख्य छ । कर्मचारी आन्दोलनमा उत्रिएपछि रिसोर्टमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आन्दोदनमा उत्रिएका कर्मचारीहरुले शान्तिपूर्णरुपमै पुनर्बहालीको माग गर्दै नाराबाजी गरेको इलाका प्रहरी कार्यालय मंगलापूरका प्रमुख प्रहरी निरीक्षक रुम केसीले बताए ।

कम्पनीका उच्च पदस्थ व्यवस्थापन टिम भने अष्ट्रेलिया र हङकङमा रहेका छन् । रिसोर्टमा हाल निजी क्षेत्रका सुरक्षाकर्मी र केही विदेशी कर्मचारी मात्र रहेका छन् ।

होटलका एचआर म्यानेजर रहेका इन्द्र भट्टराईले आफूलाई करार सम्झौता नवीकरण नहुने इमेल आएको र आफू अहिले रिसोर्टमा नरहेकाले कर्मचारीको आन्दोलनबारे केही नबोल्ने प्रतिक्रिया दिए ।

रिसोर्टको सुरक्षा प्रमुख एवम् पूर्व प्रहरी नायब उपरीक्षक (पूर्व डीएसपी) मेघराज कँडेलले कर्मचारीको आन्दोलन र मागबारे आफूहरुले कम्पनीका सञ्चालकहरुलाई जानकारी गराउने बताए ।

कोरोना महामारीका कारण आर्थिक संकट उत्पन्न भएको भन्दै अस्ट्रेलियन सिल्भर हेरिटेज कम्पनीको लगानीमा सञ्चालित रिसोर्टले दुई वर्षे करार सम्झौता सकिएको भन्दै कर्मचारीहरुलाई इमेलबाट पत्र पठाएर अब करार सम्झौता नवीकरण नहुने स्पष्ट पारेको थियो ।

कामबाट निकालिनेहरुमा रिसोर्टको माथिल्लो पद जनरल म्यानेजरदेखि तल्लो तहमा कार्यरत कर्मचारी छन् । रिसोर्टमा क्यासिनोसमेत सञ्चालित थियो ।

आन्दोलनको नेतृत्व गरेका कर्मचारी चित्र भण्डारीले कम्पनीले कर्मचारीसँग छलफल र सल्लाह नै नगरी एक्कासी इमेलबाट पत्र पठाएर जागिरबाट हटाएको भन्दै पुनर्बहाली हुनुपर्ने मागसहित आन्दोलनमा उत्रिएको बताए ।

उनले नेपालको श्रम ऐनअनुसार दुई वर्षभन्दा बढी अवधि काम गरेका कामदारहरुलाई निकाल्न नपाइने तर्कसमेत गरे ।

करार अवधि सकिएको एक वर्ष पुग्न थालिसकेकाले अहिले करार सम्झौता सकिएको कुरा गर्नु अनुचित हुने अर्का कर्मचारी विशाल कार्कीको तर्क छ ।

तिलोत्तमा नगरपालिका-१३ कोटिहवामा १४ विगाह क्षेत्रफलमा चार वर्षअघि ६ र्बभन्दा बढी लगानीमा प्रदेश ५ कै पहिलो पाँचतारे होटेलका रुपमा टाइगर वान प्रा.लि.अन्तर्गत टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?