
३१ भदौ, काठमाडौं । जापानको संसद्ले योसिहिडे सुगालाई प्रधानमन्त्रीकोरुपमा चयन गरेको छ । बुधबार भएको मतदानमा सुगाले जित हासिल गर्दै प्रधानमन्त्रीको पद सुरक्षित गरेका हुन् ।
सिन्जो आबेले आफ्नो कार्यकाल सकिनुभन्दा अघि नै स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएपछि उनको बाँकी कार्यकालका लागि नयाँ प्रधानमन्त्रीको चयन गरिएको हो ।
यसअघि गत सोमबार सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले उनलाई आफ्नो नेता चयन गरेको थियो । यससँगै सुगा जापानको नयाँ प्रधानमन्त्री बन्न निश्चितजस्तै भएको थियो ।
जापानको संसद्मा एलडीपीको बहुमत छ । जसको कारण उनले बुधबार जापानको तल्लो सदनमा भएको मतदानमा सहज जित हात पारेका हुन् ।
बुधबार नै सिन्जो आबेले अन्तिम मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । उनले सञ्चारकर्मीहरुसँगको कुराकानीमा आफ्नो कार्यकालमा हासिल भएको उपलब्धिबाट आफू गौरवान्वित भएको बताएका थिए ।
आगामी वर्ष हुन गइरहेको संसदीय निर्वाचनसम्म सुगा जापानको प्रधानमन्त्रीको रुपमा रहनेछन् । ७१ वर्षीय यी नेतालाई कोरोना भाइरस (कोभिड-१९)को कारण अर्थतन्त्रमा देखिएको असर कम गर्ने चुनौती रहनेछ । विश्वको सबैभन्दा धेरै प्रतिशत वृद्ध मानिसको जनसंख्या रहेको मुलुकको अर्थतन्त्र सन् २०२० को दोस्रो त्रैमासमा अघिल्लो त्रैमासको तुलनामा २७ दशमलव ८ प्रतिशतले घटेको थियो ।
सुगाले बुधबार नै आफ्नो मन्त्रिपरिषद्को घोषणा गर्न सक्ने अपेक्षा छ । उनले यसअघि नै आबेको नीतिलाई नै आफूले अघि बढाउने बताइसकेका छन् ।
स्रोत : अलजाजिरा
प्रतिक्रिया 4