Comments Add Comment

आहा ! पुनर्जीवित रानीपोखरी

३ असोज, काठमाडौ. । भूकम्पपछि पुर्ननिर्माणको लागि सुकाइएको रानीपोखरीमा करिब ५ वर्षपछि फेरि पानी भरिएको छ । एक समय कुरुप चौरमा परिणत भइसकेको रानी पोखरी फेरि लोभलाग्दो देखिएको छ ।

पोखरीको पानी जम्ने सतहसँगै वरिपरि पर्खाल परम्परागत शैलीमा बनाएर २ दिनदेखि केयूकेएल अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालयले यसमा करिब पौने ३ करोड लिटर पानी भरिसक्यो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर रमाजुमान मानन्धरका अनुसार भोलि साँझसम्म रानीपोखरीमा पानी पुरै भरिनेछ । भर्नका निम्ति करिब ३ करोड लिटर पानी हाल्नुपर्ने अनुमान छ ।

पोखरीको बीचमा बालगोपालेश्वर मन्दिर शिखर (ग्रन्थकुट) शैलीमा बनिरहेको छ । मानन्धरका अनुसार मन्दिरको गजुर हाल्ने काम मात्रै बाँकी छ । वर्षाको पानी जम्मा हुन थालेपनि रानीपोखरी भरिन सकेको थिएन । यसमा डिप बोरिङ गरेर भर्न खोजिएपनि सम्पदा अभियान्ताको विरोधले रोकिएको थियो ।

२०७२ माघ २ गते भूकम्प दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले यसको पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् । त्यसपछि काठमाडौं महानगरले जिम्मा लिएर अलपत्र पारेको थियो । पोखरीदेखि पर्खालसम्म कंक्रिट प्रयोग भएपछि विवाद भयो । रानीपोखरीको पुननिर्माणमा कंक्रिट प्रयोग गर्ने अडानले मेयर विद्यासुन्दर शाक्य विवादमा पनि तानिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पोखरी तथा पुरतत्व विभागले मन्दिर पुनर्निर्माणको जिम्मा लिएका थिए । भक्तपुरका कालीगढ ल्याएर परम्परागत तवरले कालोमाटोको प्रयोग गरेर पोखरीलाई पानी अडिने बनाइयो ।

पानी कसरी भर्ने भन्ने अन्योलका बीच केयूकेएलले नै रानीपोखरी भर्ने पानी उपलब्ध गरायो, अब भोलि साँझसम्म रानीपोखरीमा टनाटन पानी भरिनेछ । र, संकटमा परिसकेको एउटा सम्पदाले पुर्नजीवन पनि पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment