Comments Add Comment

सरकार असहमति राख्ने नागरिकलाई प्रहरी लगाएर तर्साउन खोज्दैछ : गगन थापा

४ असोज, काठमाडौं । नेपाली कांग्रेस नेता गगनकुमार थापाले सरकारप्रति असहमति राख्नेलाई प्रहरी लगाएर तर्साउन खोजिएको बताएका छन् ।

‘लोकतान्त्रिक मुलुकमा आफ्ना विचार राखेकै कारण कसैमाथि दुव्र्यवहार गर्ने होइन’ थापा भन्छन् । फरक मत राख्ने नागरिकमाथिको श्रृंखलाबद्ध आक्रमण आकस्मिक नभई योजनाबद्ध रहेको उनको विश्लेषण छ ।

‘पछिल्ला केही घटनाहरू हेर्दा ड्युटीमा खटिएका प्रहरीको आकस्मिक प्रतिक्रिया मात्रै हो भन्न सकिन्न, किनभने यी घट्नाहरू घटी रहँदा गृह मन्त्रालयबाट विभिन्न सर्कुलर गरिएको भन्ने सुनिएको छ’ नेता थापाले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्, ‘यसबाट के प्रस्ट हुन्छ भने सरकारले प्रहरीलाई प्रयोग गरेर जनतालाई दमन गर्ने प्रयास गर्दैछ ।’

बब्लु गुप्तामाथि बबरमहलमा भएको घटनाले प्रहरी प्रशासन कति संवेदनहीन र असक्षम छ भन्ने पुष्टि गरेको नेता थापाको निश्कर्ष छ । यस्ता घटनालाई छिटपुट घटना भनेर पन्छिन मिल्ने अवस्था र सुविधा प्रहरीसँग नभएको उनी बताउँछन् ।

बब्लु गुप्तालाई घेराहालेर निर्घात कुटेकै दिन प्रहरीले अनामनगरका मनिष श्रेष्ठलाई रक्ताम्य पारेर कुटपिट गरेको थियो । त्यही दिन अनलाइनखबरकर्मीसँग नयाँ बानेश्वरमा संविधानबारे आफ्नो धारणा राखी रहेका निर्दोष नागरिकमाथि प्रहरी निरीक्षककै हातपातमा उत्रेका थिए ।

यो पनि पढ्नुहोस संविधान दिवसबारे बोल्दा प्रहरीले लखेटी लखेटी कुट्यो

सामाजिक दुरी कायम गरेर मास्क सहित अन्तर्वार्ता दिईरहेका बसन्त पौडेललाई प्रहरी निरीक्षक नेतृत्वको टोलीले लखेटी लखेटी कुटेका थिए । यो घट्ना छानबिन गर्नेतर्फ प्रहरीको ध्यान गएको छैन ।

प्रहरी ज्यादती काठमाडौंमा मात्रै सीमित छैन । एउटै व्यक्तिलाई दुई दुई वटा लठ्ठी भाँचिने गरी कुटेका थिए । नेता थापा भन्छन्, ‘म देशका विभिन्न ठाउँहरूमा पुगिरहँदा युवाहरूले गर्ने गरेका गुनासाहरू मध्ये प्रहरीले गर्ने दुव्र्यवहार प्रमुख रुपमा उठान हुन्छन् ।’

प्रहरीमाथि दुव्र्यवहार गर्दा सामाजिक सञ्जाल लगायतका ठाउँमा स्वतःस्र्फूत रुपमा न्यायका लागि मानवताका लागि सर्वसाधारणले नै आवाज उठाएका थिए ।

‘तर प्रहरीद्वारा सर्वसाधारणमाथि दुव्र्यवहार हुँदा भने त्यस्ता आवाज निकै कम सुनिन्छन् । अर्थात् प्रहरीले गर्ने दुव्र्यवहार र ज्यादतीका घटनालाई हामीले सम्मनकिरण गर्न थालेका छौं’ पूर्वमन्त्रीसमेत रहेका नेता थापा भन्छन्, ‘सरकारप्रति असहमति राख्ने नागरिक तर्साउन खोज्दैछ । सरकारको यो प्रवृत्ति नेपाली जनतालाई कदापि स्वीकार्य छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment