Comments Add Comment

खाडी देश र मलेसियाले कहिलेबाट मगाउलान् नयाँ श्रमिक ?

नेपाली युवा चाहन्छन्- दशैंपछि जान पाइयोस्

११ असोज, काठमाडौं । सरकारले गत भदौ १७ गतेबाट नयाँ श्रम स्वीकृति खुलायो । तर, नयाँ प्रक्रियामार्फत म्यानपावर कम्पनीहरुबाट विदेशी कम्पनीमा श्रमिक लैजाने गरी नयाँ संस्थागत श्रम स्वीकृति लिने क्रम अझै सुरु भएको छैन ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार व्यक्तिगत पहलमा व्यक्तिगत रुपमा नै भिसा ल्याएर नयाँ श्रम स्वीकति लिनेहरु सीमित छन् । पोल्यान्ड, रोमानिया लगायत युरोपेली मुलुक जाने सानो संख्यालाई व्यक्तिगत श्रम स्वीकृति जारी हुँदैछ ।

दाहालका अनुसार म्यानपावर कम्पनीहरुले नयाँ श्रम स्वीकृति लिनेगरी विभागमा कागजात ल्याएका छैनन् । मुख्य श्रम गन्तब्य मुलुकले नयाँ श्रमिक लैजाने प्रक्रिया खुला नगरेकाले यस्तो अवस्था आएको दाहाल बताउँछन् ।

यसअघि नै विदेश गएर सोही कम्पनीमा फर्किने पुनः श्रम स्वकृति भने जारी भइरहेको छ । त्यसरी फर्किने कामदारको संख्या पनि ठुलो छैन ।

स्वदेशमा रोजगारी नपाएर छट्पटाइरहेका नेपाली युवाको जिज्ञासा छ- कहिलेबाट वैदेशिक रोजगारीमा जान पाइएला ? दशैंपछि काम गर्न विदेश जान पाउनेमा धेरै युवा आशावादी छन् ।

सरकारले नियमित उडान खोलेको छ । मलेसिया र खाडीका देशमा महामारी नियन्त्रणउन्मुख भएकाले अब म्यानपावरमार्फत विदेश जान सहज बन्छ भन्ने अपेक्षा युवामा छ ।

प्रमुख श्रम गन्तव्यका रूपमा रहेको मलेसिया, साउदी, कतार, यूएई, कुवेत, ओमान, बहराइनको आर्थिक वातावरण युवाको अपेक्षासँग मेल खाने खालका देखिन थालेका छन् । नयाँ श्रमिक लिने विषयमा भने धेरै देश अझै अनिणिर्त छन् ।

नेपालीका मुख्य श्रम गन्तव्य मुलुकहरु कोभिड-१९ को महामारीसँग जुधिरहेका छन् । विकासशील अर्थतन्त्र भएको खाडी मुलुकमा कोरोनाले नराम्रो असर पारेपनि अब त्यहाँ आर्थिक गतिविधि बढ्न थालेको छ ।

मुख्यगरी तेलमा आधारित अर्थतन्त्र भएकाले त्यहाँको अर्थतन्त्र अन्य देशहरुका आर्थिक नीतिमा निर्भर छ । यस्तो अवस्थामा बाहृय प्रभावसँग जुध्दै अर्थतन्त्रलाई पुरानै गतिमा फर्काउन श्रम गन्तव्य मुलकहरु लागेका छन् । जसको फाइदा नेपाली श्रमिकले पनि पाउनेछन् ।

मलेसिया र खाडी मुलुकहरुमा सतर्कताको मोडालिटी खुकुलो बन्दैछ । विदेशबाट नयाँ कामदार ल्याउने बिषयमा भने धेरैजसो देश मौन छन् । नेपाली दूतावासहरुका अनुसार अब क्रमैसँग आर्थिक गतिविधि बढ्दै गएर ति देशहरुमा नयाँ श्रमिकको माग बढ्ने अवस्था छ ।

व्यवसायीहरु श्रम गन्तव्य मुलुकहरुका नेपाली दूतावासमा मागपत्र प्रमाणीकरण सुरु हुनासाथ वैदेशिक रोजगारीको चलहपहल सुरु हुने बताउँछन् । विदेशबाट कामदार आपूर्तिबारे सोधपुछ हुन थालेकोले दशैंपछि विदेश जान सहज अवस्था बन्ने उनीहरुको भनाइ छ

विदामा आएका श्रमिक फर्किँदा पालना गर्नुपर्ने मेडिकल प्रोटोकल पनि खुकुलो बन्दै गएको छ ।

अहिले विदेशमा थुप्रै नेपाली श्रमिक कामविहीन बस्नु परेको छ । लकडाउन र लुजडाउनका कारण कतिपय क्षेत्रमा कार्यरत मजदुरहरू बिदामा छन् । आर्थिक गतिविधि पनि सुस्त रहेकाले तुरुन्तै त्यहाँ कामदारको ठूलो माग भएको छैन ।

कतिपय देशका सरकार तत्काल विदेशी कामदार नलिने नीतिमा छन् । यो कारण अहिलेलाई ठूलो संख्यामा कामदारको माग आउने सम्भावना कम रहेको दूतावासका अधिकारीहरु बताउँछन् ।

नेपाली दूतावास र नियोगमा नयाँ कामदारको मागपत्र प्रमाणीकरण सुरु हुन पनि समय लाग्ने उनीहरुले बताएका छन् ।

धेरैजसो मुलुकमा रोक

मलेसियाले डिसेम्बर अन्तसम्म विदेशबाट कामदार नल्याउने भएको छ । त्यतिन्जेलसम्म कोरोनाको महामारी मत्थर भएमा मलेसियाले नेपालबाट कामदार लैजाने क्रम सुरु हुने नेपाली राजदूत उदयराज पाण्डे बताउँछन् ।

तत्कालै नभएपनि ढिलोचाडो मलेसियाको श्रम बजारमा नेपाली श्रमिकले अवसर पाउने उनको भनाइ छ ।

मलेसियाले सुरक्षा गार्डमा नेपालीलाई मात्रै अवसर दिने नीति लिएको छ । मलेसियाका अन्य क्षेत्रमा पनि नेपालीहरूले अवसर पाउने गरेका छन् । सुरक्षाजस्तो संवेदनशील क्षेत्रमा महत्व पाएका नेपालीका लागि मलेसिया राम्रो गन्तव्य रहिरहने सम्भावना कायम छ ।

नेपालबाट सबैभन्दा धेरै श्रमिक विदेश पठाउने रिभर ओभरसिजका सञ्चालक रघु पुरीका अनुसार साउदी अरेबियाले नयाँ श्रमिक लिने निर्णय बिहीबार गरेको छ । महामारी नियन्त्रण हुँदै गएकाले अब त्यहाँको रोजगारीको क्षेत्र सिथिल नरहने उनको बुझाई छ ।

साउदीमा पनि बिस्तारै महामारी नियन्त्रण उन्मुख छ । त्यहाँ पनि बिस्तारै उद्योग, व्यवसाय, परियोजनाहरूमा कामदार आवश्यक पर्छ नै । त्यसका लागि केही समय कुर्नुपर्ने पुरी बताउँछन् ।

ठूलो भू-भाग रहेको साउदीमा हरेक जसो क्षेत्रमा नेपालीले काम पाएका छन् । कोभिड-१९का कारण होटल, रेस्टुरेन्ट र सैलुनहरूमा कार्यरत मजदुरले रोजगारी गुमाए पनि अन्य उद्योग-व्यवसाय, कलकारखाना र परियोजनाहरुबाट माग आउनेमा व्यवसायीहरु विश्वस्त छन् ।

अन्यत्रजस्तै कतारमा पनि तत्कालै ठूलो संख्यामा कामदारको माग हुने अवस्था छैन । कतारले काम गुमाएर बसेका विदेशी श्रमिकलाई उद्योग, कलकारखाना र परियोजनाहरूमा लगाउन थालेको छ ।

कतारलाई तत्कालै पहिलेजस्तै श्रम गन्तव्य बनाउन गाह्रो भएपनि सम्भावनाहरु देखिएको दोहास्थित नेपाली दूतावासका अधिकारीहरु बताउँछन् । नेपाली राजदूत नारदनाथ भारद्वाज विस्तारै कतारको रोजगार पुर्नस्पित हुने विश्वास व्यक्त गर्छन् ।

आत्मनिर्भर अर्थतन्त्र रहेको कतारले समस्याहरू सल्टाएर छिट्टै आर्थिक गतिविधि बढाउने विश्वास गरिएको छ । सन् २०२२ मा विश्वकप फुटबल आयोजना गर्न जुटेको कतारले आफ्नो तयारीलाई फितलो बन्न नदिन पनि आर्थिक गतिविधि सुदृढ बनाउने अपेक्षा छ ।

यसका लागि कतार सरकारले चाल्ने कदमहरूले नयाँ अवसर सिर्जना गर्ने र नेपालीहरूले रोजगारी पाइरहने अवस्था आउनसक्ने अनुमान छ ।

नेपालीहरूले राम्रो कमाइ गर्ने गन्तव्यका रूपमा रहेको यूएईमा भने तत्कालै नेपाली श्रमिक जान पाउने सम्भवना कम छ । त्यहाँ अहिले पनि धेरै कम्पनी आर्थिक संकटमा फसेका छन् ।

त्यहाँको सरकारले लिने आर्थिक नीतिबाट नेपाली श्रमिकको अवसर निर्धारण हुने अवस्था छ । त्यहाँ नयाँ कामदार भिसा दिन थालिएको छैन ।

यूएईमा औद्योगिक-व्यावसायिक क्षेत्र चलायमान भएपछि नेपालीले रोजगारीको अवसर पाउने दूतावासका अधिकारीहरू बताउँछन् ।

उता कुवेतले सन् २०२० भरि नयाँ श्रमिक नलिने नीति लिएको छ । त्यहाँ पनि विस्तारै आर्थिक गतिविधि बढ्दै गएको छ । अर्थतन्त्र चलायमान हुनासाथ नेपाली कामदारले विगतकै जसरी अवसर पाउने बताउँछन्, कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी ।

‘कोभिड-१९ पछि यहाँका विभिन्न क्षेत्रमा जनशक्ति चाहिन्छ नै,’ भण्डारी भन्छन्, ‘कुवेतमा श्रमिकको माग पुरानै दरमा फर्किन चाही  समय लाग्ने देखिन्छन् ।’

कुवेतमा घरेलु महिला श्रमिकहरु बढी जाने गरेका छन् । अन्य क्षेत्रमा पनि नेपालीहरू कुवेतमा कार्यरत छन् ।

‘दशैंपछि जान पाइन्छ’

व्यवसायीहरु श्रम गन्तव्य मुलुकहरुका नेपाली दूतावासमा मागपत्र प्रमाणीकरण सुरु हुनासाथ वैदेशिक रोजगारीको चलहपहल सुरु हुने बताउँछन् । विदेशबाट कामदार आपूर्तिबारे सोधपुछ हुन थालेकोले दशैंपछि विदेश जान सहज अवस्था बन्ने उनीहरुको भनाइ छ ।

होटल, रेस्टुरेन्टलगायतका क्षेत्रबाट माग नआए पनि अन्य औद्योगिक क्षेत्रबाट आउन थालेको म्यानपावर कम्पनी सञ्चालकहरु बताउँछन् ।

रिभर ओभरसिजका प्रवन्ध निर्देशक रघु पुरी खाडीका कतिपय देशले रोजगारी नखुलाएपनि त्यहाँका कम्पनीहरुले इमेल र फोनमार्फत आफ्नो आवश्यकता बताउन थालेको बताउँछन् ।

‘नेपाली दूतावासहरुले केही दिभित्रै मागपत्र प्रमाणीकरण खोल्नेछन्,’ उनी भन्छन्, ‘त्यसलगत्तै यहाँ पूर्व श्रम स्वीकृति लिने र त्यसअनुसार अन्तरवार्ता गर्ने काम सुरु हुन्छ ।’

उनका अनुसार मलेसिया र खाडीका ठूला परियोजनामा बढी असर देखिएको छ । ठूलो लगानीका रिफाइनरी लगायत परियोजनाहरू कोभिड-१९का कारण पछि धकेलिएकाले त्यस्ता क्षेत्रबाट भविष्यमा आउने माग केही घट्ने देखिएको छ ।

अहिले विदेशबाट सुरक्षा र सरसफाइको क्षेत्रमा माग धेरै आउने देखिएको पुरी बताउँछन् । ७२ घण्टाभित्र गरेको पीसीआर रिपोर्टको आधारमा श्रमिक आउन पाउनेगरी विदेशमा प्रोटोकल बनिरहेकाले पनि धेरै समस्या नपर्ने उनको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment