
११ असोज, का ठमाडौं । अजरबैजान र अर्मेनियाका सेनाबीच विवादित भूमि नागोर्नो–काराबाख क्षेत्रको विषयमा भिडन्त भएको छ । यो क्रममा कम्तीमा एक अजरबैजानको हेलिकोप्टर पनि खसालिएको छ । अजरबैजानले हवाई आक्रमण सुरु गरेको र तोपबाट पनि आक्रमण गरेको अर्मेनियाको दाबी छ ।
अजरबैजानले भने आफ्ना सैनिकमाथि अर्मेनियाका सेनाले गरेको आक्रमणको जवाफ दिने क्रममा भिडन्त भएको बताएको छ । यो आक्रमणमा दुवै पक्षले सर्वसाधारण मानिसहरुको मृत्यु भएको बताएका छन् । पछिल्लो केही महिनायता लामो समयदेखि विवादमा रहेको यो भूमिको विषयमा दुई मुलुकको तनाव बढेको छ ।
रुसको विदेश मन्त्रालयले तत्काल युद्धविराम गर्दै अवस्था शान्त पार्न आग्रह गरेको छ । सन् १९९१ मा सोभियत संघ टुक्रिनुभन्दा अगाडि यी दुवै मुलुक सोभियत संघअन्तर्गत पर्थे । यो भूमिलाई अन्तर्राष्ट्रियरुपमा अजरबैजानको भूमिको रुपमा मान्यता दिइएको छ तर अहिलेसम्म यसमा अर्मेनियाले कब्जा जमाइरहेको छ ।
यसअघि गत जुलाईमा पनि यो विषयलाई लिएर दुई पक्षबीच भिडन्त भएको थियो । जसमा १६ जनाको मृत्यु भएको थियो ।
अर्मेनियाले यससँगै उक्त क्षेत्रमा सैन्य शासनको घोषणा गर्दै पूर्ण सैन्य परिचालनको घोषणा गरेको छ ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4