Comments Add Comment

नेपाल-भारत हवाई उडान कात्तिक १ देखि खोल्न प्रस्ताव

१६ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतका लागि हवाई उडान  सुरु गर्न प्रस्ताव गरेको छ । मन्त्रालयले आगामी १ कात्तिकबाट भारतको उडान खोल्न प्रस्ताव गरेको हो । चैत ११ पछि भारतमा नियमित उडान भएको छैन ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा मन्त्रालयले यस्तो प्रस्ताव पठाएको मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईले जानकारी दिए ।

‘मन्त्रालयले मिति प्रस्ताव गरी सीसीएमसीमा पठाएको छ,’ उनले भने, तर निर्णय भइसकेको छैन ।’

भारतमा रहेका आफ्ना नागरिकलाई सम्बन्धित मुलुकको दूतावासको पहलमा घर फर्काउन सक्ने गरी भारतले ‘एयर बबल स्किम’ जारी गरेको छ ।

सोहीअनुसार भारतमा एक दर्जनभन्दा बढी मुलुकमा उडान सञ्चालन गरिरहेको छ । यो स्किम पाकिस्तानबाहेक भारतका नेपालसहित सबै छिमेकी मुलुकमा खुला छ । अर्थात नेपालले नयाँ दिल्लीस्थित दूतावासको समन्वयमा भारतमा रहेका नेपालीलाई घर फर्काउन सक्ने गरी उडान खोल्न सक्छ ।

तर, भारतमा बढ्दो कोरोना भाइरसको संक्रमणका कारण सरकारले भारतका लागि उडान खोल्नेबारे निर्णय लिइसकेको छैन ।

तर, नजिकिएको दशैं, भारतमा उपचार र अध्ययनका लागि जानु पर्ने वा त्यहाँबाट फर्कनु पर्ने ठूलो संख्यामा नेपाली हवाई उडान खुल्ने मितिको प्रतीक्षामा छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ‘एयर बबल स्किम’मा सहभागी हुन सक्ने गरी भारतले गत अगस्ट मै नेपाललाई सन्देश पठाएको हो । यस्तो जानकारी भारतले नियमित उडान गर्दै आएका विश्वका सबै मुलुकलाई दिएको थियो ।

यो स्किमअनुसार भारतमा रहेका नागरिकलाई नेपालले स्वदेश फर्काउन हवाईमार्गको प्रयोग गर्न सक्छ । त्यसका लागि भारतले अनुमति पनि दिन्छ । सोहीअनुसार नेपालले भारतको उडानको तयारी गरेको प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार सरकारले उडानको मितिबारे निर्णय गर्नासाथ प्राधिकरणले एयरलाइन्सलाई उडान संख्या र अनुमति तोक्ने काम तत्काल सक्ने उनको भनाइ छ ।

१ कात्तिकमा उडान खोल्नेबारे प्रस्ताव सीसीएमसीबाट पास भएमा यो निर्णय मन्त्रिपरिषदमा जाने छ । मन्त्रिपरिषदले पास गरेपछि मात्र भारतका लागि उडान खोल्ने औपचारिक निर्णय हुनेछ ।

शर्तसहित खुल्ने

भारतमा उडान खुलेपनि नेपाल आउने नागरिकका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड भने अन्य गन्तब्य सरह हुनेछन् ।

मन्त्रालयका सहसचिव भट्टराई भन्छन्, ‘मापदण्ड पनि सीसीएमसी र मन्त्रिपरिषदबाटै तोकिएला, तर सामान्यतया अन्य मुलुकमा जसरी उडान भइरहेको छ, भारतमा पनि त्यस्तै हुन्छ ।’

प्रस्तावअनुसार नेपाल आउन चाहने यात्रुसँग बढीमा ७२ घण्टा अगाडीसम्मको पीसीआर परीक्षण नेगेटिभ भएको प्रमाण हुनुपर्छ । एउटै जहाजबाट नेगेटिभ र पोजेटिभ रिपोर्ट भएका यात्रु ल्याउन पाइने छैन ।

त्यसरी आएमा सबै होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ । पीसीआर नेगेटिभ भएका नेपालीको हकमा १४ दिन होम  क्वारेन्टिनमा बस्नु पर्नेछ । विदेशीको हकमा अनिवार्य ७ दिन होटेल क्वारेन्टिनमा बस्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment