+
+
Shares

तनहुँ र लमजुङ जोड्ने पक्की पुल निर्माण शुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १८ गते ८:३३

१८ असोज, दमौली । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँ र लमजुङ जोड्न रिस्तीखोलामाथि पक्की पुल निर्माण शुरु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा तनहुँको व्यास नगरपालिका–८ सोतीबेँसी र लमजुङको मध्यनेपाल नगरपालिका–२ सोतीपसल जोड्न रिस्तीखोलामाथि पक्की पुल निर्माण शुरु भएको हो ।

उक्त पुलको शनिबार प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले शिलान्यास गरे। सो अवसरमा उनले गुणस्तरीय पुल निर्धारित समयमै सक्न सम्बन्धित पक्षलाई निर्देशन दिए । प्रदेश सरकारले पूर्वाधार निर्माणका लागि जोड दिएको मन्त्री बस्नेतले बताए ।

गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङले चुनावको बेला गरेको प्रतिबद्धताबमोजिम पक्की पुल निर्माण शुरु भएको बताउँदै स्थानीयवासीको वर्षौँदेखिको चाहना अब पूरा हुने क्रममा रहेको बताए ।

कार्यक्रममा मध्यनेपाल नगरपालिकाका उपप्रमुख राजकुमार श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठलगायतले समयमै पुल निर्माण हुनुपर्नेमा जोड दिए ।

पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुङ्गानाले डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी वाइएसएस हिम निर्माण सेवा जेभी काठमाडौसँग सम्झौता भएको जानकारी दिए ।

रु चार करोड १६ लाख ४५ हजार ८४० को लागतमा निर्माण हुने पुलको लम्बाइ ४० मिटर र चौडाइ ८.४ मिटर रहेको छ । सिङ्गल बिम पुल निर्माणका लागि रु पाँच करोड ३५ लाख २६ हजार २०० को स्टिमेट गरिएको थियो ।

पुल निर्माणका लागि विसं २०७७ असार ७ गते सम्झौता भएको थियो । विसं २०७८ पुस ७ गतेभित्र पुल निर्माण सम्पन्न हुने पूर्वाधार विकास कार्यालयका प्रमुख ढुङ्गानाले जानकारी दिए ।

पक्की पुल नहुँदा दुई जिल्लाका स्थानीयवासीलाई आवतजावत सास्ती हुँदै आएको थियो । पक्की पुलको अभावमा घण्टौँ हिँडेर आवतजावत गर्नुपर्ने बाध्यता पुल निर्माण भएसँगै हट्ने भएपछि स्थानीयवासी खुशी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?