Comments Add Comment

प्रदेशको नाम ‘लुम्बिनी’ राख्ने प्रस्तावमा जनजाति महास‌ंघको विरोध

१८ असोज, काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्ने प्रदेश सरकारको प्रस्तावप्रति आपत्ति जनाएको छ ।

महासंघका अध्यक्ष जगतबहादुर बरामले आइतबार विज्ञप्ति जारी गरी ‘मगरात–थरुहट’ को ऐतिहासिक सभ्यता र पहिचानलाई नामेट पार्ने गरी प्रदेश सभाले एकात्मक, केन्द्रीकृत र नश्लवादी चिन्तनबाट ग्रसित भई सुनियोजित ढंगले तथाकथित ‘लुम्बिनी’ प्रदेश नामाकरण गर्न लागेको भन्दै आपत्ति जनाएका हुन् ।

‘आदिवासी जनजाति आन्दोलनको समसामयिक प्रमुख मुद्धा भनेको पहिचान र अधिकार नै हो भन्ने कुरा जगजाहेर छ । तसर्थ, यस प्रदेश नं. ५ को नामाङ्कन ऐतिहासिक मानव सभ्यताले विकास गरेको थातथलोलाई सम्बोधन हुने गरी ’मगरात–थरुहट’ नामाकरण गर्न प्रदेश संसद र सरकारलाई हामी हार्दिक अपिल गर्दछौं ।’ विज्ञप्तिमा उल्लेख छ ।

पहिचानको मूलभूत सिद्धान्तलाई भुलेर प्रदेश सरकार अघि बढे देश र जनताका लागि गम्भीर ऐतिहासिक भूल हुने महासंघले चेतावनी दिएको छ ।

प्रदेश संसदको यसखाले कदमले वर्तमान राज्य सरकारले परिकल्पना गरेको स्थायी शान्ति सहितको समृद्ध नेपाल र सुखी नेपालीको कार्यभार पूरा हुन नसक्ने र मुलुक फेरि द्वन्द्वतिर जाने भन्दै महासंघले अंक गणितको दम्भमा जनभावना विपरीत प्रदेश सरकार अघि बढेको आरोप लगाएको छ ।

अंक गणितको दम्भमा प्रदेश सरकारले यसखालको गलत निर्णय कार्यान्वयन गरे यसबाट उत्पन्न परिणामको सम्पूर्ण जिम्मेवारी स्वयम् प्रदेश सरकार र संसद हुने विज्ञप्तिमा उल्लेख छ ।

यद्यपि प्रदेश राजधानी दाङको भालुवाङ राख्ने प्रस्तावप्रति भने उसले मुख खोलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment