Comments Add Comment

घाँटीबगरमा सेनाले बनायो गोरेटो, छाङरुवासीलाई सदरमुकाम आउन सहज

१९ असोज, काठमाडौं । नेपाली सेनाले दार्चुलाको ब्यास गाउँपालिका-२, घाँटीबगर क्षेत्रमा गोरेटो बाटोको निर्माण कार्य सकेको छ । योसँगै जिल्ला सदरमुकाम खलङ्गा पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने समस्या टरेको छ ।

यसअघि सदरमुकाम जान छाङरुवासीले भारततर्फ रहेको बाटो प्रयोग गर्दै आएका थिए । नेपाल-भारत सीमा विवाद भएपछि भारतीय पक्षले त्यसमा पनि अवरोध गर्दै आएको थियो ।

मौरी भिरमा रहेको ठूलो चट्टान र घाँटीबगरमा गएको पहिरोका कारण नेपाली भूमिबाट सदरमुकाम पुग्न असहज थियो । हाल सबै समस्या हल भएको सेनाले जनाएको छ ।

सोमबार एक कार्यक्रमका बीच सेनाले नवनिर्मित घोरेटो बाटो सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको उपस्थितिमा सर्वसाधारणलाई हस्तान्तरण गरेको छ ।

कार्यक्रममा सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी निर्मलकुमार थापा, सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका सहायक रथी सन्तोष बल्लभ पौडेल लगायतको उपस्थिति थियो ।

सेनाले घोरेटो बनाउनका लागि ८ जेठमा इञ्जिनियरसहितको ‘एक सेक्सन प्लस’ फौज पठाएको थियो । हालै सेनाले भौगोलिकरुपमा अतिविकट रहेको यस क्षेत्रमा करिब दुई मिटर चौडाइको ४५० मिटर बाटोको ट्याक खोलेको सैनिक प्रवक्ता पौडेलले अनलाइनखबरलाई बताए ।

उनका अनुसार दार्चुलाबाट छाङरुसम्म पुग्न स्थलमार्गमा अवरोध भएका कारण तत्कालका लागि सर्वसाधारणलाई आवतजावत गर्न अवरोध नहोस् भनेर सेनाले ट्याक खोलेको हो ।

आर्थिक वर्ष २०६५/६६ बाट निर्माण थालिएको दार्चुला-तिङ्कर सडकको काम लामो समयदेखि अलपत्र जस्तै थियो । भौगोलिकरुपमा विकट घाँटीबगर-तिङ्कर सडकखण्डमा ८७ किलोमिटर (घाँटीबगर-तिंकर सडकखण्ड) मा ट्याक खोल्ने जिम्मा १४ वैशाखमा सरकारले सेनालाई दिएको थियो ।

सडकको कुल १३४ किलोमिटर मध्ये ठेक्का व्यवस्थापन हुन बाँकी विकट क्षेत्र पर्ने ८७ किलोमिटर खण्डको जिम्मा सेनाले पाएपछि ट्याक खोल्ने कार्यले गति पाएको थियो ।

सीमा विवाद सतहमा आएपछि सडक निर्माणको कार्यलाई थप प्राथमिकतामा राखिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनालले पनि ३ असारमा घाँटीबगरमा पुगेर घोरेटो बाटो निर्माणको अवस्थाबारे स्थलगत अवलोकन गरेका थिए ।

व्यास गाउँपालिका-१ छाङरूमा ११५ र तिङ्करमा ६५ घरधुरी छ भने दुई गाउँमा गरेर एक हजार २ सय जनाको बसोबास रहेको अधिकारीहरु बताउँछन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment