Comments Add Comment

भिडियोमा लगानी गर्दै संगीतकार, भन्छन्–‘स्टार कलाकारले मात्र गीत चल्दैन’

संगीतकार अर्जुन पोखरेलले ‘दि डिभाइन म्यूजिक’ च्यानलबाट केही वर्षदेखि भिडियो अपलोड गरिरहेका छन् । उनले, अपलोड गरेका भिडियोमध्ये ४ वटा म्यूजिक भिडियोमा उनी आफैले लगानी गरे ।

हालै मात्र सार्वजनिक भएको ‘काले केटा २’ बोलको गीतको भिडियो र अडियोका लागि मात्र उनले राम्रो रकम खर्च गरेका छन् । अर्जुनले लगानी गरेको ‘काले केटा’मा पल शाह, पूजा शर्मा र आकाश श्रेष्ठको अभिनय छ । यदि, अर्जुन बाहेक अरु कसैले यो भिडियो निर्माण गरेको भए यसको मेकिङमा ६ लाख बढी खर्च हुने थियो । अर्जुनको घर भित्रकै गीत भएकाले कलाकारले पनि केही रकम सस्तोमा काम गरिदिए ।

युटुबमा गीत अपलोड गर्ने र युटुबबाटै रकम प्राप्त गर्ने क्रम नेपालमा बढेसँगै संगीतकारहरुले पनि आफै भिडियोमा लगानी गर्न थालेका छन् । यसमा संगीतकार अर्जुन पोखरेल र अर्का संगीतकार बसन्त सापकोटा अझै अगाडि छन् ।

संगीतकार बसन्त सापकोटाले आफ्नै नाममा युटुब च्यानल खोलेका छन् । उनले, हालसम्म २८ वटा म्यूजिक भिडियोमा आफै लगानी गरे । उनको युटुब च्यानलमा हालसम्म ३२ वटा म्यूजिक भिडियो अपलोड भएका छन् ।

चलचित्र र म्यूजिक भिडियोमा संगीत गरेरै राम्रो रकम कमाइरहेका र दर्शकको मनमा बसेका संगीतकारहरुलाई आफै युटुब च्यानल खोलेर भिडियोमा लगानी गर्नुपर्ने आवश्यकता किन पर्यो ?

स्टार कलाकार राख्दैमा लगानी उठ्दैनः अर्जुन पोखरेल
संगीतकार अर्जुन पोखरेलले आफूले तयार पारेका अधिकांश गीतहरु पहिला अरु मेकरलाई सुनाएको तर अरुले नपत्याएपछि आफैले निर्माण गरेको बताउँछन् । अर्जुन भन्छन्–‘धेरै गायक–गायिकालाई कम सबस्क्राइव भएका र नयाँ च्यानलबाट गीत अपलोड गर्दा भ्यूज कम आउँछ भन्ने सोच छ । यो गलत सोचाई हो । यदि, राम्रो गीत भएको अवस्थामा जुन च्यानलमा पनि भ्यूज राम्रो आउँछ । मलाई आफूमा विश्वास भएको गीतमा आफै लगानी किन नगर्ने भन्ने सोच आएपछि लगानी गर्न थालेको हुँ ।’

अर्जुनले चलचित्रमा चलेका कलाकारलाई राखेर भिडियो बनाउँदा ५ लाख भन्दा बढी बजेट लाग्ने तर नयाँ कलाकार राखेर भिडियो बनाउँदा २ देखि साढे २ लाखसम्म लगानी हुने बताए । अर्जुनकै लगानीमा बनेको ‘नबोली नबोली’ बोलको गीतमा सुधिर श्रेष्ठ र गरिमा शर्माको अभिनय छ । साढे २ लाख लगानीमा तयार भएको यो भिडियोबाट आफू सुरक्षित भैसकेको अर्जुन बताउँछन् । तर, महंगो लगानीमा तयार भएको ‘काले केटा २’को लगानी सुरक्षित हुन लामो समय लाग्ने संभावना छ । अर्जुन भन्छन्–‘५ लाख भन्दा बढी लगानी भएको गीतका लागि त १ करोड भन्दा बढी भ्यूज आवश्यक पर्छ ।’

अर्जुनले साढे २ देखि ३ लाख भन्दा बढी लगानी गरेको गीतले लगानी उठाउने संभावना न्यून रहेको बताए । उनले भने–‘स्टार कलाकार राख्दैमा गीत चल्दैन । यसका लागि गीत नै राम्रो हुनुपर्छ । अडियो उत्कृष्ट बनाएर नयाँ प्रतिभाहरुलाई राखेर भिडियो बनाउँदा निर्माता सुरक्षित हुने संभावना बढी हुन्छ ।’

अर्जुनले आगामी दिनमा आफूले कम बजेटमा उत्कृष्ट भिडियो बनाउने बताए । उनले भने–‘नयाँ प्रतिभा राखेर राम्रो गीत र भिडियो बनाउँछु । ठूलो तडकभडक गर्दैमा न त गीत चल्छ, न त लगानी नै उठ्छ ।’

दिर्घकालिन सोच बनाएर भिडियोमा लगानी गर्दैछुः बसन्त सापकोटा

संगीतकार बसन्त सापकोटाले आफ्नो च्यानलबाट अपलोड गरेका ३२ वटा भिडियोमध्ये २८ वटामा उनी आफैले लगानी गरेका छन् । सापकोटाले आफै लगानी गर्नुको कारणबारे भने–‘गीतसंगीत भनेको त कालान्तरसम्म बाच्ने सिर्जना हो । अहिले त च्यानललाई राम्रो बनाउन पनि आफै लगानी गर्नुपर्छ । लगानी नगरी प्रतिफल त कसरी आउँछ र ? आफ्नै च्यानलबाट आउँदा लामो समयसम्म त्यसको प्रतिफल आइरहन्छ ।’

बसन्तले पछिल्लो केही बर्षदेखि आफ्ना सिर्जनामा आफै स्वर भरिरहेका छन् । आफै गीत गाउनुको बिषयमा उनले भने–‘सबै गीत त मैले गाएको छैन । आफ्नो स्वरलाई सुहाउँदो गीतमा मात्र मैले स्वर भरेको छु ।’ बसन्तले युटुबबाट मात्र पैसा आउने भएकाले सबै भिडियोबाट सुरक्षित हुने अवस्था नभएको बताए । उनले भने–‘सबैमा आएको छैन । ४–५ वटा गीतमा भने मेरो लगानी सुरक्षित भैसकेको छ ।’

बसन्तले एउटा गीतका लागि आफूले २ देखि साढे २ लाखसम्म खर्च गरेको बताए । अडियो आफैले तयार गर्ने भएकाले ५० प्रतिशत सस्तो पर्ने उनको तर्क छ । भिडियोमा पनि एउटा टिम बनाएकाले कम बजेट लाग्ने गरेको उनले बताए ।
गीतसंगीत सदाबहार हुने भएकाले पनि त्यसबाट पैसा आइरहने बसन्तको भनाई छ । उनले भने–‘अहिले मैले सम्पूर्ण गीतको अधिकार आफैसँग राख्दा भोली नयाँ प्रविधी आयो भने सो ठाउँमा पनि गीत बेच्न पाउँछु । यसैले, आफ्नो सिर्जनाको अधिकार आफैसँग राख्दा भोली आउने नयाँ अवसरमा आफू खेल्न पाइन्छ । अरुलाई गीतको अधिकार दिदा अहिले त केही रकम आउला तर पछि सो गीतमाथि आफ्नो कुनै अधिकार नै हुँदैन ।’

बसन्तले तयार पारेका भिडियोमा अहिलेका महंगा कलाकार छैनन् । यस बिषयमा उनले भने–‘मैले, कुनै कलाकारलाई एक देखि डेढ लाखसम्म पारिश्रमिक दिन्छु भने सोही कलाकारबाट सो रकम फिर्ता हुने वातावरण हुनुपर्छ । तर, यहाँ त्यस्तो अवस्था छैन । एउटा कलाकार, गायक–गायिका चलेपछि सबैलाई सोही व्यक्ती नै चाहिन्छ । तर, एउटै कलाकारको दिनमै ४–५ वटा भिडियो आएपछि सो कलाकार राखेर पनि कुनै फाइदा हुन्छ जस्तो मलाई लाग्दैन । गीतको अडियो बलियो भयो भने गीत चल्छ भन्ने मेरो मान्यता हो ।’ महंगो पारिश्रमिक लिने कलाकारले छनोट गरेर बर्षमा थोरै काम गरे मात्र त्यसको महत्व हुने तर्क बसन्तको छ ।

उसो त अहिले अर्जुन र बसन्तले मात्र होइन, आफ्नो गीतमा लगानी गर्ने संगीतकार, गायक–गायिका, गीतकारको संख्या पनि बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment