Comments Add Comment

तरुण दल र नेविसंघको माग– कोरोनाको परीक्षण र उपचार आफैं गर्ने निर्णय सच्याइयोस्

५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस सम्बध तरुण दल र नेविसंघले कोरोना महामारीको बेला परीक्षण र उपचारको दायरा बढाउँदै लैजानुपर्ने बेलामा सरकारले त्यसको ठीक विपरीत निर्णय गरेको भन्दै खेद प्रकट गरेका छन् ।

तरुण दल अध्यक्ष जितजंग बस्नेत र नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै कोरोना परीक्षण र शव व्यवस्थापन जनता स्वयंले गर्ने सरकारको निर्णयको विरोध जनाएका हुन् ।

‘यस्तो महामारीको बेलामा सरकारले जनताप्रति निर्वाह गर्नुपर्ने समान्यभन्दा समान्य जिम्मेवारीबाट पनि पन्छिदै गएको छ,’ तरुण दल अध्यक्ष बस्नेतले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘परीक्षण र उपचारको दायरा बढाउदै लैजानुपर्ने समयमा सरकार ठीक विपरीत परीक्षण, उपचार र लास व्यवस्थापन जनता स्वयंले गर्नुपर्ने निर्णयमा पुगेको छ यस्तो निर्णय अत्यन्तै खेदजनक छ ।’

अध्यक्ष बस्नेतले विज्ञप्तिमा लेखेका छन्, ‘आम जनताको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने सरकारले यस्ता गैरकानुनी, संविधान विरोधी र अदालतको अपहेलना लगायतका अलोकतान्त्रिक कार्यबाट पछि हट्दै सम्पूर्ण जनताको निःशुल्क परीक्षण र उपचार गर्नका लागि आग्रह गर्दछौं । रोग, भोक र अभावमा जनताको साथमा नहुने सरकार आवश्यक भै रहन्छ र ?’

यसैगरी नेविसंघ महामन्त्री तिमल्सिनाले विज्ञप्ति जारी गर्दै कोरोना महामारीको उपचार व्यक्ति स्वयंले गर्नुपर्ने निर्णय नागरिकप्रतिको आफ्नो दायित्वबाट सरकार पूर्ण च्युत भएको पुष्टि आफैंले गरेको टिप्पणी गरेका छन् । ‘यो निर्णय सरकारको अक्षमता, अदक्षता, व्यवस्थापनहीनता र नालायकीको मार जनतामाथि थोपर्ने नियत स्वरूप आएको हाम्रो ठहर छ,’ महामन्त्री तिमल्सिनाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘वास्तवमा नागरिकलाई राज्यको आडभरोसा चाहिने समयमा सरकारको यो रवैया गैरसंगतिपूर्ण र अमानवीय मात्र होइन, गैरसंवैधानिकसमेत छ ।’

सरकारको पछिल्लो निर्णय नागरिकको स्वास्थ्य सेवा र बाँच्न पाउने हकविरुद्ध लादिएको सरकारी धावा भएको ठहर गर्दै नेविसंघले यो निर्णय तत्काल सच्याउन र निःशुल्क स्वास्थ्य उपचारको सम्पूर्ण व्यवस्था गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment