
६ कात्तिक, काठमाडौं । ब्राजिलको स्वास्थ्य मन्त्रालयलले बुधबार कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप निर्माणको क्रममा एक स्वयंसेवकको मृत्यु भएको बताएको छ ।
बेलायतको अक्सफोर्ड युनिभर्सिटीले एक्स्ट्राजेनेकासँग मिलेर निर्माण गरिरहेको खोपको परीक्षणको क्रममा स्वयंसेवकको मृत्यु भएको हो । यद्यपि यो खोपको परीक्षण भने नरोकिने बताइएको छ ।
सामाचार एजेन्सी रोयटर्सका अनुसार अक्सफोर्डले यो घटनापछि गरिएको अनुसन्धानपछि परीक्षण जारी राख्ने बताएको हो । अक्सफोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘क्लिनिकल परीक्षणमा सुरक्षाको विषयलाई लिएर कुनै पनि चिन्ता छैन ।’ यस विषयमा एक्स्ट्रजेनेकाले भने कुनै प्रतिक्रिया दिएको छैन ।
रोयटर्सले स्रोतलाई उद्धृत गर्दै स्वयंसेवकलाई कोभिड–१९ कै खोप दिइएको भए यो परीक्षण रोकिने तर उनलाई परीक्षणको क्रममा मेनिन्जाइटिसको खोप दिइएको उल्लेख गरेको छ । त्यसैले परीक्षण रोक्नुपर्ने जरुरी नदेखिएको हो ।
ब्राजिलमा चलिरहेको तेस्रो चरणको क्लिनिकल परीक्षण सञ्चालन गरिरहेको साओ पाउलोको फेडेरल युनिभर्सिटीले यस विषयमा बनाइएको एक स्वतन्त्र समीक्षा समितिले परीक्षण जारी राख्न सुझाव दिएको बताएको छ । युनिभर्सिटीका अनुसार मृत्यु भएका स्वयंसेवक ब्राजिली नागरिक हुन् ।
सीएनएनका अनुसार मृत्यु भएका स्वयंसेवक २८ वर्षका थिए र उनको मृत्यु कोरोनाको कप्लिकेसनको कारण भएको थियो ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4