+
+
Shares

किन आवश्यक छ आत्मदाहकाे चर्चामा सावधानी ?

आत्मदाह सम्बन्धी समाचारमा सत्य सूचना र सामाजिक जिम्मेवारीबीच सन्तुलन कायम गर्नु पर्ने विज्ञहरू बताउँछन् ।

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८३ साउन १ गते १६:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा आत्मदाह तथा आत्महत्याका घटनाहरू बढ्दै गएपछि विज्ञहरूले यस्ता संवेदनशील विषयमा सञ्चारमाध्यमलाई जिम्मेवारपूर्ण र तथ्यपरक समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन्।
  • मनोचिकित्सक तथा सञ्चार विज्ञहरूले आत्महत्याका घटनालाई सनसनीपूर्ण नबनाउन, विवरणहरू नदोहोर्‍याउन र मृतकलाई प्रेरणादायी पात्रका रूपमा चित्रण नगर्न सुझाव दिएका छन्।
  • आत्महत्या रोकथामका लागि सञ्चारमाध्यमले समाचारको अन्त्यमा मनोपरामर्श केन्द्र र हेल्पलाइन नम्बरहरू समावेश गरी सहयोगको सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिइएको छ।

१ साउन, काठमाडौं । मुगुका २५ वर्षीय गणेश नेपालीले त्रिपुरेश्वरमा आफ्नो शरीरमा आगो लगाए यता थप तीन जनाले आत्मदाह गरेको सार्जनिक भयो । सर्लाहीका २५ वर्षीय विवेक मण्डल, काठमाडौंको बुद्धनगरमा ४५ वर्षीय आश्विन राउत, रौतहट गरुडा–९ देवेन्द्र सहनीले आत्मदाह प्रयास गरे ।

मनोचिकित्सक डा. सगुनबल्लभ पन्त यस्ता घटनालाई संयोगका रूपमा मात्र लिन नहुने बताउँछन्। उनी भन्छन्, ‘यस्तो एउटा घटना सार्वजनिक भएपछि मानसिक रूपमा जोखिममा रहेका अन्य व्यक्तिले पनि त्यस्तै निर्णय लिन सक्नेतर्फ सचेत रहनु जरूरी छ।’

अनुसन्धानहरूले देखाएका छन्, यस्ता घटनाका विधि, स्थान, प्रयोग गरिएको साधन वा घटनाको विस्तृत विवरण सार्वजनिक हुँदा त्यस्तै मानसिक अवस्थाबाट गुज्रिरहेका व्यक्तिले त्यसलाई सम्भावित विकल्पका रूपमा लिन सक्छन्।

मनोविद् गृष्मा पनेरु घटनालाई दृश्यात्मक रूपमा प्रस्तुत गर्नुको सट्टा तथ्यमा आधारित, संयमित र जिम्मेवार समाचार सम्प्रेषण गर्नुपर्ने बताउँछिन्। उनी भन्छिन्, ‘यस्ता सामग्रीले मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहेका कतिपय मानिसलाई बढी असर गर्न सक्छ। कुनै व्यक्तिले चरम निराशाको अवस्थामा यस्ता दृश्य पटक–पटक देख्दा त्यसले उसको सोचलाई थप नकारात्मक दिशातर्फ धकेल्न सक्छ।’

विश्व स्वास्थ्य संगठनले यस्तो विषयमा समाचार सम्प्रेषणका लागि छुट्टै निर्देशिका जारी गरेको छ। जसमा भनिएको छ— ‘यो विषयलाई सनसनीपूर्ण वा सामान्यीकरण नगर्ने, आत्महत्या गर्ने तरिका, साधन, स्थान आदिका बारेमा स्पष्ट खुलाएर वा विस्तृत विवरण उल्लेख नगर्ने र यस्तो घट्ना, परिवेशसँग सम्बन्धित फोटो, भिडियो वा सामाजिक सञ्जालको लिंक प्रयोग नगर्ने।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको ‘आत्महत्या रोकथाम सम्बन्धी सञ्चारकर्मीहरूका लागि मार्गदर्शन २०८०’ मा यस्तो नकारात्मक सोच आउँदा के गर्ने भन्ने सामग्रीले यस्तो विषय रोकथाममा सघाउ पुग्ने उल्लेख छ।

‘कोही व्यक्ति पहिला असहज परिस्थितिबाट गुज्रिरहेको र अहिले भने त्यस्तो परिस्थितिलाई सकारात्मक तरिकाले सामना गरेर अघि बढेको समाचारहरूले आत्महत्याको व्यवहार घटाउनमा सहयोग पुर्‍याएको पाइन्छ’, स्वास्थ्य मन्त्रालयले जारी गरेको मार्गदर्शनमा भनिएको छ।

भारतीय अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु बारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ‘भारतीय कलाकारको निधन’ जस्ता शीर्षक राखेका थिए। तर कतिपय भारतीय सञ्चारमाध्यमले मृत्युको विधि, कारण, व्यक्तिगत जीवन र अपुष्ट विवरणलाई अत्यधिक प्रचार गरी घटनालाई सनसनीपूर्ण बनाए।

सावधानीपूर्वक समाचार नबनाउँदा समाजमा गलत सन्देश जाने र अनावश्यक चर्चाको विषय बन्ने जोखिम रहने मनोचिकित्सक डा. पन्तको भनाइ छ। उनी भन्छन्, ‘समाचारले तथ्य दिनुपर्छ, तर यस्तो विषय अनुकरण गर्न सकिने विवरण दिने होइन।’

डा. पन्त जैविक, मनोवैज्ञानिक, सामाजिक, आर्थिक, पारिवारिक तथा सांस्कृतिक कारणहरू एकआपसमा जोडिंदै जाँदा कुनै व्यक्ति यस्तो अवस्थामा पुग्न सक्ने बताउँछन्। त्यसैले ‘मोबाइल खोसेकाले आत्महत्या गर्‍यो’, ‘एउटै विवादका कारण यस्तो निर्णय गर्‍यो’ वा ‘फलानो घटनाले आत्महत्या गर्न बाध्य बनायो’ जस्ता अनुमानमा आधारित निष्कर्ष निकाल्न नहुने उनको सुझाव छ।

मृतकको व्यक्तिगत र पारिवारिक गोपनीयताको सम्मान गर्नुपर्नेमा डा. पन्तको जोड छ। उनका अनुसार यसरी जीवन गुमाएका व्यक्तिलाई ‘वीर, शहीद, असाधारण वा प्रेरणादायी’ व्यक्तिका रूपमा चित्रण गर्नु पनि सही अभ्यास होइन। आत्मदाह गर्ने व्यक्तिलाई शहिद घोषणा गर्ने र अतिरंञ्जित तरिकाले प्रचार गर्दा यस्ता घटना झन् बढ्न सक्ने उनी बताउँछन् । पन्त भन्छन्, ‘कसैलाई यस्तो सोच आइरहेको छ भने मनोचिकित्सक, मनोपरामर्शदाता, स्वास्थ्य संस्था वा उपलब्ध हेल्पलाइनबाट सहयोग लिन सकिने सन्देश समाचारसँगै समावेश गरिनुपर्छ।’

नेपालमा दैनिक औसत १८ देखि २० जनासम्मले ज्यान फाल्ने गरेको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ। त्यसैले यस्तो विषयलाई केवल व्यक्तिगत घटना वा एउटा समाचारका रूपमा होइन, जनस्वास्थ्यसँग जोडिएको गम्भीर सामाजिक समस्याका रूपमा हेर्नुपर्ने विज्ञहरूको साझा निष्कर्ष छ।

मनोविद् पनेरुका अनुसार मानसिक रूपमा गहिरो पीडा, निराशा वा मनोसामाजिक समस्याबाट गुज्रिरहेका व्यक्तिले आफू जस्तै अवस्थाको अर्को व्यक्तिको कथा देख्दा वा पढ्दा त्यससँग आफूलाई सहजै जोड्न सक्छन्।

समाचारमा प्रयोग हुने भाषा पनि उत्तिकै संवेदनशील हुनुपर्छ। ‘पीडाबाट मुक्त हुन यो बाटो रोजे’, ‘जीवनको अन्तिम विकल्प यही बन्यो’ वा ‘सबै समस्याको अन्त्य’ जस्ता वाक्यांशले यस्तो घटनालाई समस्याबाट उम्किने उपायका रूपमा चित्रित गर्न सक्छन्। यस्ता अभिव्यक्तिले मानसिक स्वास्थ्य बलियो नभएका व्यक्तिमा नकारात्मक प्रभाव पार्ने भएकाले समाचारमा सहानुभूतिपूर्ण, सन्तुलित र तथ्यमा आधारित भाषा प्रयोग गर्न आवश्यक रहेको पनेरुको भनाइ छ।

मनोविद् पनेरुका अनुसार यस्तो घट्ना कुनै एउटा घटनाको प्रत्यक्ष परिणाम मात्रै हुँदैन। धेरैजसो अवस्थामा बाल्यकालदेखि भोगिएका आघात, सामाजिक विभेद, आर्थिक कठिनाइ, पारिवारिक तनाव, मानसिक स्वास्थ्य समस्या, सम्बन्धमा आएको विघटन तथा समुदायमा अनुभव गरिएका अस्वीकार जस्ता अनेकौं कारण वर्षौंसम्म मनमा सञ्चित भइरहेका हुन्छन्।

कतिपय ठाउँमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या अझै पनि खुलेर छलफल नहुने अवस्था छ। धेरै परिवारले मानसिक स्वास्थ्यका संकेतलाई ‘स्वभाव’, ‘संस्कृति’ वा ‘बानी’ भनेर बेवास्ता गर्ने प्रवृत्ति अझै कायम छ। मानसिक रोग शारीरिक रोग जस्तो बाहिरबाट सहजै देखिंदैन, त्यसैले परिवारले समेत धेरै अवस्थामा समयमै पहिचान गर्न सक्दैनन्। फलस्वरूप, जोखिममा रहेका व्यक्तिले आवश्यक सहयोग पाउने अवसर गुमाउन सक्छन्।

यस्ता घटना सम्बन्धी समाचारमा सत्य सूचना र सामाजिक जिम्मेवारी बीच सन्तुलन कायम गर्नु नै जिम्मेवार पत्रकारिताको सबैभन्दा ठूलो परीक्षा भएको आमसञ्चार र पत्रकारिताका प्रा. रामकृष्ण रेग्मी बताउँछन्। रेग्मी भन्छन्, ‘कुनै व्यक्तिको मृत्यु आफैंमा दुःखद् घटना हो। त्यसलाई आकर्षक शीर्षक, भावनात्मक भाषा वा अत्यधिक प्रचार–प्रसारको माध्यम बनाउँदा समाचारको उद्देश्य नै विकृत हुन सक्छ। समाचारले पाठकलाई जानकारी दिनुपर्छ तर अनावश्यक उत्तेजना वा अनुकरणको वातावरण सिर्जना गर्नुहुँदैन।’

रेग्मीका अनुसार अर्को गम्भीर समस्या यस्तो घटनाको कारणबारे सञ्चारमाध्यमले हतारमा निष्कर्ष निकाल्ने प्रवृत्ति हो। ‘कसैले किन यस्तो निर्णय गर्‍यो भन्ने विषयमा अन्तिम सत्य सार्वजनिक रूपमा प्रायः कसैलाई थाहा हुँदैन’ प्रा. रेग्मी भन्छन्, ‘तर समाचारमा एउटा घटना, विवाद, पारिवारिक झगडा वा कुनै एक निर्णयलाई मात्र आत्महत्याको कारणका रूपमा प्रस्तुत गरिन्छ। यस्तो अभ्यासले वास्तविकतालाई विकृत बनाउनुका साथै समाजमा गलत बुझाइ पनि फैलाउँछ।’

सञ्चारमाध्यमबाट सार्वजनिक गरिएका व्यवहारलाई केही व्यक्तिले सिक्ने वा त्यसको नक्कल गर्ने सम्भावना रहन्छ। प्रा. रेग्मी सञ्चारमाध्यमले आफ्नो प्रभावलाई केवल सूचना प्रवाहका रूपमा होइन, सामाजिक उत्तरदायित्वका रूपमा लिनुपर्ने बताउँछन्। उनको सुझाव छ, ‘एउटा समाचारले समाजमा कस्तो असर पार्छ भन्ने मूल्यांकन सम्पादन प्रक्रियाकै हिस्सा हुनुपर्छ।’

प्रत्येक समाचार, शीर्षक, तस्वीर र शब्दले समाजमा पार्न सक्ने प्रभावलाई बुझेर मात्रै सम्पादन र प्रकाशन गर्नुपर्ने रेग्मी बताउँछन्। मानव जीवनसँग प्रत्यक्ष जोडिएको यस्ता विषयमा जिम्मेवार पत्रकारिता नै यस्ता घटना रोकथामको एउटा महत्त्वपूर्ण माध्यम बन्न सक्ने उनको विश्वास छ।

नेपालमा दैनिक औसत १८ देखि २० जनासम्मले ज्यान फाल्ने गरेको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ। त्यसैले यस्तो विषयलाई केवल व्यक्तिगत घटना वा एउटा समाचारका रूपमा होइन, जनस्वास्थ्यसँग जोडिएको गम्भीर सामाजिक समस्याका रूपमा हेर्नुपर्ने विज्ञहरूको साझा निष्कर्ष छ। उनीहरूका अनुसार यस्ता घटना रोकथाम गर्न कुनै एउटा निकायको प्रयास मात्र पर्याप्त हुँदैन। सरकार, सञ्चारमाध्यम, स्वास्थ्य संस्था, समुदाय, परिवार र आमनागरिक सबैको साझा जिम्मेवारी आवश्यक हुन्छ।

मनोचिकित्सक डा. पन्त यस्तो घटना रोकथामको सबैभन्दा प्रभावकारी उपायमध्ये एक भनेको जोखिममा रहेका व्यक्तिलाई समयमै आवश्यक परामर्श दिनु हो। चिकित्सकहरूका अनुसार यस्तो सोच आइरहेको धेरै व्यक्तिले वास्तवमा मर्न चाहेका हुँदैनन्, उनीहरू आफ्नो असह्य मानसिक पीडाबाट मुक्त हुन चाहिरहेका हुन्छन्। त्यस्तो अवस्थामा समयमै मनोचिकित्सक, मनोपरामर्शदाता, स्वास्थ्यकर्मी वा विश्वासिलो व्यक्तिसँग गरिएको एउटा संवादले समेत जोखिम कम गर्न सक्छ।

समाचारसँगै मानसिक स्वास्थ्य सेवा, मनोपरामर्श केन्द्र तथा उपलब्ध हेल्पलाइन नम्बरहरूको जानकारी समावेश गर्नुपर्ने उनको सुझाव छ। यसले जोखिममा रहेका व्यक्तिलाई ‘सहयोग उपलब्ध छ’ भन्ने सन्देश दिन्छ र समयमै उपचार तथा परामर्श लिन प्रेरित गर्न सक्छ।

मनोविद् पनेरु समाजमा मानसिक स्वास्थ्य बारे खुलेर कुरा गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिन्छिन्। अझै पनि धेरै मानिसले मानसिक स्वास्थ्य समस्यालाई कमजोरी, व्यक्तिगत असफलता वा सामाजिक लाञ्छनासँग जोडेर हेर्ने प्रवृत्ति छ। यही कारण धेरै व्यक्तिले समस्या गम्भीर भइसकेपछि मात्र उपचार खोज्ने गर्छन्। यदि विद्यालय, कार्यस्थल, समुदाय र परिवारमै मानसिक स्वास्थ्यबारे खुला संवाद हुन सके, तनाव व्यवस्थापनका उपाय सिकाइयो र सहयोग खोज्नु कमजोरी होइन भन्ने सन्देश फैलाइयो भने यस्तो जोखिम उल्लेखनीय रूपमा घटाउन सकिने उनको विश्वास छ।

विज्ञहरूका अनुसार यस्तो घटना रोकथामका लागि सरकारले प्रभावकारी राष्ट्रिय रणनीतिलाई प्राथमिकता दिनुपर्छ।

प्रा. रेग्मी यस्तो समस्या समाधानमा सञ्चारमाध्यमले समाधानको साझेदार बन्नुपर्ने बताउँछन्। समाचारको अन्त्य केवल घटनाको विवरणमा होइन, सहयोग प्राप्त गर्न सकिने सेवा, मानसिक स्वास्थ्य सम्बन्धी जानकारी र आशाको सन्देशमा हुनुपर्छ।

विज्ञहरूका अनुसार यस्तो घटना रोकथामका लागि सरकारले प्रभावकारी राष्ट्रिय रणनीतिलाई प्राथमिकता दिनुपर्छ। समुदायस्तरमा मानसिक स्वास्थ्य सेवा विस्तार, विद्यालय र कार्यस्थलमा मनोसामाजिक परामर्श सेवा, जोखिममा रहेका व्यक्तिको समयमै पहिचान, हेल्पलाइन सेवाको सुदृढीकरण, विषादी तथा अन्य घातक साधनको पहुँच व्यवस्थापन, स्थानीय तहसम्म मानसिक स्वास्थ्य कार्यक्रम विस्तार र सञ्चारमाध्यमका लागि जिम्मेवार रिपोर्टिङ सम्बन्धी निर्देशिकाको प्रभावकारी कार्यान्वयन अहिलेको आवश्यकता हो।

जिम्मेवार पत्रकारिता, समयमै मनोसामाजिक सहयोग, सहज हेल्पलाइन सेवा, परिवार र समुदायको साथ तथा प्रभावकारी सरकारी नीतिको संयोजनबाट मात्रै आत्महत्याका घटना उल्लेखनीय रूपमा घटाउन सकिन्छ। कुनै पनि व्यक्तिले जीवन अन्त्य गर्ने निर्णय लिनुअघि उसले सहयोग खोज्न सक्ने वातावरण निर्माण गर्नु नै रोकथामको सबैभन्दा ठूलो आधार हो। यसमा पत्रकारिताको महत्त्वपूर्ण भूमिका हुन सक्दछ।

यस्तो दुःखद् समाचार पढिरहेका सबै व्यक्ति समान मानसिक अवस्थामा हुँदैनन्। त्यसमध्ये कोही गम्भीर निराशा वा गलत सोचसँग संघर्ष गरिरहेको पनि हुन सक्छ। प्रा. रेग्मी भन्छन्, ‘त्यस्तो व्यक्तिले समाचारको अन्त्यमा ‘यदि तपाईंलाई पनि यस्ता सोच आइरहेको छ भने तुरुन्त मनोचिकित्सक, मनोपरामर्शदाता, स्वास्थ्य संस्था वा उपलब्ध हेल्पलाइनमा सम्पर्क गर्नुहोस्’ भन्ने सन्देश देख्दा त्यसले जीवन बचाउने अवसर सिर्जना गर्न सक्छ।’

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?