Comments Add Comment

जेल बन्द गर्दै नेदरल्याण्डस्, नर्वेबाट पैँचोमा कैदी झिकाउँदै

विभिन्न खाले अपराधको कसुर प्रमाणित भएका दोषीहरुलाई कैदमा राख्नका लागि दुनियाँका सबैजसो देशमा जेलको व्यवस्था छ । विश्वका अधिकांश देशमा अपराधको दरमा बढोत्तरी भैरहेको छ र जेलमा कैदीको चाप पनि बढ्दैछ । तर युरोपेली मुलुक नेदरल्याण्ड एउटा यस्तो देश बनेको छ, जहाँका जेलहरु बन्द हुने चरणमा छन् ।

अपराधको शून्यजस्तै भएको नेदरल्याण्डमा जेल हाल्नका लागि कैदीहरु नै नभएपछि व्यर्थको प्रशासनिक खर्च कटाउनका लागि जेलहरु बन्द भैरहेका छन् । त्यहाँका अधिकांश जेल बन्द भैसकेका छन् ।

एक अध्ययन अनुसार नेदरल्याण्डमा हरेक एक लाख मानिसमा केवल ६१ जना मानिसले मात्र विभिन्न खाले अपराधमा संलग्न हुने गरेका छन् । तीमध्ये अधिकांशको कसुर कुनै गम्भीर प्रकृतिको हुँदैन र जेल पठाउनु आवश्यक पर्दैन । जेल पठाइएकालाई पनि छिटै जेलबाट निकालेर समाजमा पुनर्स्थापित गरिन्छ ।

नेदरल्याण्डमा हाल जनसंख्या एक करोड ७३ लाख छ । जनसंख्यालाई मध्यनजर गर्दै त्यहाँको न्याय मन्त्रालयले देशमा सन् २०२३ सम्ममा विभिन्न अपराधमा संलग्न मानिसहरुको संख्या कुल ९ हजार ८१० जना हुनसक्ने प्रक्षेपण गरेको छ ।

नेदरल्याण्डमा जेलका भवनहरु खाली भएसँगै छिमेकी देश नर्वेबाट कैदीहरु ल्याएरसमेत राखिएको छ । नर्वेमा अपराधको दर तुलनात्मकरुपमा बढी छ । सन् २०१५ देखि नै नेदरल्याण्डमा नर्वेबाट कैदी ल्याएर राखिदिन सुरु गरेको हो । नर्वेसँग आफ्ना कैदीहरु राख्ने ठाउँ कम हुन थालेपछि नेदरल्याण्डले सहयोगको हात बढाएको हो ।

नेदरल्याण्डमा कैदीको संख्या कम हुनुको एउटा अर्को कारण पनि छ । त्यहाँ निश्चित प्रकारका कसुरमा संलग्न अभियुक्ततलाई जेल सजायको साटो जरिवाना तथा सामाजिक कार्यमा खटाउने लगायतका सजाय दिइन्छ । साथै अस्पताल तथा सरकारी कार्यालयमा जनश्रमदान गर्ने सजाय पनि दिने गरिन्छ । सरकारले तोकेको श्रम सजाय भुक्तान गरेपछि अभियुक्तहरु जेल बस्नु पर्दैन ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment