Comments Add Comment

आईपीएलको प्लेअफ समीकरण : ३ स्थानका लागि ६ टीमको दावेदारी

१३ कात्तिक, काठमाडौं । आईपीएल २०२० को लिग चरणमा अब प्रत्येक टीमले दुई–दुईवटा खेल खेल्न बाँकी छ । तर, अझैसम्म पनि प्लेअफको समीकरण भने प्रष्ट भइसकेको छैन ।

अहिलेसम्म प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्न सफल एक मात्र टीम मुम्बई इन्डियन्स हो । चेन्नई सुपर किंग्स भने प्ले अफको दौडबाट बाहिर गइसकेको छ ।

त्यसैले बाँकी तीनवटा स्थानका लागि अब ६ वटा टीमहरुले प्रतिस्पर्धा गर्नेछन् । आज (बिहीबार) को म्याचभन्दा अघि यी टीमहरुको अवस्थाबारे संक्षिप्त विवेचना ः

कोलकत्ता नाइट राइडर्स
खेलेको खेल : १२
प्वाइन्ट : १२
नेट रनरेट ०.४७९

कोलकोत्ता नाइट राइडर्स (केकेआर) ले अंक तालिकाको पुछारमा रहेका दुई टीमविरुद्ध खेल्न बाँकी छ । दुवैमा जित हासिल गरेमा उसको अंक १६ पुग्नेछ जसले अन्तिम ४ मा टीमको स्थान सुरक्षित गर्न सक्छ । हारेको खण्डमा भने यसको यात्रा कठिन हुनेछ ।

केकेआरको कमजोरी भनेको नेट रनरेट हो । १६ अंक पुर्याउन सक्ने ५ टीममध्ये केकेआरको रनरेट सबैभन्दा कम छ । अब केकेआरको लक्ष्य भनेको दुवै खेलमा सम्भव भएसम्म ठूलो जित निकाल्ने हो र चारमध्ये कुनै एक टीमले १६ अंक नपुर्‍याओस् भनेर प्रार्थना गर्ने हो ।

यदि आज हुने म्याचमा चेन्नईसँग पराजित भयो भने पनि केकेआरले १४ अंकका साथ प्लेअफमा स्थान बनाउन सक्छ । तर, त्यसका लागि अरु नतिजाहरु उसले चाहेको जस्तो आउनुपर्छ । यदि अन्तिम निर्णय नेट रनरेटले नै गर्ने अवस्था आयो भने केकेआरको दावेदारी सबैभन्दा कमजोर बन्ने निश्चित छ ।

मुम्बई इन्डियन्स
खेलेको खेल :१२
प्वाइन्ट : १६
नेट रनरेट १.१८६

मुम्बई इन्डियन्सको नेट रनरेट सबैभन्दा राम्रो छ । यही कारणले उसले दुई म्याच खेल्नुअगावै प्लेअफमा स्थान बनायो । यति मात्र नभई यो टीम टप २ मा नै पर्ने निश्चितप्राय छ ।

त्यो यसकारण कि अब रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटलमध्ये एउटाले मात्रै १८ अंक ल्याउने सम्भावना भएकाले १६ अंक जोड्ने बाँकी टीमहरुको नेट रनरेटमा मुम्बई सबैभन्दा माथि हुन्छ ।

रोयल च्यालेन्जर्स बेंगलोर
खेलेको खेल : १२
प्वाइन्ट : १४
नेट रनरेट : ०.०४८

बुधबार मुम्बईविरुद्ध हार व्यहोरे पनि रोयल च्यालेन्जर्स बेंगलोरको प्लेअफमा पुग्ने सम्भावना बलियो नै छ । खेल्न बाँकी दुईमध्ये एउटामा जित हासिल गरे बेंगलोरका लागि पर्याप्त हुनेछ ।

दुवै म्याच हारेको खण्डमा पनि गणितीय हिसाबले उसको सम्भावना समाप्त हुँदैन ।

दिल्ली क्यापिटल्स
खेलेको खेल : १२
प्वाइन्ट  :१४
नेट रनरेट : ०.०३०

सनराइजर्स हैदराबादसँग व्यहोरेको ठूलो हारले गर्दा दिल्ली कठिन स्थितिमा पुगेको छ । साथै, उसले अब खेल्न बाँकी खेलहरु पनि टप २ मा रहेका टीमविरुद्ध छन् । दुईमध्ये एउटामा जित हासिल गरेको खण्डमा दिल्लीले प्लेअफमा दावेदारी मजबुत बनाउने छ । तर, हैदरावादसँग जस्तै खराब प्रदर्शन गर्यो भने केही भन्न सकिन्न ।

उदाहरणका लागि मानौं दिल्लीले एउटा खेल पाँच रनले जित्यो तर अर्को ६० रनले हार्यो । अर्कोतिर कोलकत्ताले बाँकी दुई खेल कुल मिलाएर ७० रनको अन्तरले जित्यो भने दिल्लीलाई पन्छाउँदै कोलकोत्ता प्लेअफमा पुग्न सक्छ ।

बाँकी दुवै खेल हारेको खण्डमा पनि दिल्ली क्वालिफाइड हुन सक्ने गणितीय सम्भावना जीवित रहनेछ । तर, यसका लागि अरु नतिजा उसले चाहेअनुसार आउनुपर्छ ।

किङ्स ११ पञ्जाव
खेलेको खेल : १२
प्वाइन्ट : १२
नेट रनरेट : –०.०४९

किङ्स ११ पञ्जाबले लगातार पाँचवटा खेलमा जित हासिल गर्दै प्लेअफमा आफ्नो दावेदारी पेश गरिरहेको छ । तर, उसले यो सिलसिलालाई थप २ वटा खेलमा निरन्तरता दिनुपर्ने हुन्छ । त्यसो त एउटा म्याच मात्र जितेर १६ अंक जोडेको खण्डमा पनि नेट रेनरेटमा दिल्लीको दावेदारी बलियो हुनेछ ।

यदि दिल्लीले बाँकी दुई खेलहरु अत्यन्त साँघुरो अन्तरले जित्यो भने पनि प्लेअफमा उसको सम्भावना कलकत्ताको भन्दा मजबुत हुने स्थिति छ । यदि पञ्जाबले दुईमध्ये एउटा खेल जितेर १४ अं्रक ल्यायो भने पनि प्लेअफमा स्थान बनाउन सक्छ, तर त्यसका लागि अन्य खेलको नतिजा उसले चाहे बमोजिम आउनुपर्छ ।

सनराइजर्स हैदरावाद
खेलेको खेल : १२
प्वाइन्ट : १०
नेट रनरेट : ०.३९६

सनराइजर्स हैदरावादलाई प्लेअफमा पुग्ने बाटो स्पष्ट छ, बाँकी दुवै खेल जित्ने । तर, त्यतिले मात्रै पनि पुग्दैन । पाँचमध्ये कम्तीमा दुईवटा टीमले १६ अंक प्राप्त गर्न चुक्नुपर्छ । हैदरावादको नेट रनरेट १४ अंकमा रोकिनसक्ने अन्य टीमको भन्दा बलियो छ ।

मुम्बइले रोयल च्यालेन्जर्सलाई पराजित गर्दा सनराइजर्स हैदराबादलाई फाइदा पुग्यो किनकी नेट रनरेटमा हैदराबादभन्दा अगाडि मुम्बई मात्र थियो । यो नतिजाका कारण तीनवटा स्थान अझैसम्म खाली नै छन् ।

राजस्थान रोयल्स
खेलेको खेल : १२
प्वाइन्ट  :१०
नेट रनरेट  :०.५०५

राजस्थान रोयल्स नेट रनरेटमा कमजोर छ । यही नै उसका लागि अर्को चरणमा उक्लन बाधक बन्न सक्छ । यद्यपि, बाँकी दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेर रनरेट सुधार्ने मौका राजस्थानलाई छ ।

राजस्थानले १४ अंक ल्याएर नेट रनरेटमा नगइकन प्लेअफमा स्थान बनाउन पनि सक्छ तर, त्यो अन्य नतिजाहरुमा भर पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment