Comments Add Comment

भाँचियो तामाकोसीको बिजुली बोक्ने प्रसारणलाइनको टावर

दोषीमाथि कारवाही गर्न माग

प्रतिकात्मक तस्वीर

१६ कात्तिक, काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारणमा जोड्न बनाइएको प्रसारणलाइनको एउटा टावर भाँचिएको छ । आयोजना निर्माण सकिने चरणमा पुगेका बेला २२० केभी गोंगर-खिम्ती प्रसारण लाइनको टावर भाँचिएपछि आयोजनालाई चुनौती थपिएको छ ।

आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार सिंगटीस्थित पुटुङमा रहेको २२ नम्बर टावर भाँचिएको हो । वरपरबाट पहिरो गएकाले त्यसैका कारण टावर भाँचिएको हुनसक्ने आयोजनाको दावी छ ।आयोजना नबनेकाले अहलेसम्म यो लाइनबाट बिजुली प्रसारणा सुरू भएको छैन ।

तर, स्थानीयले भने अनुपयुक्त ठाउँमा आवश्यक अध्ययन विना नै टावर बनाएकाले भाँचिएको दावी गरेका छन् । आयोजनाका प्रवक्ता न्यौपानेले भने अब सो स्थानको भौगोलिक तथा माटोको आवश्यक अध्ययन गरेर मात्रै टावर उठाउन सुरु गर्ने बताए ।

राष्ट्रिय गौरबको आयोजनामा गम्भीर लापरवाही हुँदा ऊर्जा मन्त्रालय भने मौन बसेको छ

‘तार निकालेका छौं,’ उनले भने,’अब टावरलाई खोल्छौं र अर्को टावर खडा गर्छौं ।’

उनले यही टावर भाँचिएका कारण आयोजनाबाट उत्पादित बिजुली प्रसारणलाइनमा जोड्न समस्या नपर्ने दावी पनि गरे । सरकारले आगामी पुसदेखि आयोजनाबाट परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । त्यतिन्जेलसम्म टावरको पुनर्निर्माण गरिसक्ने न्यौपाने बताउँछन् ।

कारवाही गर्न माग

कालिन्चोक गाउँपालिकाका स्थानीयहरुले भने ठेकदार र आयोजनाको लापरवाहीका कारण टावर भाँचिएकाले अनुसन्धान गरेर दोषीमाथि कारवाही गर्नुपर्ने माग गरेका छन् ।

आयोजनाको टावरहरु कमजोर रुपमा निर्माण गर्दा भविष्यमा ठूला दुर्घटनाको जोखिम हुने र यस्ता घटना दोहारिए आयोजनाबाट महिनौं दिन बिजुली खेर फाल्नुपर्ने अवस्था मसेत आउने भएकाले यस्ता घटनालाई समान्य रुपमा लिन नहुने स्थानीय कर्साङ लामाले बताए ।

‘आयोजनाले सिम्सार क्षेत्रमा टावर खडा गरेको थियो, टावर भाँचिने गरी भासियो,’ उनले भने,’अरु टावरको पनि निर्माण यसरी भएको हो भने त्यसले भविष्यमा समस्या थप्छ, त्यसैले यसरी टावर बनाउने ठेकदारदेखि यसको अनुगमनमा खटिने इन्जिनियरसम्मलाई कारवाही गर्नुपर्छ ।’

आयोजनाले अरु टावरहरुको अवस्थाबारे पनि विस्तृत अध्ययन गर्नुपर्ने माग स्थानीयको छ ।

राष्ट्रिय गौरबको आयोजनामा गम्भीर लापरवाही हुँदा ऊर्जा मन्त्रालय भने मौन बसेको छ।आयोजनाको गुणस्तर कायम गराउन प्राधिकरण पनि चुकेको अवस्थामा मन्त्रालयले समस्याबारे चासो देखाउनुपर्ने मत स्थानीयको छ ।

यो प्रसारणलाइन माथिल्लो तामाकोसीको लट ४ अन्तर्गत बनेको छ । ४७ किलोमिटरको प्रसारण लाइनमा १ सय २७ वटा टावर छन् ।

आयोजनाको बिजुली रामेछापको फुलासीमा बनिरहेको २२०/१३२ केभी न्यु खिम्ती केभी सबस्टेसनमा जोडिनेछ । भारतको केईसी इन्टरनेसनल कम्पनीले प्रसारणलाइन र सबस्टेसन निर्माण गरिरहेको छ ।

आयोजनामा ढिलाइ

लक्ष्यअनुसार माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम पनि गत असारमै सकिनुपर्ने हो । तर, आयोजनाको कार्यतालिका प्रभावित भएको छ, दोष कोभिड-१९ लाई नै दिइएको छ ।

सुरुङबाट आएको पानीलाई आयोजनाको टर्वाइनमा खसाउन बनाइएको दुई वटा ठाडो सुरुङको काम यही महामारी सुरु भएपछि नै सकिएको छ । तर, आयोजनाको फिनिसिङको काम कहिले सकिन्छ भन्ने निश्चित छैन ।

महामारीले निर्माण सामग्री ढुवानीमा समस्या हुँदा आयोजना प्रभावित भएको तर्क आयोजनाका अधिकारीको छ । भारतबाट उपकरण र समानहरु ल्याउन महामारी बाधक भएको आयोजनाका तामाकोसी हवाईड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक विज्ञान श्रेष्ठको भनाइ छ ।

आयोजनाले भित्रका कामदारलाई बाहिर आउन नदिने र बाहिरबाट पनि नयाँ मान्छे जान नदिने गरी सुरक्षात्मक उपाय अवलम्बन गर्दै काम गरिरहेको छ ।

आगामी १५ पुसभित्र कम्तिमा पनि एउटा युनिटबाट (७६ मेगावाट) बिजुली उत्पादन गर्ने नयाँ कार्यतालिका छ । पहिलो युनिटबाट विद्युत् सुरु भएपछि बाँकी ५ युनिटबाट क्रमैसँग बिजुली उत्पादन गर्ने भनिएको छ ।

आयोजनाको बाँध, इन्टेक र जलाशयमा पानी भरेर प्राविधिक परीक्षण गत चैतमा नै भइसकेको छ । तर, आयोजना कहिलेसम्म बनिसकेर सञ्चालनमा आउँछ भन्ने अझै निश्चित छैन ।

प्रवक्ता न्यौपानेका अनुसार आयोजनाको प्रसारणलाइनबाट उत्पादित बिजुली राष्ट्रय प्रसारणलाइनमा जोड्न मिल्ने बनाउन अझै ४ वटा टावर बनाएर तार टांग्न बाँकी छ ।

कुनै पनि काम समयमा नसकिँदा यो आयोजनाको लागत पनि करिब दोब्बर हुने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment