Comments Add Comment

मौरीघाटलाई लुम्बिनी प्रदेशको मुख्यालय बनाउन छलफल

प्रदेशसभाको हिउँदे अधिवेशन बुटवलमै हुन्छ : प्रवक्ता चौधरी

१९ कात्तिक, बुटवल । लुम्बिनी प्रदेश सरकारले आफ्नो प्रमुख प्रशासनिक केन्द्र राप्ती गाउँपालिका मौरीघाटस्थित राप्ती प्राविधिक शिक्षालयलाई केन्द्र मानेर बनाउने तयारी गरेको छ ।

त्यसको सुरुवात स्वरुप बुधबार मुख्यमन्त्री कार्यालयमा राप्ती गाउँपालिका, राप्ती प्राविधिक शिक्षालय र गढवा गाउँपालिकाका प्रमुखलगायतसंग छलफल भएको छ ।

छलफलमा राप्ती प्राविधिक शिक्षालयले ओगटेको १६ बिघा क्षेत्रफल प्रदेश राजधानीका लागि ‘प्राइम लोकेसन’ भएको ठहर प्रदेश सरकारले गरेको छ ।

त्यही क्षेत्रमा स्थायी संरचना बनाउनका लागि शिक्षालयलाई अन्यत्र स्थानान्तरण गर्न प्रक्रिया अघि बढाउनेबारे छलफल भएको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताए । प्राविधिक शिक्षालयका प्रतिनिधि र त्यहाँका पालिका प्रमुखहरुले आफूहरु प्रदेश सरकारलाई शिक्षालयको संरचना र जग्गा दिन तयार रहेको प्रतिवद्धता जनाएको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताए ।

‘मुख्यमन्त्री कार्यालयले बोलाएर गएका थियौं, राप्ती प्राविधिक शिक्षालय अन्यत्र सारेर भवन र जग्गा सरकारलाई दिन तयार छौं भन्यौं’ सुवेदीले भने–‘शिक्षा मन्त्रालय र सीटीईभीटीसंग कुरा गरेर सार्ने प्रक्रिया पूरा गर्ने काम सरकारको हो, त्यसमा हामी सहयोग गर्छौं ।’

छलफलमा राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती उच्च माविको गोबरडिहास्थित जग्गामा सार्न सकिने विकल्प दिइएको थियो ।

२०५० सालमा स्थापना भएको राप्ती प्राविधिक शिक्षालयमा हाल ११ सय विद्यार्थी अध्ययनरत छन् । त्यहाँ सीटीईभीटी अन्तर्गतका आईएससी एजी, जेटीए, सब ओभरसियर, सीएमएलगायतका विषय पढाइ हुन्छ ।

सरकारका प्रवक्ता चौधरीले प्राविधिक शिक्षालय सार्न समय लाग्ने भएकाले हिउँदे अधिवेशन मात्र हैन वर्षे अधिवेशन पनि बुटवलमै बस्ने दावी गरे ।

‘लेखेर राख्नुस्, हिउँदे अधिवेशन मात्र हैन, वर्षे अधिवेशन पनि बुटवलमै हुन्छ’, मन्त्री चौधरीले भने, ‘आजको छलफलमा पनि मुख्यमन्त्रीले स्थायी संरचना बनेपछि मात्रै प्रदेश सभा वैठक बुटवलबाट सर्ने कुरा स्पष्टसँग राख्नुभएको छ ।’

प्रदेश सभाबाट राजधानी टुंगो लागेको एक महिना नबित्दै प्रदेश सभाको हिउँदे अधिवेशन दाङमै गर्ने गरी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी लगायतले देउखुरीको राप्ती गाउँपालिकामा रहेका भौतिक पूर्वाधारको अवस्थाबारे एक हप्ताअघि अनुगमन गरेका थिए ।

यो पनि पढ्नुहोस राप्ती प्राविधिक शिक्षालय : बन्ला त लुम्बिनी प्रदेशको ‘सिंहदरबार’ ?

राप्ती प्राविधिक शिक्षालयसहित त्यहाँका निजी क्षेत्रका भवनहरू अवलोकनमा प्रदेश सभा लागेपछि अस्थायी संरचनामा फेरि करोडौं फजुल खर्च गर्न हतारिएको भन्दै सरकारको आलोचना हुन थालेको थियो ।

स्थायी संरचना बनाएर अस्थायी मुकाम बुटवलबाट प्रदेश सभा र मन्त्रालय दाङ लैजाने मुख्यमन्त्री शंकर पोखरेलले बताउने गरेपनि प्रदेश सरकार अस्थायी संरचनामा नै हतार–हतार प्रदेश सभा र राजधानी सार्ने तयारीमा जुटेको भन्दै सत्तारुढ नेकपाकै सांसदहरुले आलोचना गरेका छन् ।

झण्डै तीन वर्षसम्म बुटवलका अस्थायी संरचनामा ३० करोड रुपैयाँभन्दा बढी खर्च गरेको प्रदेश सरकार स्थायी संरचना नबनाई फेरि करोडौं रकम अस्थायी संरचनामै खर्च गर्न हतारो गरेको भन्दै विरोध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment