News Summary
Generated by OK AI. Editorially reviewed.- लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले सरकारी कामकाजको भाषासम्बन्धी विधेयक आगामी मंसिरदेखि सुरु हुने हिउँदे अधिवेशनमा प्रदेशसभामा पेस गर्ने तयारी भइरहेको बताए ।
- उनले विधेयकको मस्यौदा तयार पार्ने काम भइरहेको र बागमती, गण्डकीलगायत प्रदेशका अनुभव तथा सुझाव संकलन भइरहेको जानकारी दिए ।
- सभामुख घर्तीले विधेयक पेस भएपछि सरोकारवालासँग छलफल गरी परिमार्जनसहित विषयगत समितिमा पठाइने र फागुनसम्म पारित गर्ने लक्ष्य रहेको बताए ।
१२ कात्तिक, काठमाडौं । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले सरकारी कामकाजको भाषासम्बन्धी विधेयक आगामी हिउँदे अधिवेशनमा प्रदेशसभामा पेस गर्ने तयारी भइरहेको बताएका छन् ।
बिहीबार लुम्बिनी प्रदेशमा आयोजित सरकारी कामकाजको भाषासम्बन्धी कार्यशाला गोष्ठीमा बोल्दै सभामुख घर्तीले विधेयकको मस्यौदा तयार पार्ने काम भइरहेको जानकारी दिएका हुन् ।
उनका अनुसार विधेयकलाई पूर्णता दिन बागमती र गण्डकी प्रदेशलगायतका अनुभव तथा सुझाव संकलन भइरहेको छ । आगामी मंसिरदेखि सुरु हुने हिउँदे अधिवेशनमा सरकारले विधेयक प्रदेशसभामा पेश गर्ने तयारी गरेको बताए ।
‘आगामी मंसिरदेखि सुरु हुने हिउँदे अधिवेशनमा सरकारी कामकाजको भाषासम्बन्धी विधेयक सदनमा पेश गर्ने तयारी भइरहेको छ । यसका लागि वागमती र गण्डकीलगायत प्रदेशबाट सुझाव सङ्कलन भइरहेको छ,’ उनले भने ।
विधेयक सदनमा पेश भएपछि सरोकारवालासँग व्यापक छलफल गरी आवश्यक सुझाव र परिमार्जनसहित विषयगत समितिमा पठाइने उनको भनाइ छ । विधेयकलाई लोकतान्त्रिक विधि र प्रक्रियाबाट अघि बढाउँदै सबै पक्षको भावना समेट्ने गरी छलफल गरिने सभामुख घर्तीले बताए ।
‘विधेयक सदनमा पेश भएपछि सरोकारवालासँग व्यापक छलफल गरी आवश्यक परिमार्जन गरिनेछ र विषयगत समितिमा पठाएर लोकतान्त्रिक विधि तथा प्रक्रियामार्फत सबैको भावना समेटिनेछ । मंसिरमा पेस हुने विधेयक फागुनसम्म पारित गर्ने लक्ष्य राखिएको छ,’ उनले भने ।
सरकारी कामकाजको भाषासम्बन्धी कानूनी व्यवस्था निर्माण गर्दा सरोकारवाला पक्षका सुझाव र विभिन्न प्रदेशका अनुभवलाई समेटेर अघि बढाइने उनले बताए ।
प्रतिक्रिया 4