Comments Add Comment

म्यानचेस्टरको प्रशिक्षक बन्न पोचेटिनोलाई प्रस्ताव !

२१ कात्तिक, काठमाडौं । म्यानचेस्टर युनाइटेडले यस सिजन प्रिमियर लिगमा सोचे अनुसारको प्रदर्शन गर्न नसक्दा प्रशिक्षक ओले गनर सोल्सायरमाथि दबाव बढीरहेको छ । यसै बेला टोटनहमका पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनोलाई युनाइटेडले प्रशिक्षक पदका लागि प्रस्ताव गरेको बेलायती अनलाइन म्यानचेस्टर इभिनिङ न्युजले जनाएको छ ।

सोल्यारको प्रशिक्षणमा युनाइटेडले प्रिमियर लिग र च्याम्पियन्स लिगमा गरी ९ खेल मध्ये ४ खेलमा हार बेहोरेपछि युनाइटेडले पोचेटिनोमाथि इच्छा देखाएको उक्त अनलाइनले उल्लेख गरेको छ । म्यानचेस्टर इभिनिङ न्युजका अनुसार युनाइटेडले पोचेटिनोको प्रतिनिधिसँग सम्पर्क गरेको हो ।

युनाइटेडले प्रिमियर लिगमा खेलेका ६ मध्ये ३ खेलमा हार बेहोरेको छ । सन् १९८९-९० पछि युनाइटेडले सुरुवाती ७ मध्ये ४ खेल हारेको छैन । नोभेम्बरको इन्टरनेशनल ब्रेकपछि युनाइटेडले एभरटनको भ्रमण गर्दैछ ।

च्याम्पियन्स लिग अन्तर्गत टिकस क्लब इस्तानबुल बकासेयरसँग २-१ ले पराजित भएपछि आफ्नो कामदेखि डर छ भन्ने प्रश्नमा सोल्सायरले त्यसमा कमेन्ट गर्न चाहेनन् । उनले आफू क्लबको कामदार रहेको र स्टाफहरुसँग मिलेर आफ्नो क्षमता अनुसार सक्दो राम्रो गर्न प्रयास गर्ने बताएका थिए ।

उता पोचेटिनोले पनि यसै साता मन्डे नाइट फुटबलसँगको कुराकानीमा आफू प्रशिक्षक पदमा फर्कन तयार रहेको बताएका थिए । साढे पाँच वर्ष टोटनहममा बिताएका ४८ वर्षीय पोचेटिनोले गत नोभेम्बरमा क्लब छाडेका थिए । त्यसयता उनी क्लबबिहीन छन् । यस बीचमा बार्सिलोना लगायत विभिन्न क्लबसँग उनको नाम जोडिएपनि अझै उनी कुनै क्लबमा अनुबन्ध भएका छैनन् ।

युनाइटेडले पोचेटिनोलाई अनुबन्ध गरेमा उनको पूर्व क्लब टोटनहमलाई कुनै क्षतीपूर्ती तिर्नुपर्ने छैन । त्यसको समयसिमा मे महिनामै सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment