२६ कात्तिक, काठमाडौं । रविशंकर पासवान धेरै बोल्न नरुचाउने खेलाडी हुन्, उनलाई चिन्नेहरुलाई यो कुरा थाहा छ । उनी भन्छन् ‘मलाई धेरै कुरा गर्न मन पर्दैन, म खेलको माध्यमबाट बोल्न चाहन्छु ।’
२३ वर्षीय पासवानले बाराको उमजानमा सानैदेखि प्लास्टिक र मोजाको बल खेले । उनी अहिले राष्ट्रिय पुरुष फुटबल टिमबाट नियमित खेलिरहेका छन् ।
२०१९ मा कुवेतविरूद्ध डेब्यु गरेपछि पासवानले देशका लागि आठ खेलमा प्रतिनिधित्व गरेका छन् । मिडफिल्डर पासवान गोल गर्नमा भन्दा एसिस्ट गर्न मनपर्ने बताउँछन् ।
‘राष्ट्रिय टिममा मैले गोल गर्न बाँकी भएपनि त्यसले मलाई असर गर्दैन । म गोल गर्न भन्दा असिस्ट गर्न मन पराउँछु’ उनी भन्छन् ।
जिल्ला लिग फुटबल प्रतियोगिताअघि बारा जिल्लाको टिमले पासवानको टिमसंग मैत्रीपूर्ण खेल खेलेको थियो । बारा जिल्लाका प्रशिक्षक कृष्णमणि चौधरी पासवानसँग त्यतिबेलै प्रभावित भएका थिए र उनले पासवानको टिमलाई लिग खेलमा समावेश गरे ।
पासवानको जनज्योति युवा क्लबले लिग जित्यो र उनी प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडी चुनिए । उनले साइकल पुरस्कार जिते । फुटबलरको रुपमा उनले जितेको त्यो पहिलो पुरस्कार थियो ।
त्यसपछि उनी सन् २०१४ मा आहा रारा गोल्डकप पोखरामा पनि खेल्न पाए । उनको प्रदर्शनबाट मनाङ मर्स्याङ्दी क्लबका तत्कालिन प्रशिक्षक राजुकाजी शाक्य प्रभावित भए । शाक्यले पासवानलाई मनाङबाट खेल्न आग्रह गरे । ‘एमएमसीले मलाई २० हजार रुपैयाँ मासिक तलब दियो । मैले त्यो पैसा बुवालाई दिएँ । मेरो लागि यो खुशीको क्षण थियो किनकी यो मेरो पहिलो कमाई थियो’ रविले सम्झिए ।
उनको क्लब करियरले अर्को मोड लियो जब एमएमसीले झापाको शिवसताक्षी गोल्ड कप नखेल्ने निर्णय गर्यो । त्यसपछि नेपाल पुलिस क्लबका अनन्त थापाले उनलाई प्रतियोगितामा पुलिसबाट खेल्न आमन्त्रण गरे ।
पासवानले पुलिसमा रोजगारीको प्रस्ताव पनि पाए । ‘मैले यस प्रस्तावलाई स्वीकार गरें किनभने मेरो बुबाले मलाई पुलिसबाट खेलेको हेर्न चाहनुहुन्थ्यो, रेडियोमा कमेन्ट सुन्दा उहाँले हरि खड्का, जुमानु राईको नाम सुन्नुभएको थियो, मैले त्यही क्लबको प्रतिनिधित्व गरोस् भन्ने चाहनुहुन्थ्यो’ पासवानले भने ।
रवि लिग प्रतियोगितामा भन्दा नकआउट प्रतियोगितामा चम्किएका खेलाडी हुन् । मनाङ र पुलिसबाट खेल्दा उनले धेरै उपाधि र नगद पुरस्कार जितेका छन् । ‘मैले सन् २०१७ को आरा रारा गोल्ड कपमा स्कुटर र २०१८ को खप्तड गोल्ड कपमा मोटरसाइकल जितें, मैले धेरै प्रतियोगितामा नगद पुरस्कार पनि जितेको छु’ उनले भने ।
उनले फुटबल खेलेर गरेको आम्दानी बुबालाई दिने गरेको बताए । ‘मलाई थाहा छ म यहाँ मेरो परिवारको समर्थनको कारण छु । परिवारले म प्रति देखाएको विश्वासलाई पूरा गर्दा मलाई राम्रो लाग्छ’ उनले भने ।
राष्ट्रिय टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले पासवानलाई कुवेत विरुद्ध डेब्यु गरेयता राम्रोसंग चिन्छन् । ‘उनी कडा मेहिनत गर्ने र अनुशासित खेलाडी हुन् । पिचमा उनको स्पिड बलियो हुन्छ’ श्रेष्ठले भने ।
पासवानले देशका लागि खेल्न पाउँदा आफूलाई खुशी लागेको बताए । ‘फुटबल खेल्न सुरु गरेदेखि नै म राष्ट्रको लागि खेल्न चाहन्थेँ । मलाई लाग्छ हरेक फुटबलरले मैले जस्तै सोच्छन् तर सबै सफल हुँदैनन्’ उनले भने ।
कहिल्यै हार नमान्ने कारणले नै आफू सफल भए उनको बुझाइ छ ।
पासवानले आगामी दिनमा राष्ट्रिय टिममा निरन्तरता पाउने र भारत र माल्दिभ्सको लिगमा खेल्न चाहेको बताए । ‘आशा छ कि मैले त्यो अवसर पाउनेछु । तर मैले यो अवसर पाउनैपर्छ, र त्यो हासिल गर्ने एक मात्र तरिका कडा मेहनत र अनुशासन नै हो’ पासवानले भने ।
(एन्फामा प्रकाशित सामग्रीको भावानुवाद)
प्रतिक्रिया 4