Comments Add Comment

मलेसियाका स्टेफिनो पपुलर खेलाडी

२८ कात्तिक, काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा मलेसियाका स्टेफिनो एटम पपुलर खेलाडी बनेका छन् । युट्युवमा सबैभन्दा बढी भ्यु प्राप्त उनको भिडियोले सबैभन्दा बढी लाइक पाएको प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए ।

पपुलर खेलाडी बनेका एटमले दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छन् । उनले पुरुष २९ वर्षमुनिको स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

पपुलर खेलाडी विधाको पुरस्कारको प्रायोजन सगरमाथा तेक्वान्दो डोजाङ बेलायतका संस्थापक एवं एनआरएनए बेलायतका पूर्वउपाध्यक्ष राष्ट्र राईले गरेका छन् । राई नेपालका पूर्वराष्ट्रिय तेक्वान्दो खेलाडी पनि हुन् ।

च्याम्पियनसिपमा थाइल्यान्डका पाकानोन चान्चारान र सुरिनेमकी चियानी तिजिङहिनतोजी उत्कृष्ट खेलाडी घोषित भएका थिए । पाकानोनले छात्र १२ वर्षमुनिको प्रतिस्पर्धामा स्वर्ण जितेका थिए ।

चियानीले भने महिला १४ वर्षमुनिको स्पर्धामा स्वर्ण जितेकी थिइन् । उत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही एक सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् ।

च्याम्पियनसिपमा मलेसिया टिम च्याम्पियन बनेको छ । मलेसियाले ६ स्वर्ण, चार रजत र सात कांस्य जितेको थियो । यस्तै आयोजक नेपाल चार स्वर्ण, ७ रजत र १० कांस्य जित्दै दोस्रो भएको छ ।

मेक्सिकोले दुई स्वर्ण र एक रजत जित्दै तेस्रो स्थान हात पारेको थियो । च्याम्पियनसिपमा नेपालसहित १९ राष्ट्रका तीन सय ६२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त पहलमा च्याम्पियनसिप आयोजना गरिएको हो । च्याम्पियनसिपमा महिला र पुरुष गरी १८ उमेर समूहमा प्रतिस्पर्धा भएको थियो ।

कोरोना भाइरसको सन्त्रासको समयमा पनि १८ राष्ट्रबाट खेलाडी सहभागी हुनु च्याम्पियनसिपको सबैभन्दा ठूलो सफलता भएको प्रतियोगिता संयोजक घिसिङले जानकारी दिए । ‘अहिलेको विषम् परिस्थितिमा पनि खेलाडीहरुले उत्साहजनक सहभागिता जनाए’, प्रतियोगिता संयोजक घिसिङले भने, ‘यसले आगामी दिनमा पनि भब्य कार्यक्रम आयोजना गर्न थप हौसला दिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment