Comments Add Comment

अर्मेनियाका विदेशमन्त्रीले दिए राजीनामा

२ मंसिर, काठमाडौं । अर्मेनियाका विदेशमन्त्री जोह्रब नात्साकान्यनले राजीनामा दिएका छन् । अजरबैजानसँग विवादित भूमिको विषयलाई लिएर जारी युद्ध रोक्न रुसको सहयोगमा भएको सम्झौतापछि मुलुकमा आन्दोलन चर्किएसँगै विदेशमन्त्रीले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

गत साता भएको उक्त सम्झौताको विरोधमा अर्मेनियामा प्रधानमन्त्री निकोल पाशिन्यानको राजीनामा माग्दै व्यापक प्रदर्शन भइरहेको छ ।

सोमबार मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जाल फेसबुकमार्फत् विदेशमन्त्रीको राजीनामाको जानकारी दिएका हुन् । यससँगै प्रधानमन्त्रीमाथि पनि राजीनामाको दबाब बढेको छ । गत साता प्रधानमन्त्रीको राजीनामा माग गर्दै अर्मेनियामा हजारौं प्रदर्शनकारीले प्रदर्शन गरेका थिए ।

यसअघि नागोर्नो काराबखको विषयमा अर्मेनिया र अजरबैजानबीच ६ सातासम्म लडाइँ चलेको थियो । यो युद्धको क्रममा अर्मेनियाका २३ सयभन्दा धेरै सैनिक मारिएका थिए । अजरबैजानले भने यो युद्धमा मारिएका आफ्ना सैनिकको संख्या खुलाएको छैन ।

अर्मेनियाका प्रधानमन्त्री पाशिन्यानले यो सम्झौताको जिम्मेवारी आफूले लिने बताएका छन् । उनले थप भूमि गुम्न नदिन र मानिसहरुको ज्यान बचाउन यो सम्झौता गर्नु आफ्नो बाध्यता रहेको भन्दै उनले आफ्नो बचाउ गर्दै आएका छन् । उनले आफूले राजीनामा नदिने र मुलुकमा स्थायित्व ल्याउने दाबी गर्दै आएका छन् ।

गत शनिबार अर्मेनियाको नेशनल सेक्युरिटी सर्भिसले पूर्व अधिकारीहरुको समुहलाई प्रधानमन्त्रीको हत्याको प्रयास गरेको आरोपमा पक्राउ गरिएको बताएको थियो । विश्लेषकहरुले अर्मेनियाको राजनीतिक संकट अझै बढ्न सक्ने चेतावनी दिएका छन् ।

स्रोत :अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment