Comments Add Comment

ट्रम्पले हार स्वीकार नगरे धेरै मानिसको मृत्यु हुन सक्छ : बाइडन

२ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा जित हासिल गरेका जो बाइडनले राष्ट्रपति डोनाल्ड ट्रम्पले यो निर्वाचनको नतिजा स्वीकार नगरे धेरै मानिसको मृत्यु हुन सक्ने बताएका छन् । डेलावेयरमा बोल्दै बाइडनले ट्रम्पले सहकार्य नगरेको अवस्थामा धेरै मानिसको मृत्यु हुन सक्ने बताएका हुन् ।

बाइडनले ट्रम्पले निर्वाचनमा आफ्नो हार स्वीकार नगर्नु पूर्णरुपमा गैरजिम्मेवारी रहेको बताए । गत नोभेम्बर ३ मा भएको निर्वाचनमा जो बाइडनले ३०६ इलेक्टोरल भोट पाएका थिए भने ट्रम्पको पक्षमा २३२ इलेक्टोरल भोट परेको थियो ।

अमेरिकामा राष्ट्रपतिको रुपमा विजयी हुन २७० इलेक्टोरल भोट आवश्यक हुन्छ । निर्वाचनको नतिजा स्वीकार नगरेको विषयलाई लिएर पूर्व अमेरिकी फर्स्ट लेडी मिसेल ओबामाले यो कुनै खेल नभएको धारणा राखेकी छन् ।

यद्यपि ट्रम्पले भने अहिलेसम्म निर्वाचनको नतिजा स्वीकार गरेका छैनन् । उनले सोमबार सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गर्दै आफूले निर्वाचन जितेको दाबी गरेका थिए । साथै उनको निर्वाचन प्रचारको टोलीले निर्वाचनको नतिजाविरुद्ध कानुनी लडाइँ पनि लडिरहेका छन् ।

नयाँ राष्ट्रपतिसँग काम सुरु गर्न ट्रान्जिसन प्रक्रिया सुरु गर्ने सरकारी निकाय जनरल सर्भिस एड्मिनिस्ट्रेसनले अहिलेसम्म राष्ट्रपतिमा बाइडन र उपराष्ट्रपतिमा कमला ह्यारिसलाई निर्वाचित भएको स्वीकार गरेको छैन । त्यसैले बाइडनको टोलीलाई संवेदनशील सरकारी ब्रिफिङमा कुनै स्थान दिइएको छैन ।

सामान्यतया आगामी प्रशासनको टोलीलाई पनि यस किसिमको ब्रिफिङमा समावेश गरिन्छ । बाइडनका सहयोगीहरुले ट्रम्पले ट्रान्जिसन टोलीसँग काम गर्न नखोज्नुको अर्थ कोरोना भाइरसविरुद्धको खोप वितरणको रणनीतिमा बाइडनलाई अलग गर्नु रहेको बताएका छन् ।

बाइडनले खोप वितरणको विषयमा काम गर्न आफूले जनवरी २० मा हुने शपथ ग्रहणसम्म प्रतीक्षा गर्ने हो भने यो योजना एक महिनाभन्दा लामो समय पछि पर्ने बताएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment