Comments Add Comment

नेकपाको किचलोले प्रणालीमाथि नै भ्रम पैदा गर्‍यो : सहमहामन्त्री महत

३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक किचलोका कारण लोकतान्त्रिक प्रणालीमाथि नै भ्रम पैदा हुन थालेको बताएका छन् ।

निर्वाचित भएर आएकाहरुले नै जनतामाथि विश्वासघात गरेकोले जनतालाई लोकतान्त्रिक प्रणाली नराम्रो हो भन्ने भ्रम परेको उनको भनाइ छ ।

‘निर्वाचित भएर आएकाहरुले जनतामाथि विश्वासघात गरेकाले जनतामा प्रणालीको नराम्रो हो कि भन्ने परेको छ । तर त्यो होइन’ न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले  भने, ‘जनताले अर्को निर्वाचनमा अर्को विकल्प खोज्ने हो । सरकारलाई सच्चिनका लागि बाध्य पार्न सबैले आवाज बुलन्द गर्नुपर्छ । प्रणालीमाथि आक्रमण गरेर धमिलो पानीमा खेल्न खोज्दैछन् । त्यो बाटोमा देश जान सक्दैन ।’

नेता महतले सरकार संवेदनशील नबनेका कारण महामारी नियन्त्रण बाहिर गएकोसमेत बताए । सरकारले सुरुवाती दिनदेखि आइसोलेसन निर्माण/व्यवस्थापन, क्वारेन्टिन व्यवस्थापन, अस्पतालहरुमा बेडको व्यवस्था गर्न नसकेको पनि उनले बताए।

‘सरकार संवेदनशील भएको भए कोभिड सहजै नियन्त्रण गर्न सकिन्थ्यो । सुरुमा आइसोलेसन, क्वारेन्टिन, परीक्षण र अस्पताल सुव्यवस्थित गर्ने सरकारले तयारी गरेको भए यो अवस्था आउने थिएन’ नेता महतले भने ।

सहमहामन्त्री महतले जनतामाथि विश्वासघात गरेर नेकपा नेतृत्वको सम्पूर्ण ध्यान सत्ता कसरी जोगाउने भन्नेमा केन्द्रित भएको पनि आरोप लगाए । सरकार महामारीबाट जनतालाई कसरी जोगाउने भन्दा पनि औषधि खरिद र राहत वितरणमा समेत कसरी फाइदा उठाउने भन्नेमा लागेको महतले दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment