Comments Add Comment
चाबहिल-साँखु सडकखण्डमा लापरवाही :

सडकको बिजोक भएपछि थलीका स्थानीयले बन्द गरे सडक

५ मंसिर, काठमाडौं । चाबहिल-साँखु सडकखण्ड निर्माणमा ढिलाइ भएको भन्दै फेरि स्थानीय आन्दोलित भएका छन् । दुर्घटना बढेको र सडकले सास्ती भएको भन्दै शुक्रबार पनि सर्वसाधारणले थलीमा प्रदर्शन गरे ।

सडकका कारण स्थानीय क्षेत्रमा दुर्घटना पनि बढेको स्थानीयको गुनासो छ । सो खण्डमा हालै भएका एक सवारी दुर्घटनामा दोषीलाई कारवाहीको माग पनि गर्दै सडकको अवस्था सुधारका लागि पनि दबाव दिने उद्देश्य पनि राखेर प्रदर्शन गरिएको स्थानीय सुकन मानन्धरले बताए ।

करिब २ घण्टा अवरुद्ध भएको सडक केहीबेर अघि मात्रै खुलेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

सडक विभागले स्थानीय जनप्रतिनिधिमार्फत गति बढाउने प्रतिवद्धता जनाएपछि अवरुद्ध सडक खुलेको स्थानीयबासी मानन्धरले बताए ।

विहान धुलो मेट्न हालेको पानीले हिलाम्य हुने यहाँका सडक दिउँसो फेरि धूलोले नै कुहिरीमण्डल बन्ने गरेका छन् । चाबहिलदेखि साँखुसम्मको कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर छ । त्यसमध्ये सानो खण्ड मात्रै कालोपत्रे भएको छ । बाकीँ सडक कच्ची छन् ।

समयमा काम नसकिँदा  यो खण्डमा सवारी आवागमन पनि प्रभावित हुँदै आएको छ । विसं २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउन काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले ठेक्का दिएको थियो ।
तर, मुआब्जा विवादका कारण सडक विस्तारको काम केही समय प्रभावित भयो । सरकारले उपलब्ध सडक सीमामै कालोपत्रे गर्ने निर्णय गरेपनि काम अझै सकिएको छैन ।

सडक विभागले भने मुआब्जा विवाद र पुराना प्रणालीको ढल व्यवस्थापन लगायतका कारण कालोपत्रे अघि बढाउन समस्या भएको बताउँदै आएको छ ।

समस्या समाधान गर्न स्थानीय तहले पनि भूमिका नखेलेको भन्दै स्थानीयहरु भने आक्रोशित छन् । लामो समयदेखि धुलो र हिलोको मारमा परेका स्थानीयबासिन्दाले यसअघि पनि पटक-पटक सडकमा उत्रिएर विरोध जनाइसकेका छन् ।

तस्वीरः निश्चल नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment