
काठमाडौं । क्रिस्चियन धर्मका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको आधिकारिक इन्स्टाग्राम अकाउन्टबाट एक ब्राजिलियन मोडेलको तस्वीरमा लाइक हानिएपछि त्यसले ठूलो तहल्का मच्चाएको छ ।
भ्याटिकनले इन्स्टाग्रामसँग प्रष्टीकरण सोध्दै आखिर पोप फ्रान्सिसको आधिकारिक अकाउन्टबाट ब्राजिलियन मोडेल नतालिया गेरिबोटोको तस्वीरमा कसरी लाइक गयो ? भन्ने जवाफ माग गरेको छ । साथै यो मामिलाको जाँच गरिरहेको पनि भ्याटिकनले जनाएको छ ।
पोपको आधिकारिक अकाउन्टबाट नतालियाको अंग प्रदर्शनयुक्त तस्वीरमा कुन मितिमा लाइक बटन थिचिएको हो भन्नेचाहिँ खुलेको छैन ।
पोपको अकाउन्टबाट लाइक गरिएको तस्वीरमा नतालियाले स्कूल युनिफर्मसँग मिल्दोजुल्दो ड्रेस लगाएकी छिन् ।
नतालियाको म्यानेजमेन्ट कम्पनीलेचाहिँ पोपको अकाउन्टबाट लाइक गरिएको उक्त तस्वीरलाई पुनः पोष्ट गर्दै उनलाई आधिकारिक रुपमा पोपको आशिर्वाद मिलेको उल्लेख गरेको छ । नतालियाले पनि अब आफू पक्का स्वर्ग जानेवाला भएको टिप्पणी गरेकी छिन् ।
ब्राजिलियन मोडेल नतालियाका इन्स्टाग्राममा २४ लाख फलोअर्स छन् ।
पोप फ्रान्सिस पनि सोसल मिडियामा निकै लोकप्रिय छन् । इन्स्टाग्राममा उनका ७४ लाख फलोअर्स छन् तर उनले कसैलाई पनि फलो गरेका छैनन् ।
भ्याटिकनका अनुसार पोपको आधिकारिक सोसल मिडिया चलाउनका लागि केही व्यक्ति सम्मिलित एक टिम बनाइएको छ । पोप आफैँले भने कुनै पनि सोसल मिडिया चलाउँदैनन् ।
-एजेन्सी
प्रतिक्रिया 4