Comments Add Comment

गोरखाका ४ स्थानीय तहमा मात्र अस्पताल शिलान्यास

१६ मंसिर, गोरखा । जिल्लाका चार स्थानीय तहमा आधारभूत अस्पतालको निर्माण प्रक्रिया शुरु भएको छ । बारपाक सुलिकोट, अजिरकोट, शहीद लखन र चुमनुव्री गाउँपालिकामा सोमवार अस्पताल भवनको शिलन्यास गरिएको हो ।

बारपाक सुलीकोट गाउँपालिक– ४ हुडीफाँटमा र शहीद लखन गाउँपालिका– ५ ताक्लुङमा १५÷१५ शय्याको अस्पताल भवनको शिलान्यास भएको छ । शहीद लखन गाउँपालिकाको अस्पताल भवनको लागत १८ करोड रुपैयाँ रहेकामा चालु आर्थिक वर्षमा २ करोड ८ लाख रुपैयाँ विनियोजन भएको स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले बताए ।
अजिरकोट र चुमनुव्री गाउँपालिका ५÷५ शय्याको अस्पताल बन्ने भएका छन् । सात करोड लागतमा वडा नम्बर ३ सिर्दिवासमा अस्पताल बन्न लागेको चुमनुव्री गाउँपालिकाले जनाएको छ । त्यस्तै अजिरकोट गाउँपालिकाको वडा नम्वर ३ भच्चेकमा सात करोड लागतमै भवन बन्न लागेको हो ।

धार्चे, सिरानचोक, भीमसेन थापा र आरुघाट गाउँपालिकामा अस्पताल भवनको शिलन्यास हुन सकेन । जग्गा प्राप्ति नभएका कारण समस्या भएको स्थानीय तहहरुले जनाएका छन् ।

धार्चे गाउँपालिकाले वडा नम्वर ५ माछाखोलामा ५ शय्याको अस्पताल भवन बनाउने तयारी गरिरहेको छ । जग्गाको खोजी भइरहेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।

सिरानचोक गाउँपालिकाले १५ शय्याको अस्पताल भवनका लागि जग्गा खोजी भइरहेको जनाएको छ । यहाँ अस्पताल बनाउने ठाउँको विषयमा पनि विवाद भएको छ । जौवारीमा बनाउने वा चोरकाटेमा बनाउने भन्ने विवाद जनप्रतिनिधिबीच छ ।

भीमसेन थापा गाउँपालिकाले वडा नम्वर ६ अश्राङमा १० शय्याको अस्पताल निर्माण गर्ने भनेपनि जग्गा व्यवस्थापन नहुँदा काम शुरु हुन नसकेको बताएको छ । आरुघाट गाउँपालिकाले पनि जग्गाको खोजी कार्य भइरहेको जनाएको छ । बुढीगण्डकी डुवान क्षेत्रमा नपर्ने जग्गाको खोजी भइरहेको गाउँपालिका स्वास्थ्य प्रमुख बिजय श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

दुलही केकी

Advertisment