
काठमाडौं । सोसल मिडिया कम्पनी फेसबुकमाथि अमेरिकी नागरिकहरुलाई जागिरमा विभेद गरेको अभियोग लागेको छ ।
कर्मचारी भर्नाका क्रममा अमेरिकी नागरिकलाई विभेद गरेको र विदेशी आप्रवासी नागरिकहरुलाई ग्राह्यता दिएको भन्दै अमेरिकाको न्याय मन्त्रालयले फेसबुकविरुद्ध मुद्दा दायर गरेको हो ।
फेसबुकका २६ सयभन्दा धेरै पदहरुमा भर्ना गर्दा योग्य तथा जागिर खान तयार रहेका अमेरिकीहरुलाई मौका नदिइएको ठहर न्याय मन्त्रालयको छ । उल्लेखित पदहरुमा अस्थायी भिषामा रहेका विदेशी नागरिकहरुलाई भर्ना गरिएको अदालतमा दायर मुद्दामा अमेरिकी न्याय मन्त्रालयले उल्लेख गरेको छ ।
उता फेसबुकले भने यस्तो आरोप अस्विकार गरेको छ । तथापि यस विषयमा आफुले न्याय मन्त्रालयसँग सहकार्य गरिरहेको उसको भनाइ छ ।
दायर मुद्दामा फेसबुकद्वारा कर्मचारी भर्नाका लागि एच वान बी भिसाको उपयोग गरेको विषयमा चासो देखाइएको छ । अमेरिकामा रहेका प्रायः प्रविधि कम्पनीहरुले उच्च सीपयुक्त विदेशी कामदार ल्याउनका लागि उक्त भिसाको उपयोग गर्ने गरेका छन् ।
विहीबार दायर भएको मुद्दामा न्याय मन्त्रालयले फेसबुकद्वारा अमेरिकी नागरिकलाई भन्दा एचवान बी भिसा प्राप्त गरेका तथा अन्य अस्थायी कामदारहरुलाई सहज हुनेगरी नियतबस आफ्नो भर्ना प्रणाली सिर्जना गरिएको दाबी गरिएको छ ।
फेसबुकको कर्मचारी भर्ना प्रणालीको दुई वर्षसम्म अनुसन्धान गरेपश्चात् मुद्दा दायर गरिएको न्याय मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको नागरिक अधिकार महाशाखाका सहायक महान्यायाधिवक्ता इरिक एस द्राइब्याण्डले भनेका छन्, ‘यदि कम्पनीहरुले अस्थायी भिसा लिएका मानिसहरुलाई अवैधानिक रुपमा प्राथमिकता दिनेगरी अन्यलाई रोजगारीको अवसरमा अस्विकार गर्दछन् भने त्यस्ता कम्पनीहरुलाई हामी जवाफदेही बनाउँदछौँ ।’
अमेरिकी नागरिकलाई भन्दा अस्थायी भिसाधारीहरुलाई रोजगारीमा प्राथमिकता दिनेगरी भर्ना प्रणाली अबलम्बन गर्नु अवैध हुने भन्दै उनले प्रविधि क्षेत्र लगायतका सबै रोजगारदाताहरुलाई जवाफदेही बनाइने बताए ।
–बीबीसी
प्रतिक्रिया 4