+
+

तीन पटक ‘बैंक अफ दि इयर’ कसरी बन्यो एनएमबि बैंक ?

सीईओ भन्छन्– हाम्रो जिम्मेवारी थप बढेको छ

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २२ गते १०:१७
एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी

२२ मंसिर, काठमाडौं । एनएमबि बैंक लण्डनस्थित दि फाइनान्सियल टाइम्सको ‘दि बैंकर्स बैंक अफ दि इयर २०२०’ अवार्डबाट सम्मानित भएको छ । बैंकले नेपालकै सर्वोत्कृष्ट बैंकको रुपमा यो अवार्ड प्राप्त गरेको हो । यो सम्मान बैंकले चार वर्षमा तेस्रोपटक प्राप्त गरेको हो ।

यो अवार्ड यसअघि नेपालका अन्य बैंकहरुले पनि पाएका छन् । एनएमबि भन्दा पहिले धेरै पटक पाउनेमा नेपाल इन्भेष्टमेन्ट बैंक र नविल बैंक छन् । हरेक वर्ष यस्तो अवार्ड ल्याउने दि फाइनान्सियल टाइम्स समाचार म्यागेजिन हो । यो म्यागेजिनले बैंकको वित्तीय क्षमता प्रदर्शन, शेयरधनीलाई दिइने प्रतिफल, ग्राहकहरुको हितका लागि गरिने पहलजस्ता विभिन्न मापदण्डहरुबाट मूल्यांकन गरी ‘बैंक अफ दि इयर’ घोषणा गर्दछ ।

अन्तर्राष्ट्रिय प्रेस जगतमा ख्याति प्राप्त दि फाइनान्सियल टाइम्स लण्डनमा अवस्थित एक अग्रणी समाचार संस्था हो । यसै संस्थाले विश्वको अर्थ तथा वित्तसम्बन्धी खोज तथा यथार्थमा आधारित निर्णायक समाचार सम्प्रेषण गर्नका निमित्त दि ब्यांकर म्यागेजिन विगत ९५ वर्षदेखि निरन्तर प्रकाशित गरिरहेको छ ।

विश्वभरिका बैंक तथा वित्तीय क्षेत्रले दि ब्यांकर म्यागेजिनद्वारा प्रकाशित समाचार तथा सूचनाको आधारमा महत्वपूर्ण निर्णयहरु लिने गर्दछन् । यस अर्थमा भन्नुपर्दा दि ब्यांकर म्यागेजिन विश्व वित्तीय क्षेत्रको लागि सबैभन्दा भरोसा गरिने समाचारको श्रोत हो ।

दि ब्यांकर म्यागेजिनले प्रत्येक वर्ष विश्वभरिका वित्त संस्थाहरुलाई विभिन्न मापदण्डका आधारमा मूल्यांकन गरी बैंक अफ दि इयर उपाधिबाट राष्ट्रिय, क्षेत्रीय तथा समग्रमै सबैभन्दा उत्कृष्ट बैंकको रुपमा सम्मान गर्ने गरेको छ । बैंक अफ दि इयर उपाधिका लागि छनौट प्रकृया निकै नै जटिल भएतापनि पारदर्शी हुने बताइन्छ । यसैकारण पनि यो उपाधि वित्त सेवामा समर्पित संसारभरिका वित्तीय संस्थाहरुका लागि सबैभन्दा गौरवशाली र प्रतिष्ठित उपाधिको रुपमा लिइने गरिन्छ ।

संस्थागत सुशासन, शेयरधनीहरुलाई दिइने प्रतिफल, गुणस्तरीय सेवाका लागि गरिएका ग्राहकमुखी पहलहरु, बैंकिङ प्रकृयालाई परिस्कृत गर्न र छरितो बनाउन उठाइएका नवीनतम डिजिटल सेवा तथा अभियानहरु, समाज तथा पर्यावरणको सुरक्षा तथा उत्थानका लागि गरिएका प्रयासहरु, सबल वित्त प्रदर्शन, उत्पादनमुलक तथा दिगो क्षेत्रमा लगानी लगायतका विभिन्न मापदण्डहरुको प्रयोग गरी छानिने बैंक अफ दि इयरको सम्मानले उपाधि जित्न सफल बैंकको उचित कार्यसम्पादन तथा समग्र व्यवस्थापनको मूल्यांकन गर्दछ ।

यस वर्ष बैंक अफ दि इयरमा पर्न सफल विभिन्न राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बैंकहरु आफैंमा निकै नै गरिमामयी वित्तीय संस्थाहरु हुन् जसले बैंकिङ क्षेत्रको सुदृढताका लागि मात्र नभई समाज, देश र समग्र विश्वजगतको हितका लागि निरन्तर काम गरिरहेका छन् ।

यस वर्ष बैंक अफ दि इयर २०२० को उपाधिबाट एसिया प्यासिफिक तथा समग्र विश्वमै दक्षिण कोरियाका वोरी बैंक उत्कृष्ट बैंक भएको छ भने मध्य तथा पूर्वी यूरोप क्षेत्रबाट राइफेइसन बैंक, पश्चिम यूरोप क्षेत्रबाट इन्टेसा सानपावलो, अमेरिका क्षेत्रबाट सन्टेनडर, मध्य पूर्वी क्षेत्रबाट इमिरेट्स एनबीडी, अफ्रिकाबाट इको बैंक जस्ता प्रगतिशील एवं भविष्यउन्मुख बैंकहरु सम्मानित भएका छन् ।

हामी सूचना प्रविधि सुरक्षामा आईएसओबाट प्रमाणित एकमात्रै बैंक हौं । यसले पनि हामीलाई पृथक किसिमको बैंकको रुपमा उभ्याउन सजिलो भएको छ

यसैगरी वित्तीय समावेशीकरण, कोभिड संकटमा ग्राहक तथा समाजको वित्तीय आवश्यकतालाई सहजीकरण गर्न चालिएका कदम, र अन्य वित्तीय तथा गैर–वित्तीय परिसूचकहरुका आधारमा विभिन्न राष्ट्रहरुमा क्रियाशिल बैंकहरुलाई पनि बैंक अफ दि इयर २०२० को वित्तीय क्षैत्रकै सबैभन्दा गौरवशाली उपाधिबाट सम्मान गरिएको छ । यहि सम्मानबाट एनएमबि बैंक पनि नेपालकै उत्कृष्ट बैंकको रुपमा सम्मानित भएको हो ।

‘ग्राहकको विश्वास र नियामकको असल नियमनको प्रतिफल’

एनएमबिले कसरी चार वर्षमा तीन पटक बैंक अफ दि इयर अवार्ड पायो ? बैंकप्रति ग्राहकको सेवा, बैंकले प्रदान गर्ने सेवा र नियामक निकाय केन्द्रीय बैंकको कुशल नियमनका कारण बैंक आज यो स्थानमा पुग्न सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी बताउँछन् । उनले यो अवार्डले बैंकलाई थप जिम्मेवार बनाएको बताए । ग्राहकको विश्वास र नियामकको सहयोगका कारण सफल बन्दै गएको बताएका सीईओ केसीले देशभित्रबाट मात्रै होइन बाहिरबाट पनि पुँजी ल्याएर देशको अर्थतन्त्रलाई कसरी सकारात्मक सहयोग गर्न सक्छौं भन्ने आफूहरुले सोचिरहेको उनले सुनाए । अनलाइनखबरसँगको कुराकानीमा सीईओ केसीले राखेको धारणा ः

२०१७, २०१८ र २०२० मा गरेर हामीले तेस्रो पटक यो अवार्ड हात पार्न सफल भएका छौं । यो हाम्रो लागि खुसीको कुरा हो । हामीले जुन काम गरिरहेका छौं, नेपालमा एकदमै फरक छ । यो अवार्डले हाम्रो कामलाई थप प्रोत्साहन गरेको छ । अझै फरक किसिमले कसरी काम गर्ने भन्ने हाम्रो थप जिम्बेवारी थपिएको छ । बैंक कुन साइजको ? नाफा कति छ ? भन्दा पनि समग्रमा बैंकले कसरी काम गरिरहेको छ, अर्थतन्त्रलाई नै सहयोग पुग्ने गरी कसरी काम भइरहेको छ, यो अवार्ड पाउनका लागि आवश्यक कुरा हो भन्ने लाग्छ ।

यो अवार्ड पाउने बैंकलाई स्वदेशमामात्रै नभएर भोलिका दिनमा विश्वमै भोलिका दिनमा सहयोग पुग्छ । अन्तर्राष्ट्रिय स्तरबाट यसले सहयोग पुर्याउँछ । अब यो अवार्ड हामीले किन पायौँ भन्ने जुन जिज्ञासा छ, त्यसको उत्तर बैंकको राम्रो अवस्था नै हो ।

यो वर्ष कोरोना भाइरसको महामारीका कारण देशमामात्रै नभएर विश्वमै अप्ठेरो परिस्थिति सिर्जना भयो । यो सबैका लागि एउटा चुनौती थियो । यस्तो महामारीका बेला पनि विजनेशमा निरन्तरता दिनका लागि कर्मचारी व्यवस्थापन सँगसँगै अप्ठेरोमा परेका ग्राहकलाई हामीले सहयोग गर्न सक्यौँ । माइक्रो लेभलका ग्राहकहरुलाई पनि हामीले रिभाइस गराउन सक्यौं । यस वर्ष यो अवार्ड पाउनुको मुख्य कारण भनेको यहि हो ।

अप्ठेरो परिस्थितिमा पनि व्यवसायिक निरन्तरता योजना अनुसार राम्रोसँग काम गर्न सक्यौं यो अर्को कारण हो । यस्तै परिस्थिति भइरहँदा पनि हामी कोरोना महामारीकै बिच राम्रै विकास बैंकलाई एक्विजिशन गर्यौं । यसले के देखाउँछ भने एनएमबि बैंक साना तथा मझौला उद्यम व्यवसायमा पनि आफ्नो सेवा विस्तार गर्न जुनसुकै परिस्थितिमा पनि लागिपरेको छ ।

एनएमबिलाई हेर्ने हो भने नेपाली बैंकिङ क्षेत्रमा कमर्सियल बैंक भएर पनि अन्यभन्दा फरक किसिमले ग्राहकलाई सेवा सुविधा दिँदै आएको छ । अप्ठेरो परिस्थितिमा पनि हाम्रो बैंकका मुख्य परिसूचकहरु एकदमै राम्रा देखिएका छन् । एनएमबिले यो पछिल्लो ३/४ वर्षमा जुन किसिमले शाखा विस्तार गरेर सेवा दिइरहेको छ यो पनि अवार्ड पाउन सक्ने अर्को कारक हो ।

आजको दिनमा विदेशी बैंक तथा वित्तीय संस्थाहरुले पनि मन पराएको बैंक एनएमबि हो । विश्वास गरिएको बैंकमा हामी पर्छौं । मुलुकको अर्थतन्त्रका लागि हामीले सकारात्मक काम गरेका छौं भन्ने लाग्छ ।

अर्को कुरा हामी सूचना प्रविधि सुरक्षामा आईएसओबाट प्रमाणित एकमात्रै बैंक हौं । यसले पनि हामीलाई पृथक किसिमको बैंकको रुपमा उभ्याउन सजिलो भएको छ । हामीले नेपालमै पहिलो पटक एसएमएस, फेसबुक मेसेन्जर तथा भाइबरबाट खाता खोल्न सकिने व्यवस्था गर्यौं । हामीले नयाँ–नयाँ डिजिटल सुविधाहरु ल्यायौं । जस्तो– हामीले ओम्नी च्यानल भनेर नेपालमै पहिलोपटक लञ्च गरेका छौँ । लकडाउनका बेला पनि हामीले सहज तरिकाले बैंकिङ सुविधा दियौं । हामीले सहर केन्द्रितमात्रै नभएर गाउँगाउँसम्म लिएर गयौं । अहिले हामीसँग करिब १८० शाखा कार्यालयहरु छन् । जसले नेपाललाई आत्मनिर्भर बनाउन सहयोग पुर्याउँछ त्यस क्षेत्रमा हामीले लगानी बढाइरहेका छौं । जस्तो– इनर्जी सेक्टर भयो । भोलिका दिनमा व्यापारघाटा घटाउन सहयोग पुर्याउने क्षेत्रमा हामीले लगानी गरेका छौं ।

ग्राहकले हामीलाई जुन किसिमले विश्वास गर्नु भएको छ अनि हाम्रो रेगुलेटरले हामीलाई जुन किसिमले सपोर्ट गरिराख्नु भएको छ, यसकारण पनि हामी अघि बढिरहेका छौं । उहाँहरुकै कारण सफल भएकाले उहाँहरुप्रति हाम्रो जिम्मेवारी अझै थपिएको छ ।

बैंकले आफूलाई सबल तथा मजबुत बनाउन आफ्नो वासलातलाई सन्तुलित आकारमा विस्तार गर्दै देशका विभिन्न सहर तथा ग्रामीण भेगहरुमा शाखा सञ्चालन गरी १२ लाखभन्दा बढी ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । यसै क्रममा बैंकले आफ्नो कर्जा लगानीलाई नवीकरणीय ऊर्जा, कृषि, साना तथा मझौला व्यवसायहरुमा उल्लेख्य वृद्धि गर्दै आफूलाई फरक मूलधारको बैंकको रुपमा स्थापना गर्न सफल भएको छ ।

एनएमबि बैंक ‘ग्लोबल एलाइन्स फर बैंकिङ अन भ्यालु’ को नेपालमा एक मात्रै ‘क’ वर्गको सदस्य वाणिज्य बैंकको रुपमा रहनुका साथै नेपालमा दिगो मूल्य मान्यतामा आधारित बैंकिङ सेवाको प्रवर्द्धनमा लागिपरेको छ । यहीकारण बैंकलाई अन्तर्राष्ट्रिय संस्था पार्टनरसिप फर कार्वन एकाउन्टिङ फाइनान्सियलको स्टेयरिङ कमिटीको सदस्य बैंकको रुपमा एविएन, आम्रो, मोर्गन, स्ट्यान्लीजस्ता संसारकै उत्कृष्ट बैंकहरुका साथ साझा एजेन्डामा काम गर्ने मौका प्राप्त भएको छ ।

एनएमबि बैंक विदेशी लगानीकर्ता संस्थाहरुका लागि, नेपाली वित्त बजारमा लगानी गर्नका निम्ति सबैभन्दा बढी रुचाइएको बैंक हो । जसको फलस्वरुप कठिन समयमा पनि मुलुकभित्र उल्लेख्य वैदेशिक लगानी भित्राउन सफल भएका छौं । बैंकले नेपालमा वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन नीति लागू गर्न अग्रणी भूमिका निर्वाह गरिरहेको छ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?