२८ मंसिर, काठमाडौं । प्रिमियर लिग अन्तर्गत गएराति भएको म्यानचेष्टर डर्बी खेल बराबरीमा सकिएको छ । म्यानचेष्टर युनाइटेड र म्यानचेष्टर सिटीबीच ओल्ड ट्राफोर्डमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।
खेलमा दुवै टोलीले गोल गर्ने केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । ४९ औं मिनेटमा युनाइटेडले पेनाल्टीको अवसर पाएको थियो । सिटीका केल वाल्करले मार्कसु रासफोर्डलाई फाउल गरेपछि युनाइटेडले पेनाल्टी पायो । तर भिएआर रेफ्रीले त्यस निर्णयलाई उल्टाइदियो ।
बराबरीपछि युनाइटेड २० अंकसहित आठौं स्थानमा छ भने १९ अंक जोडेको सिटी नवौं स्थानमा छ । दुवै टिमले समान ११ खेल खेलेका छन् ।
यस्तै अर्को खेलमा चेल्सीलाई १-० ले पराजित गर्दै एभरटन सातौं स्थानमा उक्लेको छ । जिल्फी सिगुर्सनले गरेको एक मात्र पेनाल्टी गोल मद्दतमा एभरटनले खेल जित्दै ३ अंक जोडेको हो । २५औं मिनेटमा चेल्सीका गोलकिपर एडुअर्डो मेन्डीले काल्भर्ट लेविनलाई पेनाल्टी एरियामा फाउल गरेपछि एभरटनले पेनाल्टी पाएको थियो ।
जितपछि १२ खेलबाट युनाइटेड समान २० अंक भए पनि एभरटन गोल अन्तरमा अघि छ । पराजित चेल्सीले भने शीर्ष स्थानमा पुग्ने मौका गुमायो । १२ खेलबाट २२ अंकसहित चेल्सी तेस्रो स्थानमै छ । ११ खेलबाट समान २४ अंक जोडेको टोटनहम र लिभरपुल क्रमश: पहिलो र दोस्रो स्थानमा छ ।
प्रतिक्रिया 4