Comments Add Comment

एलपीएलको उपाधिका लागि जाफ्ना र गाल्ले भिड्ने

३० मंसिर, काठमाडौं । श्रीलंकामा भइरहेको पहिलो संस्करणको लंका प्रिमियर लिग (एलपीएल) टी-२० क्रिकेटको उपाधिका लागि जाफ्ना स्टालियन्स र गाल्ले ग्लाडिएटर्स भिड्ने भएका छन् । सोमबार भएको दोस्रो सेमिफाइनलमा दम्बुलाई भाइकिंग्सलाई पराजित गर्दै जाफ्नाले गाल्लेसँग उपाधि भेट पक्का गरेको हो ।

लिगमा चौथो भएको गाल्लेले लिगको शीर्ष स्थानमा रहेको कोलोम्बो किंग्सलाई पहिलो सेमिफाइनलमा पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । यस्तै लिगमा तेस्रो भएको जाफ्नाले अर्को सेमिफाइनलमा दोस्रो स्थानको दम्बुलालाई ३७ रनले पराजित गरेको हो । लिगको शीर्ष दुई टोली भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

हमबानटोटास्थित महिन्दा राजापाक्ष अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको जाफ्नाले जोनसन चार्ल्सको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको थियो । १६६ रनको लक्ष्य पछ्याएको दम्बुला जाफ्नाको उत्कृष्ट बलिङ पछि १९.१ ओभरमा १२८ रनमै अलआउट भयो ।

दम्बुलाका लागि उपुल थरंगाले सर्वाधिक ३३, विकेटकिपर निरोसान डिकवेलाले २९, रमेश मेन्डिसले २६ र ओपनर समित पटेलले १० रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

दम्बुलालाई अलआउट गर्न जाफ्नाका लागि वानिन्दु हसारंगाले ४ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । यस्तै धनन्जय दा शिल्भा, सुरंगा लकमल, चरिथा असालंका, डुआने ओलिभर र चतुरंगा दा शिल्भाले समान एक विकेट लिए ।

त्यसअघि जोहनसन चार्ल्सले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि जाफ्नाले १६५ रन बनाएको थियो । चार्ल्सले ५६ बल खेल्दै १० चौका र १ छक्का मद्दतमा सर्वाधिक ७६ रन बनाए । यस्तै आभिस्का फर्नान्डोले ३९, वानिन्दु हसारंगाले १४ र चरिथा असालंकाले १० रन जोडे । बलिङमा दम्बुलाका मलिन्दा पुग्पकुरमाराले २ विकेट लिए ।

जाफ्ना र गाल्लेबीचको फाइनल खेल बुधबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment