Comments Add Comment
सरकारले ल्यायो नयाँ अध्यादेश :

प्रधानमन्त्रीसहित ३ जनाकै उपस्थितिमा संवैधानिक परिषद बैठक

३० मंसिर, काठमाडौं । सरकारले प्रधानमन्त्रीसहित तीन जनाको उपस्थितिमा संवैधानिक परिषदको बैठक गर्न सक्ने गरी अध्यादेश ल्याएको छ । अध्यादेशसँगै मंगलबार साँझ परिषदको बैठक बसेको छ ।

संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन २०६६ ले परिषदको बैठक बस्न अध्यक्ष र कम्तीमा चार सदस्य सहभागी हुनुपर्ने साविकको व्यवस्था थियो । तर सरकारको सिफारिसमा अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भए परिषदको बैठकका लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्थासहित राष्ट्रपतिबाट नयाँ अध्यादेश जारी भएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश र उपसभामुख सदस्य रहने व्यवस्था थियो ।

हाल उपसभामुख पद रिक्त छ । अब परिषदमा अध्यक्षसहित तीन जना सदस्य उपस्थित भएमा बैठकका लागि गणपूरक संख्या पुगेको मानिनेछ ।

जवकी साविकको व्यवस्थाअनुसार अध्यक्ष र कम्तीमा ४ जना सदस्यहरु उपस्थित भएमा मात्र बैठकको लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था थियो । यो व्यवस्थाअनुसार हाल परिषद बैठक बस्नका लागि सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख विपक्षी दलका नेता सबै उपस्थित हुनैपर्थ्यो ।

मंसिर २८ गते बोलाएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित भएका थिएनन् । मंगलबार विहान बोलाएको बैठकमा देउवा गए तर सभामुख अनुपस्थित भए ।

सभामुखको अनुपस्थितिका कारण संवैधानिक परिषदको बैठक बस्न नसकेको एकाध घण्टामै राष्ट्रपति कार्यालयबाट परिषदमा बहाल सदस्यको बहुमत उपस्थित भएमा बैठक बस्न सहज हुने गरी अध्यादेश आएको छ ।

अध्यादेशले परिषदको निर्णयसम्बन्धी व्यवस्थामा पनि संशोधन गरेको छ । अब परिषदले अध्यक्षसहित तत्काल बहाल रहेको सदस्यको बहुमत अर्थात प्रधानमन्त्रीसहित ३ जना सहमत भएमा निर्णय गर्न सक्नेछ ।

यसअघि परिषदसम्बन्धी ऐनमा पेश भएका प्रत्येक विषयको निर्णय सर्वसम्मतिको आधारमा हुनुपर्ने व्यवस्था थियो । सर्वसम्मति कायम हुन नसकेमा सो विषयमा निर्णय गर्न अध्यक्षले पुनः अर्को बैठक बोलाउनुपर्ने व्यवस्था थियो । दोस्रो बैठकबाट पनि निर्णय हुन नसकेमा बहुमतीय प्रक्रियाबाट निर्णय गर्न सक्ने प्रावधान थियो ।

तीन जनाको उपस्थितिमा परिषद बैठक 

नयाँ अध्यादेश आएसँगै मंगलबार साँझ परिषद्को बैठक बसेको छ । बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष ओलीका साथै प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना सहभागी भए । विपक्षी दलका नेता कांग्रेस सभापति देउवा र सभामुख सापकोटा सहभागी भएनन् ।

बैठकमा संवैधानिक निकायहरुमा रिक्त पदमा पदपूर्तिबारे छलफल भएको राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले बताएका छन् । ‘आज नामहरुमा छलफल भयो । त्यसको फाइनल भोलि मात्र ल्याउने कुरा भएको छ, उनले भनेका छन् ।

 

हेर्नुहोस् अध्यादेशमा के छ ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment