+

मेस्सी-रोनाल्डोलाई पन्छाउँदै सर्वोत्कृष्ट बनेका लेवान्डोस्कीको यस्तो छ संघर्ष कथा

२०७७ पुष  ३ गते १९:०४ २०७७ पुष ३ गते १९:०४
मेस्सी-रोनाल्डोलाई पन्छाउँदै सर्वोत्कृष्ट बनेका लेवान्डोस्कीको यस्तो छ संघर्ष कथा

३ पुस, काठमाडौं । कोरोना भाइरस महामारीका कारण २०२० को बालोन डे ओर अवार्ड रद्द भएपछि रोबर्ट लेवान्डोस्कीले आफ्नो निराशा लुकाउन सकेनन् । तर अन्ततः फिफा अवार्डमा उत्कृष्ट पुरुष खेलाडी छानिएपछि उनको खुशी फर्केको छ ।

लिओनल मेस्सी र क्रिस्टियानो रोनाल्डोसहित अन्तिम तीनको मनोनयनमा परेका लेवान्डोस्की शीर्ष स्थान हासिल गर्नेमा स्पष्ट जस्तै थिए । किन उनी नहुने ? उनको दावेदारी बाध्यकारीजस्तै थियो ।

गत सिजनमा उनले ४७ खेलमा ५५ गोल गरे । तीन प्रतियोगितामा सर्वाधिक गोलकर्ता रहे, बुण्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिगमा । च्याम्पियन्स लिगमा लिओनल मेस्सी (११८) र क्रिस्टियानो रोनाल्डो (१३४) ले मात्र लेवान्डोस्की (७१) भन्दा धेरै गोल गरेका छन् ।

बायर्नले युइएफए सुपर कप र जर्मन सुपर कप पनि जित्यो । र, यी सबै जितको मुटुमा यी स्ट्राइकर थिए । अहिले कसैले पनि उनको क्षमतामा शंका गर्दैनन्, तर विगतमा उनले आफू यो स्थानमा पुग्ने सोचेकै थिएनन् । किशोरावस्थामा र्फकँदा उनी व्यवसायिक खेलाडी नबन्ने उच्च सम्भावना थियो ।

लेवान्डोस्की १७ वर्षको छँदा सन् २००५ मा उनका पिता किगिस्टोफको निधन भयो, जो जुडोका जुनियर युरोपियन च्याम्पियन थिए । त्यसबेला रोवर्ट सानो फोर्थ डिभिजन क्लब डेल्टा बार्साबाट पोल्याण्डकै उत्कृष्ट टिम लेगी पुगेका थिए, जसले १४ लिग उपाधि जितेको छ । यो उनको करियरको एक महत्वपूर्ण खुड्किला मानिएको थियो र लेवान्डोस्की विस्तारै लेगिको रिजर्भमा नियमित बन्न थालेका थिए । तर घुँडाको चोटले उनको प्रगति रोकिदियो ।

जब उनी केही हप्ताको लागि बाहिरिए, लेगिले आफ्नो निर्णय गर्‍यो । लेवान्डोस्की उनीहरुको भावि योजनामा थिएनन् । त्यो समय लेगीले सोच्यो, उनीहरुसँग लेवान्डोस्की भन्दा राम्रो स्ट्राइकर । उनलाई क्लव नै छाड्न भनियो ।

यो थाहा पाएपछि, उनकी आमा इवोनाले उनलाई घरमा लगिन् । खाना बनाइदिइन् । तर व्यवसायिक सपना चकनाचूर भएर उदासिन लेवान्डोस्की खाना खान चाहँदैनथे ।

भाग्यवस, उनलाई तेस्रो डिभिजन टीम जिन्ज प्रुस्कोबाट कल आयो । सो क्लब सँधै थोरै पैसामा खेलाडीहरू किन्ने, तिनीहरूलाई सुधार गर्ने र उनीहरूलाई बेच्ने कुरामा अभ्यस्त थियो । जिन्जका पूर्वअध्यक्ष मारेक स्लिविन्स्कीले लेवान्डोस्की उनीहरूको ‘सुनको माछा’ हुन् भनेका थिए । लेगिबाट उनलाई किन्नको लागि तिनीहरूले केवल १,००० डलर तिरे ।

सुरुमा, उनी जिन्जका ठूलो स्टार थिएनन् । उनले प्रति महिना लगभग २३० पाउण्ड कमाउँथे भने त्यहाँ अरु उनले भन्दा तीन गुणा बढी कमाउँथे । यद्यपि उनले छिट्टै आफूलाई स्थापित गरे । उनले एउटा घर भेट्टाएका थिए ।

आफ्नो पहिलो सिजनमा उनले १५ गोल गर्दै पु्रस्कोलाई बढुवा गराउन मद्दत गरे । दोस्रो डिभिजनमा पनि उनले गोल गरिरहे । डिसेम्बर २००७ मा जासेक ग्रेमबोकी प्रशिक्षक बने ।

‘पुस्को एउटा राम्रो टोली थियो र त्यस टिमका ५ खेलाडीले पोल्याण्डको टप टिम एकस्ट्राक्लसामा स्थान बनाए,’ ग्रेमबोकीले बीबीसीसँग भने, ‘तर लेवान्डोस्की एक विशिष्ट प्रतिभा थिए, जोसँग सबैथोक थियो । उनी कडा मेहनति, प्राविधिक र छरिता थिए ।’

घुँडाको चोटपछि सम्भवत उनले लेगीमा कुनै सम्भावना छैन भन्ने महसुस गरे । त्यसैले उनले कडा मेहनत गरे । र, प्रुस्कोले आफ्नो सुपरस्टार पायो ।

दुई महिनापछि, ग्रेमबोकी उनको क्षमतामा विश्वस्त भए । प्रुस्कोले एकेस्ट्रक्लस टिम एलकेएस लोड्जसँग मैत्रीपूर्ण खेल खेल्यो । लेवान्डोस्कीलाई अनुभवी क्रोएशियाली डिफेन्डर इभान उडारेभिकको विरूद्ध राखिएको थियो । उनी पिचका सर्वश्रेष्ठ खेलाडी थिए ।

‘मैले पोल्याण्डका लागि सात खेल खेलेँ, त्यसैले मैले सोचे कि उसलाई राष्ट्रिय टिममा प्रवेश गर्न कुनै समस्या हुने छैन । तर निश्चय पनि बायर्न ? ओह, त्यो गाह्रो हुनेछ । अब, लेवान्डोस्की युरोपका सर्वश्रेष्ठ खेलाडी हुन् । उनले मलाई धेरै आनन्द दिए,’ ग्रेमबोकी भन्छन् ।

‘लेगीले ठूलो गल्ती गर्‍यो । उनीहरूले रोबर्टलाई राम्रो मान्छे भने तर उनीभन्दा अरु राम्रो स्ट्राइकर भएको सोचे । मैले लेवेन्डोस्कीलाई दुई महिना प्रशिक्षण दिएँ र उनी राष्ट्रिय टोलीका खेलाडी बन्न सक्छन् भन्ने देखेँ । लेगीका कसैले पनि यस्तो देखेनन् ।’

ग्रेम्बोकीको मातहतमा लेवान्डोस्कीले २१ गोल गरे । जसले गर्दा प्रुस्को टप डिभिजनको आश्चर्यजनक दाबेदार बन्यो । थोरै अन्तरले उनीहरु बढुवा हुन सकेनन् । शीर्ष क्लबमा खेल्नका लागि लवान्डोस्कीसँग सबै कुरा थियो ।

सन् २००८ मा लेगीले दोस्रो मौका पायो । उनीहरुले लेवान्डोस्कीलाई फेरि गुमाए । उनीहरु स्ट्राइकर पोजिसनलाई बलियो बनाउन चाहन्थे तर लेवान्डोस्कीभन्दा सिडी टेनेरिफबाट मिकेल अरुबारेनालाई रोजे । जबकी अरुबारेनाले लेगिका लागि कहिल्यै गोल गरेनन् । लेवान्डोस्की लेच पोजनानमा स्टार बने । पोजनान लेगीको प्रतिस्पर्धी थियो । लेचले लेवान्डोस्कीका लागि पु्रस्कोलाई करिब ३ लाख पाउण्ड खर्चेको थियो ।

त्यतिबेला लेचका कप्तान रहेका बार्तोस बोसाकी भन्छन्, ‘म लेवान्डोस्कीको पहिलो ट्रेनिङ सेसन सम्झन्छु । सबै खेलाडीले उनी राम्रो भएको माने । ट्रेनिङ गेममा उनले कोलम्बियन डिफेण्डर मानुएल बर्बोलेडाविरुद्ध खेले, जो इक्स्ट्राक्लाका बलिया खेलाडी थिए । यद्यपि रोबर्ट डराएनन् ।’

‘रोबर्ट एथ्लेटिक म्यान हुन् । उनी पहिला पातला थिए । त्यसैले धेरै व्यक्तिले उनलाई एक्स्ट्रक्लासमा शारीरिक समस्या हुन सक्छ भन्ने सोचे । त्यो प्रशिक्षण सेसनपछि हामीलाई थाहा थियो कि उनी राम्रो हुन्छन् ।’

लेवान्डोस्कीका लागि नम्बर ९ पोजिसनमा पेरुभियन स्ट्राइकर हर्नान रेनगिफोसँग कडा प्रतिस्पर्धा थियो ।

‘प्रशिक्षक फ्रान्सिसेक स्मुडाले रोबर्टलाई खेलाउँदा देब्रे वा दायाँ मिडफिल्डरको रूपमा छनौट गर्थे । तर केही महिनापछि अर्का प्रशिक्षक ज्यासेक जिलिन्स्कीले उनलाई सेन्टर फरवार्डको रूपमा खेलाउन शुरू गरे र रोबर्ट निकै प्रभावशाली भए,’ बोसाकी भन्छन् ।

२००९-१० को सिजनमा लेवान्डोस्कीले १८ गोल गर्दै लेचलाई लिगको उपाधि दिलाउन मद्दत गरे ।

‘जब उनी पहिलोपटक ड्रेसिङ रुममा आए, उनी शान्त थिए । तर मैदानमा अत्यन्त आत्मविश्वासी । उनलाई आफ्नो लक्ष्य थाहा थियो,’ बोसाकीले थपे ।

२००९-१० को पोलिस शीर्ष लिगमा उनी सर्वाधिक गोलकर्ता बने । पोल्याण्डमा प्रशिक्षक लिओ बिनहाकरले उनलाई राष्ट्रिय टिममा बोलाए र सान मारिनोविरुद्ध अन्तर्राष्ट्रिय खेलमा डेब्यु गराए । सायद अवश्यम्भावीरुपमा, उनले गोल गरे । बोसाकीले पोल्याण्डको एउटा प्रशिक्षण सेसन सम्झना गरे ।

‘मैले रोबर्टको विरूद्ध खेलेँ । त्यसमा उनलाई रोक्न ठूलो समस्या थियो । प्रशिक्षणपछि मैले बीनहृयाकरसँग कुरा गरेँ । उसले मलाई भन्यो, ‘उ निकै राम्रो छ’ । मैले जवाफ दिएँ, ‘म खुशी छु उसँग एकै टोलीमा खेल्दा ।’

पोजनानमा दुई वर्ष बिताएपछि उनी विदेशी लिगमा जाने चाहन्थे । त्यतिबेला ब्ल्याकबर्न रोभर्स उनका लागि इच्छुक थियो । यद्यपि इजेन्डजल्लालाजोकुल्ल नामक आइसल्याण्डिक ज्वालामुखीका कारण युरोपको वैदेशिक फ्लाइटहरु रोकियो र लेवान्डोस्की इंग्ल्याण्ड गएनन् । अन्त्यमा, बोरुसिया डर्टमण्डले उनलाई ४.५ मिलियन पाउण्ड कममा किन्यो ।

लेवान्डोस्कीले चार वर्ष डर्टमण्डमा खेल्दा १०३ गोल गरे । डर्टमण्डमा उनले लेचको जस्तै समान समस्या बेहोरे । पाराग्वियन स्ट्राइकर लुकास बारिओस स्ट्राइकिङ पोजिसनमा प्रशिक्षक योर्गन क्लोपको पहिलो च्वाइस थिए । यसले गर्दा लेवान्डोस्कीले आफ्नो पोजसिनभन्दा बाहिर खेल्नुपथ्र्यो । क्लोपले उनलाई अट्याकको सेन्टरमा सिफ्ट गरेपछि लेवान्डोस्की टिमको स्टार बने ।
‘डर्टमण्डमा सबै कुरा परिवर्तन भयो । उनको लागि त्यो महत्वपूर्ण मुभ थियो,’ बोसाकीले भने ।

त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेरेनन् । सन् २०१२-१३ को च्याम्पियन्स लिग सेमिफाइनलमा उनले रियल मड्रिडविरुद्ध ४ गोल गरे । एक वर्षपछि उनी बायर्नमा पुगे । जहाँ उनले धेरै उपलब्धि हात पारे । जसमध्ये सन् २०१५ को बुण्डेसलिगामा वल्फ्सवर्गविरुद्ध उनले ९ मिनेटमा ५ गोल गरे ।

‘उनले परिवार र श्रीमतीबाट ठुलो साथ पाएका छन् । लेवान्डोस्की जस्ता खेलाडीले एउटै विषयमा मात्र सोच्न सक्छन्, सफलता, सफलता र सफलता । अहिले उनी पोल्याण्डको लागि मात्र खेल्दैनन् बायर्नका लागि पनि खेल्छन् । र उनी मेसी र रोनाल्डो जस्तै लिजेण्ड बनेका छन्,’ ग्रेम्बोकीले थपे ।

लेवान्डोस्कीले राष्ट्रिय टिमका लागि ११६ खेल खेल्दै ६३ गोल गरेका छन् ।

‘उनी पोलिस फुटबलको इतिहासमै उत्कृष्ट खेलाडी हुन्,’ ग्रेम्बोकीले भने,’ ‘फुटबलका उत्कृष्टहरुको सुचीमा उनले आफ्नो स्थान पक्का गरेका छन् ।’

(बीबीसीबाट भावानुवाद)

मेस्सी रोनाल्डो लेवान्डोस्की

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय