Comments Add Comment

बूढानीलकण्ठ मन्दिर आजदेखि भक्तजनका लागि खुला

फाइल तस्वीर

५ पुस, काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि गत वर्ष चैत ११ गतेदेखि भक्तजनका लागि बन्द गरिएको बूढानीलकण्ठ नारायणस्थान मन्दिर पुस ५ गते आइतबारदेखि भक्तजनका लागि खुला गरिएको छ ।

कोरोना महामारीका कारण नौ महिनासम्म बन्द गरिएको मन्दिर आइतबारदेखि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गरिएको बूढानीलकण्ठ नारायणस्थान दशनामी मठका मठाधीश महन्त स्वामी निगमानन्दले जानकारी दिए ।

नौ महिनासम्म मन्दिर बन्द गरिए पनि नित्य पूजा, आरती भने नियमित भइरहेको थियो । मन्दिरमा चतुर्मासा, कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेला भने यस वर्ष कोरोनाका कारण स्थगित गरिएको थियो ।

बुढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु र शिव दुवै भगवान् रहेको धार्मिक विश्वास छ । ठूलो शिलामा जलमाथि भगवान् शयन गरेको अलौकिक मूर्ति विश्वमै अद्वितीय मानिन्छ । त्यसैले विश्वभर रहेको वैदिक सनातन धर्मावलम्बी मन्दिरको दर्शनका लागि बूढानीलकण्ठ आउने गरेका छन् ।

चैत ११ गतेदेखि नै बन्द रहेको पशुपतिनाथ मन्दिर पनि पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment