Comments Add Comment

ओलीले संसद विघटन गर्न पाउनुहुन्न : माधव नेपाल

५ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदमलाई असंवैधानिक एवं लोकतन्त्रविरोधी बताएका छन् ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद भंग गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि नेता नेपालले अनलाइनखबरसँग भने, ‘संसद विघटन गर्न उहाँले पाउनुहुन्न । यो पूरै असंवैधासनिक कदम हो । उहाँ पार्टीभित्र पनि अल्पमतमा हुनुहुन्छ । संसदमा पनि उहाँ अल्पमतमा हुनुहुन्छ ।’

पार्टीकै ९० जनाको हस्ताक्षरले प्रधानमन्त्री अल्पमतमा परेको स्पष्ट भएसकेको नेता नेपालले बताए । उनले भने, ‘सिंगो संसदभित्रका प्रतिपक्षी पार्टीहरू पनि उहाँको विपक्षमा छन् ।’

नेता नेपालले प्रधानमन्त्री ओलीको कदम राजनीतिक रूपमा पनि लोकतन्त्रविरोधी र निन्दनीय भएको बताए ।

‘राजनीतिक रूपमा पनि उहाँले अत्यन्तै लोकतन्त्रविरोधी कदम चाल्नुभएको ठहरिन्छ’ वरिष्ठ नेता नेपालले भने, ‘पार्टीभित्र पनि पार्टी निर्णय र पद्धति विरुद्ध, कम्युनिस्ट पार्टीको मान्यताको विरुद्धमा उहाँ सर्वसत्तावादी ढंगले चल्नुभएको छ, उहाँको कदम अत्यन्तै निन्दनीय छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment