५ पुस, काठमाडौं । लिड्स युनाइटेडमाथि शानदार जित हात पार्दै म्यानचेष्टर युनाइटेड प्रिमियर लिगको तेस्रो स्थानमा उक्लेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले लिड्सलाई ६-२ ले पराजित गरेको हो ।
घरेलु मैदान ओल्ड ट्राफोर्टमा भएको खेलमा स्कट म्याटोमिनेले सुरुआती ३ मिनेटमै दुई गोल गर्दै कीर्तिमान बनाएका थिए । उनले पहिलो र तेस्रो मिनेटमा गोल गरेका थिए ।
ब्रुनो फर्नान्डेजले २०औं र भिक्टोर लिन्डेलोफले ३७औं मिनेटमा गोल गरेपछि युनाइटेडले चार गोलको अग्रता बनायो । ४१औं मिनेटमा लिड्सका लिएम कुपरले गोल फर्काए ।
दोस्रो हाफमा पनि युनाइटेडले दुई गोल थप्यो । ६६औं मिनेटमा ड्यानिएल जेम्स र ७०औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गरेपछि युनाइटेडले ६-१ को अग्रता बनाएको हो । ७३औं मिनेटमा लिड्सका लागि स्टुअर्ट डलासले दोस्रो गोल गरे ।
जितपछि युनाइटेड १३ खेलबाट २६ अंक जोड्दै तेस्रो स्थानमा उक्लेको छ । युनाइटेडले शीर्ष स्थानको लिभरपुलसँग अंकदुरी ४ मा झारेको छ । युनाइटेडले एक खेल कम खेलेको छ ।
प्रतिक्रिया 4