Comments Add Comment

पल्सर स्पोर्टस अवार्डको डिस मिडिया मुख्य सह-प्रायोजक

८ पुस, काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको मुख्य सह-प्रायोजकको रुपमा डिस मिडिया नेटवर्क लिमिटेड जोडिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार डिस मिडिया नेवकर्ट लिमिटेडसँग मुख्य सह-प्रायोजक सम्बन्धि सम्झौता गरेको हो ।

मञ्चका महासचिव प्रज्वल ओली र डिस मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्यले प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । मुख्य सह-प्रायोजकको रुपमा डिस मिडियाले अवार्ड कार्यक्रमलाई नगद र जिन्सी गरी ११ लाख रुपैयाँ बराबरको सह-प्रायोजन गर्नेछ ।

सम्झौता वापत डिस मिडियाले अवार्डका लागि ७ लाख नगद र ४ लाख बराबरको जिन्सी उपलब्ध गराउने छ ।  जिन्सीअनुसार डिस मिडियाले अवार्ड विजेता खेलाडीलाई १३ थान कनेक्सनको दुई वर्षको रिचार्जसहितको सेवा उपलब्ध गराउनेछ ।

यस्तै, २० जना मनोनयनमा परेका खेलाडीलाई २० थान डिस होम कनेक्सन एक वर्षको रिचार्जसहित र १३ थान सेट-अप बक्स दुई वर्षको रिचार्जसहित उपलब्ध हुने सम्झौता पत्रमा उल्लेख छ ।

सम्झौतापछि मञ्चका महासचिव ओलीले कठिन अवस्थामा हुन लागेको अवार्ड कार्यक्रममा डिस होमले गरेको प्रायोजनका लागि धन्यबाद ब्यक्त गरे ।

डिस मिडियाका प्रबन्ध निर्देशक आचार्यले अवार्डको निरन्तरता मुख्य विषय रहेको उल्लेख गर्दै कठिन अवस्थामा समेत आफू जोडिन पाउँदा खुसी लागेको बताए ।

खेल क्षेत्रबाट राष्ट्रलाई अतुलनीय योगदान गरेर देशको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलाडी, प्रशिक्षक, खेलकर्मी र संस्थालाई सम्मान गर्ने ‘पल्सर स्पोर्ट्स अवार्ड’ को १७औं संस्करण यस वर्ष पुस २८ गते आयोजना हुँदैछ ।

अवार्डअन्तर्गत गत हप्ता मात्र पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिएको थियो । सो विधामा पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र कराँतेका मण्डेकाजी श्रेष्ठ मनोनयनमा परेका छन् ।

मनोनयनमा परेका खेलाडीले आफ्नो क्याम्पेनिङ पनि सुरु गरिसकेका छन् । पिपल्स च्वाइस अवार्डको विजेताचयन ई-सेवाबाट भोटिङ, फेसबुक लाइक, आयोजक नेपाल खेलकुदपत्रकार मञ्चका सदस्यहरूको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा गरिनेछ । ई-सेवाबाट भोटिङ प्रक्रियासमेत सुरु भइसकेको आयोजकले जनाएको छ ।

वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र टिम अफ दी इयर अवार्डको घोषणा अवार्ड कार्यक्रमकै दिनगरिने मञ्चका महासचिव प्रज्वल ओलीले बताए ।

यसपटक एक अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि सम्मान गरिने मञ्चले जनाएको छ । अवार्डको मुख्य प्रायोजकको रुपमा हशंराज हुलास चन्द एण्ड कम्पनी रहेको छ ।

अवार्डलाई सह-प्रायोजनको रुपमा सूर्य नेपाल प्रालि, रुस्लान, कामारु ट्रेडिङ प्रालि (अन्तर्राष्ट्रिय ब्राण्ड केल्मीको आधिकारिक बिक्री वितरक केल्मी नेपाल), टर्किस एयरलाइन्स, रोयल सिंगीहोटल, होटल क्राउनप्लाजा, इमेजिङ, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीको समेत सहयोग रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment