
९ पुस, काठमाडौं । काठमाडौंको सुन्धारामा निर्माण भइरहेको धरहराको २० औं तलाको पुननिर्माणको काम सम्पन्न भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले २० औं तलामा बारदली बनाउने काम भइराखेको बताए ।
यही बारदलीबाट सर्वसाधारणले उपत्यका अवलोकन गर्न पाउनेछन् । धरहरा कुल २३ तलाको हुने पनि ज्ञवालीले जानकारी दिए । यस्तै धरहरा परिसरभित्र एक हजार भन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने तीन तलाको पार्किङ स्थल निर्माणको काम पनि द्रुत गतिमा भइरहेको सिइओ ज्ञवालीले बताए । त्यसबाहेक टक्सार संग्राहलय, भूकम्प संग्राहलय लगायतको संग्रहालय रहने भवनको निर्माण कार्यपनि तीब्र गतिमा भइराखेको छ ।
जमिनमुनिको दुई तलाबाट लिफ्ट प्रयोग गरी २० औं तलासम्म जान मिल्ने गरी तयार पारिएको ढाँचामा धरहराको पूनर्निर्माण भइरहेको छ । प्राधिकरणका सीइओ ज्ञवालीले यसै आर्थिक वर्ष भित्रैमा काम सम्पन्न गर्ने गरी निर्माण कार्य अगाडि बढेको बताए ।
आगामी असार मसान्तसम्म मूलभूत कामहरु सम्पन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरिने ज्ञवालीले बताए ।
प्राधिकरणको समयावधि आगामी वर्षको पुष १० गतेसम्म भएकाले आगामी असार मसान्त सम्म सबै क्षेत्रको पुनर्निर्माणको आधारभूत काम सम्पन्न गर्ने र बाँकी काम सम्बन्धित निकायलाई जिम्मा लगाउने बताए । असार मसान्तपछिको समय भने अहिलेसम्म प्राधिकरणले गरेका कामहरुको अडिट गर्न लाग्ने पनि सीइओ ज्ञवालीले बताए ।
धरहराको कुल लागत ३ अर्ब ४५ करोड रुपैयाँ छ । धरहराको कूल क्षेत्रफल ४२.२ रोपनी रहेको छ ।
प्रतिक्रिया 4