Comments Add Comment

वीरगञ्जमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन प्रहरीले रोक्यो

१० पुस, वीरगञ्ज । वीरगञ्जमा जनता समाजवादी पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको छ ।

जनता समाजवादी पार्टीले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्नु असंवैधानिक भन्दै आएको छ । त्यसैको विरोधमा चरणवद्ध आन्दोलनमा रहेको जसपाले शुक्रबार घण्टाघरमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्न लागेको थियो ।

पूर्वतयारीका साथ पुत्ला जलाउन जसपाका नेता कार्यकर्ता घण्टाघरमा भेला भएका थिए । पूर्व निर्धारित कार्यक्रम भएकोले सुरक्षाकर्मीको टोली पनि तैनाथ थियो ।

उनीहरुले प्रधानमन्त्रीको पुत्ला जलाउनेवित्तिकै प्रहरीले हस्तक्षेप गरेर निभाएको छ । प्रहरी हस्तक्षेप हुने अनुमान गरेका प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्रीको दुई÷दुई थान पुत्ला बनाएका थिए । पुत्ला दहनमा प्रहरी हस्तक्षेप अलोकतान्त्रिक कदम भएको जसपाका युवा नेता ओमप्रकाश सर्राफले बताए ।

‘शान्तिपूर्ण आन्दोलन गर्न पाउनु लोकतान्त्रिक अधिकार हो, तर प्रहरीमार्फत हस्तक्षेप गरेर सरकारले निरंकुशता प्रदर्शन गरेको छ’ उनले भने ‘सरकारको तानाशाही प्रवृत्ति देखिएको छ । शान्तिपूर्ण विरोध प्रदर्शन गर्न नपाउने हो भने जनआन्दोलनमार्फत व्यवस्था परिवर्तन गरेको के अर्थ भयो ।’

प्रहरीले हस्तक्षेप गरेपछि प्रदर्शनकारीले प्रहरीविरुद्ध पनि नाराबाजी गरेका थिए । प्रदर्शनमा सहभागी नेता कार्यकर्ताहरुले प्रधानमन्त्रीले लोकतन्त्रमाथि प्रहार गरेको बताएका छन् । उनीहरुले लोकतन्त्र, गणतन्त्र र संघीयताको रक्षाका लागि प्रदर्शन गर्नुपरेको बताएका छन् ।

संसद पुनर्स्थापना नभएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने जसपाले जनाएको छ । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख तथा जनता समाजवादी पार्टीका नेता विजयकुमार सरावगीले नयाँ संविधान कार्यान्वयनको चरणमै रहेको अवस्थामा प्रहार भएको बताए ।

एउटा पार्टीलाई बहुमत मिलेको अवस्थामा संसद विघटनको बाटो रोज्नु गलत कदम भएको उनको टिप्पणी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment