+
+

सडकमा प्रचण्ड र माधव : चक्रपथ घेराउदेखि माइतीघरसम्म !

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७७ पुष १० गते १८:४९

१० पुस, काठमाडौं । तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्ड २०६७ वैशाख १९ देखि २२ गतेसम्म माधव नेपाल नेतृत्वको सरकारविरुद्ध सडकमा ओर्लेका थिए । त्यसको करिब १० वर्षपछि उनी फेरि सडक आन्दोलनमा ओर्लिएका छन् । तर, माधव नेपाललाई पनि साथमा लिएर ।

तत्कालीन माओवादीले ६ दिने आम हडतालका क्रममा वैशाख २१ गते मानव हाते साङलोले राजधानीको चक्रपथ घेराउ गरेको थियो । प्रचण्डसहितका नेताहरु गाडी (मिनी ट्रक ) मा चढेर चक्रपथ घुमेका थिए । प्रचण्डसँगै थिए डा.बाबुराम भट्टराई, मोहन वैद्य लगायतका नेताहरु ।

प्रचण्ड बेलाबखत भन्ने गर्छन्, राजनीति सम्भावनाहरुको खेल हो । त्यही सम्भावनाको खेलले प्रचण्डलाई माधव नेपालसँग घनिष्ट मित्र बनाइदिएको छ । यो दश वर्षमा समय यसरी फेरियो कि माधव नेपालविरुद्ध आन्दोलन गर्ने उनै प्रचण्ड फेरि सडकमा माधव नेपाललाई नै लिएर आएका छन् ।

शुक्रबार माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा ‘हामी यहाँ छौं’ लेखिएका प्लेकार्ड शरीरमा लगाएर प्रचण्ड र माधव नेपालसँगसँगै बसेका थिए । साथमा अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि थिए ।

पूर्वप्रधानमन्त्री प्रचण्ड र माधव नेपाल सडकमा ओर्लिएको दृश्य हेरेर सामाजिक सञ्जालमा चर्चा–परिचर्चा व्यापक भएको छ । कसैले उनीहरुमाथि व्यंग्य गरेका छन् त कसैले राम्रो भएको बताएका छन् ।

चर्चित साहित्यकार खगेन्द्र संग्रौलाको टिप्प्णी छ, ‘यो दृश्य मलाई मनपर्‍यो । कम्निस्ट हुँ भन्न नछोडेका तर भुइँमान्छे र सडकलाई बिर्सेका नेताहरू सुट–टाई जखेरै भए पनि सडकको भुइँमा पलेँटी मारेर बसेछन !

माधव नेपाल उनै व्यक्ति हुन् जसले तत्कालीन माओवादी (प्रचण्ड) को सत्ता कब्जाको सपना तुहाइदिएका थिए । ०६७ वैशाखमा तत्कालीन माओवादीले नागरिक सर्वोच्चताका लागि, राष्ट्रिय सरकार गठनका लागि भन्दै सडक आन्दोलन गरेको थियो, जुन आन्दोलन असफलतामा गएर टुंगिएको थियो ।

त्यसो त माधव नेपाललाई चुनाव हारेर पनि पछि प्रचण्डकै प्रस्तावमा सांसद बनाइएको थियो । त्यसपछि उनी प्रधानमन्त्री पनि बने भने प्रचण्डचाहिँ उनैको सरकार ढाल्न सडकमा आए । चुनाव हारेको व्यक्तिलाई संविधानसभा सदस्य बनाएकोमा पछुतो लागेको भन्दै प्रचण्डले त्यसबेला भनेका थिए, ‘अमृत भनेर विषवृक्ष रोपिएछ ।’

पार्टी फुटेपछि एकै ठाउँ

प्रचण्ड र माधव नेपालको सहकार्य नेकपाको एकता भएका बेलामा भन्दा अहिले विभाजनपछि घनिभूत बनेको छ । पूर्वएमालेका प्रमुखसमेत भइसकेका नेपाल केपी ओलीलाई छाडेर प्रचण्डतर्फ नजिकएका छन् ।

ओलीलाई अध्यक्षबाट हटाइएपछि नेपाललाई अध्यक्ष बनाइएको छ । प्रचण्ड र माधव नेपाल दुवैजना अध्यक्ष बनेका छन् ।

प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईको भनाइलाई पत्याउने हो भने प्रचण्ड अब छिट्टै प्रधानमन्त्री बनेर बालुवाटार जाँदैछन् । प्रचण्ड–माधव समूहका नेताहरुको अगुवाइमा शुक्रबार माइतीघरदेखि निर्वाचन आयोगसम्म भएको प्रदर्शनलाई सम्बोधन गर्दै नेता भट्टराईले भने, ‘अब छिट्टै नै बालुवाटारमा प्रधानमन्त्री हाम्रो हुँदैछ ।’

आफूहरु सडकमा आइसकेको बताउँदै भट्टराईले थपे, ‘संसद पुनस्र्थापनाको घोषणा नहुँदासम्म र बालुवाटारमा हामीले चुनेको प्रधानमन्त्री नबस्दासम्म सडक छाड्ने छैनौं ।’

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?