१२ पुस दाङ । दाङको लमहीमा अवस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले लगातार दोस्रो जित हासिल गरेको छ ।
प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा लुम्बिनीले दिनको पहिलो खेलमा कर्णालीलाई ९ विकेटले पराजित गर्यो ।
खेलमा कर्णालीले प्रस्तुत गरेको ३५ रनको सामान्य विजयी लक्ष्यलाई लुम्बिनीले ३.१ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।
प्रतियोगितामा टिमलाई दोस्रो जित दिलाउने क्रममा ब्याटिङमा कप्तान नेरी थापाले ९ रन , सरस्वती घर्ती मगरले ३ रन र गिता घोसाइले ४ रन बनाएका थिए ।
त्यसअघि खराब मौसमका कारण १३ ओभरमा छोट्याइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले ६ विकेट गुमाउँदै ३४ रन बनाएको थियो ।
कर्णालीका लागि दीक्षा पुरीले सर्वाधिक ८ रनको योगदान दिइन् । मात्र ४ बलको सामना गरेकी उनले २ चौकासहित उक्त रन बनाएकी थिइन् ।
यस्तै टिमका लागि अन्शु शाक्य ७ रनमा अविजित रहिन् ।
बलिङतर्फ लुम्बिनीका लागि सुस्मिता भुषालले २ तथा सरिता जिसी र गिता घोसाईले पनि १-१ विकेट लिएका थिए ।
यो जितसँगै समूह ‘ए’ मा रहेको लुम्बिनी अंक तालिकामा ४ अंक जोडेको छ । यसअघि लुम्बिनीले प्रदेश २ लाई ९ विकेटले पराजित गरेको थियो । कर्णाली पहिलो खेलमा विभागीय टोली एपीएफसँग २ सय ४ रनले पराजित हुन पुगेको थियो ।
प्रतिक्रिया 4