Comments Add Comment

संसद विघटनको विरोधमा पर्सा र बारामा प्रदर्शन

१३ पुस, वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहले बारा र पर्सामा प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा प्रदर्शन गरिएको हो ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेर असंवैधानिक, प्रतिगामी र गणतन्त्र विरोधी कदम चालेको उनीहरुको ठहर छ । उनीहरुले पर्साको वीरगञ्ज र बाराको कलैयामा प्रदर्शन गरेका हुन् । वीरगञ्ज स्थित पार्टी कार्यालयबाट सुरु भएको विरोध प्रदर्शन नगर परिक्रमा पछि पुनः घण्टाघरमै आएर विरोध सभामा परिणत भएको थियो ।

प्रदर्शनमा सहभागी नेकपा नेता कार्यकर्ताहरुले ‘केपी ओली तेरो पाराले दुःख पायो साराले’, पार्टी एकता कायम राख, प्रतिगामी कदम खारेज गर लगायतका नारा लगाएका थिए ।

विरोध सभामा बोल्दै नेकपा प्रदेश २ का सहइन्चार्ज नागेन्द्र चौधरीले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर जनताको अधिकारको बलात्कार गरेको आरोप लगाए ।

नेकपा नेतृ उर्मिला अर्यालले आन्दोलन मार्फत नै संसद पुनर्स्थापना गर्नुपर्ने अवस्था आएको बताइन् । उनले जनचाहना विपरीत गणतन्त्र र संघीयतालाई अप्ठेरोमा पार्ने काम नगर्न सर्वोच्च अदालतका प्रधानन्यायाधीशसँग आग्रह गरिन् ।

यसैगरी संसद विघटनको विरोधमा नेकपाले बाराको सदरमुकाम कलैयामा पनि प्रदर्शन गरेको छ । मदन आश्रित स्मृति भवन कलैयाबाट निस्केको जुलुस बजार परिक्रमापछि भरत चोकमा पुगेर विरोध सभामा परिणत भएको नेता मनोज पौडेलले जानकारी दिए ।

विरोध सभामा केन्द्रिय सदस्य गोपाल ठाकुर, पूर्वमन्त्री पुरुषोत्तम पौडेल, केन्द्रिय सदस्य दिनेश राई, प्रदेश सभा सदस्य सुन्दर वि.क., प्रदेश कमिटी सदस्य राजन पौडेल, तपेश्वर चौधरी, मुकेश साह, शिवचन्द्र कुश्वाहा लगायतले मन्तव्य राखेका छन् ।

विरोध सभामा बोल्दै नेकपाका केन्द्रीय सदस्य ठाकुरले ओलीलाई निर्वाचन आयोगले बयल गाढा चुनाव चिन्ह दिने र त्यसैमा चढेर उनी अमेरिका जाने टिप्पणी गरे । संविधान, लोकतन्त्र, संघीयतालाई तुहाउने खेलमा ओली लागेको बताउँदै उनले संसद व्यूँताएरै छोड्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment