+
+

अचेल म पनि ठूलो मान्छे भएको छु कमरेड !

रामहरि ओझा रामहरि ओझा
२०७७ पुष १६ गते ९:२९

धेरै समयको अन्तरालपछि बुधवार बिहान एकजना हितैसी मित्र भेटिए । साविकको नेकपा एमालेनिकट विद्यार्थी संगठन हुँदै पार्टीमा लामो समयसम्म सक्रिय रहेका उनी अनुशासित र इमानदार कार्यकर्ता हुन् । तर, पछिल्लो समयमा उनी ओझेलमा थिए । दुई पार्टी मिलेर नेकपा भएपछि त झन उनले कुनै सांगठनिक जिम्मेवारी नै पाएनन् ।

भेटका क्रममा लामो भलाकुसारी भयो । खासगरी वर्तमान राजनीतिक उथलपुथलका सवालमा । ‘अब के हुन्छ होला सर कम्युनिस्ट आन्दोलनको भविष्य ?’ करिब आधा घण्टाको भलाकुसारीमा उनले यही प्रश्न पटक- पटक दोहोर्‍याए । कतिबेला भावुक हुन्थे, कतिबेला सामान्य हुन्थे, कतिबेला आफैलाई धिक्कार्थे त कतिबेला नेताहरुलाई गाली गर्थे ।

‘मलाई करिब दुई वर्ष भयो, कुनै नेताले पनि फोन गरेको थिएन । पार्टीको कार्यक्रम भन्ने खबर पाएपछि आफैं जान्थें । तर, कसैले आधिकारिक रुपमा बोलाउथेनन्’ खिन्नता भरिएको मलिन अनुहारमा रुखो मुस्कान ल्याउने कोसिस गर्दै उनले भने ‘अचेल म ठूलै मान्छे भएको छु कमरेड, मलाई समस्या परेका बेलामा, दुःख परेका बेलामा समेत वास्ता नगर्ने नेताहरुले पनि हाम्रो गुटमा आउनुपर्‍यो भन्दै घरीघरी फोन गरिरहेका छन् ।’

उनले अर्को रोचक कुरा सुनाए ‘कसैकसैले त मेरो गुटमा नआउने भए मेरो हातमा पानी हाल भन्दैछन्, कसैले बरु मेरो मलामी नहुनु, तर मेरो गुटमा आइदिनुपर्‍यो, मेरो इज्जतको सवाल छ भनेर फोन गर्छन् ।’

उमेरले करिब ४५ कटेका ती ‘कमरेड’ अझै पनि झिनो आशा राख्छन्, कतै नेकपा एक भई पो हाल्छ कि !

उनी एक प्रतिनिधि पात्र मात्रै हुन् । अहिलेको नेकपाभित्र यस्ता धेरै कार्यकर्ताहरु छन्, जसले पार्टीकै लागि भनेर, संगठनकै लागि भनेर, क्रान्तिकै लागि भनेर देश र जनताकै लागि भनेर जीवनको उर्वरक समय बिताए । इमानदारीपूर्वक संगठनको र नेताहरुको निर्देशन माने, जिम्मेवारी पाएपनि नपाएपनि पार्टी कुरे । पार्टीकै कारण आफन्तहरुसँग भिड्नुपर्‍यो । जब-जब पार्टी सत्तामा पुग्न थाल्यो, ती इमानदार कार्यकर्ताहरु ओझेलमा पर्दै गए । अवसरका लागि हानाथाप गर्नेहरु, व्यक्तिगत स्वार्थमा रमाउनेहरुको पार्टीभित्र बोलबाला हुन थाल्यो । बैचारिक सैद्धान्तिक भन्दा पनि अमर्यादित व्यवहारहरु देखाउनेहरु अघि बढ्न थाले । नेताहरुले पनि त्यस्तै कार्यकर्ता रुचाउन थाले । कार्यकर्ता कार्यकर्ता भएनन्, दास भए । लुटेरा भए ।

कतै योजना, कतै पद, कतै जागिर, कतै पुरस्कार वितरण भइरहँदा पनि ती इमान्दार कार्यकर्ताहरुको विषयमा कसैले चासो राखेनन् । संगठनात्मक जिम्मेवारी, संसदीय जिम्मेवारी, राजनीतिक नियुक्तिहरु सबैमा बषौंंदेखिको संगठनात्मक अनुभव भएका, पार्टी सिद्धान्त र विचारप्रति ज्ञान राख्ने ती कार्यकर्ताहरु अयोग्य ठहरिए । उनीहरुको सट्टा नेताहरुका नातागोता, आर्थिकरुपमा हुनेखानेहरुले स्थान पाए ।

त्यस्ता व्यक्तिहरुका लागि संगठनात्मक अनुभवको कुनै बारबन्देज भएन । सायद उनीहरुको गणना पनि भएन । आफ्नो परिवार पाल्नका लागि सामान्य पेशा व्यवसायमा लागेका कार्यकर्ताहरुलाई ‘पूर्णकालीन’ देखेन पार्टीले । तर, करोडौंका मेसिन ल्याएर सडक खन्ने ठेक्कामा लागेकाहरुलाई भने अवसरको ओइरो लाग्यो । तर, पनि डग्मगाएनन् इमानदार कार्यकर्ताहरु । ‘हामी व्यक्तिगतरुपमा कुनै कुरा प्राप्त गरौंला भनेर लागेका थिएनौं, हामीलाई स्कुलिङ पनि त्यस्तो थिएन’ ती कार्यकर्ताले भने ‘जनताको मुक्तिका लागि भनेर लागेका हौं, त्यसैले व्यक्तिगतरुपमा केही प्राप्त गरेन भन्ने न गुनासो छ, न आत्मग्लानि ।’

यस्ता कार्यकर्ताहरुलाई आफ्नो भन्दा पनि आफूले समाजवादको स्वणिर्म सपना देखाएर संगठनमा आवद्ध गराएका सयौं मजदुरहरु, हजारौं किसानहरु, निमुखाहरुको चिन्ता छ । ती अनुहारहरु सम्झिँदा आफैं त्रसित हुनुपर्ने अवस्था आएको छ, ‘मैले देखाएको समाजवादको सपना, समृद्धिको सपना, वर्गीय मुक्तिको सपना, सपनामै सीमित रह्यो ।’

पछिल्लो चरणमा विकास भएको राजनीतिक घटनाक्रमले तिनै कार्यकर्ताहरुलाई चिन्तित बनाएको छ । अवसरका बेला जुकाझैं देखिनेहरुलाई पार्टी विभाजनप्रति रत्ति दुःख छैन । उनीहरु अहिले पनि कहाँ पद पाइन्छ, कहाँ जागिर पाइन्छ र कहाँ योजना पाइन्छ भनेर ‘बार्गेनिङ’ मा व्यस्त छन् । सडकमै सत्तोसराप गर्नेहरु पनि एकआपसमा घाँटी जोड्दैछन् । उनीहरुलाई पार्टी फुटोस् वा जुटोस् कुनै परवाह छैन । तर, वर्गीय मुक्तिका लागि भन्दै पार्टीकै निर्देशन अनुसार लड्दै आएका ती अनुहारहरु आज झनै मलीन भएका छन् ।

टुटफुटमै केन्दि्रत कम्युनिष्ट इतिहास अध्ययन गरेका उनीहरु २०७५ साल जेठ ३ गते दुई ठूला कम्युनिष्ट समूहहरु एक हुँदा प्रफुल्लित भएका थिए । आफ्नो चाउँरिदै गरेको अनुहारमा विजयमुस्कान ल्याएका थिए । अब दुई पार्टी मिलेर एक भए भने समृद्धि आउँछ, जनताको जीवनस्तरमा सुधार आउँछ भन्ने कल्पना गरेका थिए उनीहरुले ।

तर, तर के गर्नु ? आज एकपटक फेरि ती इमानदार कार्यकर्ताहरुलाई आम जनताका बीचमा गएर ‘कम्युनिष्ट हुँ’ भन्न पनि लाज मान्नुपर्ने अवस्था आएको छ । फरक राजनीतिक पार्टीका कार्यकर्ताहरु देख्यो भने मुख लुकाएर भाग्नुपर्ने अवस्था छ । एक गुटका नेताहरुले अर्को गुटका नेताहरुलाई गाली गरेको, अपमानित गरेको, आरोप लगाएको सुन्दा मन कटक्क हुन्छ ती इमानदार सिपाहीहरुको ।

नेकपा विभाजन हुँदै गर्दा कसैलै केन्द्रीय सदस्य पाएको, कसैले जनसंगठनको जिम्मेवारी पाएको, कसैले मन्त्री पाएको खबर दिनहुँ सुनिरहँदा पनि कुनै सन्तोष नभएका उनीहरुलाई पनि यतिबेला आश्वासनको ओइरो लाग्दैछ । कसैले पद दिने, कसैले योजना दिने, कसैले छोराछोरी जागिर लाइदिने यस्तायस्तै आश्वासन उनीहरुका कानमा गुन्जिन्छन् ।

तर, अझै पनि चोइटिन लागेको नेकपाभित्र थुप्रै यस्ता इमानदार कार्यकर्ताहरुजो यस्ता ‘ललीपप’ सिधैं अस्वीकार गर्दैछन् । उनीहरुलाई आफ्नो पदको होइन, छोराछोरीको जागिरको होइन, पार्टीको चिन्ता छ । देशको चिन्ता छ । तमाम नेपाली जनताको चिन्ता छ । स्वीकारिरहेका छैनन् उनीहरु आश्वासन, प्रलोभन वा धम्की, जेसुकै होस् ।

त्यसको ठीक विपरीत अवसरवादीहरु स्वार्थको बार्गेनिङ्गमा जुटेका छन् । पार्टी सदस्य नभएकाहरु पनि ठुलै पदको दाबी गर्दैछन् । आफ्नो ठाउँमा योजना हालिदिनुपर्ने र त्यसको अध्यक्ष आफूलाई बनाइदिनुपर्ने ग्यारेण्टी गराउँदैछन् । कुनै सार्वजनिक संस्थानमा राजनीतिक नियुक्तिको पत्रसँग गुटको ‘बार्गेनिङ्ग’ चलेको छ । त्यति भएपछि ‘फलानो जिन्दावाद !’ भन्दै सामाजिक सञ्जालमा पोष्ट्याउँदैछन् । साँझ एउटा गुटको भएर पोष्ट्याउँछन्, बिहान उठ्दा अर्कै गुटको भएर निस्कन्छन् । हिजोसम्म आफैंले नेता मानेकाहरुलाई निकृष्ठ शब्दमा अपाच्य आरोप लगाउँदैछन् । त्यसैको बलमा नेताहरुबाट स्याबासी पाउँदैछन् । पदीय र पेशागत नैतिकतासमेत बिर्सेर गुटको ‘अन्धभक्त’ भएका छन् । अरुलाई मर्यादा, अनुशासन, नैतिकताको पाठ पढाउँदैछन्, आफू एकोहोरो रुपमा सीमाभन्दा बाहिर गएर बकबासपूर्ण अभिव्यक्ति दिँदैछन् ।

तर, ती कार्यकर्ताहरु जो आज पनि नेकपा चाहान्छन्, जो आज पनि पार्टीका नेताहरुले एकीकरण घोषणाको दिन गरेको बाचा पूरा भएको हेर्न चाहान्छन्, जो आज पनि गठवन्धनले चुनावमा गरेका बाचा पूरा गरेको हेर्न चाहान्छन्, उनीहरु आफ्नै नेताको हुर्मत गरेको सहन सक्दैनन् ।

यदि नेतृत्वले, गुटका ठेकदारहरुले त्यस्ता कार्यकर्ताहरुको भावना, आग्रह बुझिदिएको भए देशले अहिले राजनीतिक अस्थिरता झेल्नुपर्ने थिएन । भाइ-भाइ आपसमा लड्नुपर्ने थिएन कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?