Comments Add Comment

लोडसेडिङ ३ वर्षअघि नै अन्त्य भइसक्यो, अब हुँदैन : शाक्य

१७ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको बताएको छ ।

शुक्रबार प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पत्रकार सम्मेलन आयोजना गरी ३ वर्षअघि नै लोडसेडिङ अन्त्य भइसकेको र फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको जिकिर गरे ।

केही स्थानमा प्राविधिक कारणले छोटो समयलाई विद्युत आपूर्तिमा अवरोध हुँदा बत्ती गएको शाक्यको भनाइ छ । उनले अनावश्यक रुपमा विजुली काट्ने काम नभएको र प्राविधिक कारणले बिजुली काटिँदा लोडसेडिङ भन्न नमिल्ने पनि बताए ।

अहिले नेपालको विद्युत प्रणालीमा प्राधिकरणको आन्तरिक उत्पादन, निजी क्षेत्रको उत्पादन र नपुग हुँदा भारतबाट आयात गरी विद्युत माग बराबर नै आपूर्ति गरिराखेको शाक्यले बताए ।

राष्ट्रिय विद्युत प्रणालीमा भारवहन क्षमता भन्दा बढी विद्युत प्रवाह हुँदा केही समय विद्युत प्रसारण तथा आपूर्तिमा भएको अवरोधलाई लोडसेडिङ नभन्न समेत उनले आग्रह गरे । यस्तो अवरोध न्यूनीकरण र निराकरण गर्न प्राधिकरण सक्षम रहेको पनि बताए ।

कोभिड– १९ महामारीका समयमा विद्युत चुहावट पहिले भन्दा डेढ प्रतिशत बढेको र यसलाई ८ महिनाभित्रमा पुरानै स्थितिमा ल्याउने पनि शाक्यले बताए ।

यस वर्ष साढे १४ प्रतिशतमा चुहावट झार्ने लक्ष्य लिएपनि गत वर्षको १५ दशमलव २७ प्रतिशतको हाराहारीमा कायम गर्न सक्षम हुनेगरी काम भइरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment