Comments Add Comment

संसद विघटनविरुद्ध कांग्रेस आन्दोलित, वडा तहसम्मै प्रदर्शन गर्ने

१९ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले वडातहसम्म प्रदर्शन र सभा गर्ने  निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम तय गरेको हो ।

केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार पुस २५ गते ३३० वटा प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्नेछ । त्यसपछि माघ ३ गते ७५३ वटै स्थानीय तहमा र माघ ८ गते ६७४३ वटै वडामा प्रदर्शन  र सभाको कार्यक्रम तय भएको उनले बताए ।

कांग्रेसले पार्टीका जिल्ला समितिले आफ्नो अनुकुलतामा तथा पार्टीका भातृ तथा शुभेच्छुक संगठनहरुले आ–आफ्नो आवश्यकता र अनुकुलतामा जिल्ला समितिसँग समन्वय गरेर कार्यक्रम गर्ने पनि निर्णय गरेको छ ।

त्यसैगरी बैठकले २०७५ कात्तिक २० गते उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गर्नेहरुको समायोजनको निम्ति बनाइएको समायोजन समितिले तयार पारेको प्रतिवेदन बैठकले अनुमोदन गरेको छ । बैठकले क्रियाशील सदस्यता विवरण २०७७ माघ मशान्तसम्म गरिसक्ने मिति तय पनि गरेको छ ।

‘भ्रम नहोस्, कांग्रेस एकमतका साथ आन्दोलनमा छ’

नेपाली कांग्रेसले संसद विघटनविरुद्ध पार्टी एक मतले आन्दोलनमा रहेको बताएको छ । संसद विघटनका विषयमा कांग्रेसबारे भ्रमपूर्ण समाचारहरु आइरहेको भन्दै आइतबार विज्ञप्तिमार्फत उसले भनेको छ, ‘संसद विघटनको असंवैधानिक कदमका विरुद्ध एउटै निर्णय र प्रष्ट धारणा साथ नेपाली कांग्रेस एकमतका साथ आन्दोलनको मैदानमा छ ।’

संसद विघटन गरेकै दिन पुस ५ गते बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठकदेखि नै कांग्रेसले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको र देशब्यापी विरोध प्रदर्शन समेत गरिसकेको कांग्रेसले बताएको छ ।

प्रतिनिधिसभा विघटनको कदम अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल बदनियतपूर्ण निन्दनीय कार्य हो भन्ने कांग्रेसले प्रष्ट पारिसकेको पनि बताएको छ ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक कार्य हो भन्ने हाम्रो ठहर छ’ कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment