Comments Add Comment

रेष्टुरेन्टबाट डुबेका काजिश भिडियोमा चम्किदै

तीन वर्ष अगाडि एउटा गीत रिलिज भयो, ‘रातो अविर पहेलो केशरी’ । यो गीतको भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफी गरेका हुन् । गीतमा उनले करिश्मा ढकालसँग अभिनय गरे ।

यो गीतपछि काजिश श्रेष्ठकै कोरियोग्राफीमा ‘मान्छे फकाएर आफ्नो हुँदैन’ बोलको गीत रिलिज भयो । सय जना कोरस राखेर काजिशले भिडियोमा नायक दिलिप रायमाझी र मोडल एलिसा शर्मालाई अभिनय गराएका थिए ।

माथि उल्लेखित २ गीत कोरियोग्राफर काजिश श्रेष्ठका लागि कोशे ढुंगा सावित भए । कहिले रेष्टुरेन्ट खोलेको त कहिले मलेसिया पुगेको एक यूवा हिजोआज म्यूजिक भिडियो छायांकनको सेड्यूल बनाउनमा व्यस्त छन् । काजिशको जीवन फेरिएको छ । उनीसँग, नेपाली लोकदोहोरीको म्यूजिक भिडियोले पनि उनको सोच अनुसार नयाँ पालुवा हाल्दै छ ।

लकडाउनपछि मात्र काजिशले ४० भन्दा बढी म्यूजिक भिडियोको निर्देशन गरेका छन् । नायक राजेश हमाल, पल शाह, दिलिप रायमाझीदेखि नायिका पूजा शर्मा, वर्षा सिवाकोटीसम्मलाई उनले नचाएका छन् । मोडल दुर्गेश थापादेखि सागर लम्साल, प्रिज्मा–प्रिन्सी खतिवडासम्मले उनको निर्देशनमा कम्मर मर्काएका छन् ।

उनले कोरियोग्राफी गरेका ‘बाजा बजाउँदै’, ‘नैना रेशम’, ‘ओए कान्छी’, ‘हिरो हिरोइन’, ‘डाँफे चरी’, ‘पछ्यौरी लिस्यो’ लगायतले दर्शकको मन जितेका छन् ।

एक साता अघिमात्रै सार्वजनिक भएको उनी निर्देशित ‘चिनो मायालाई जाली रुमाल’ बोलको गीतको भिडियो युटुबको ट्रेन्डिङमा छ । अनलाइनखबरसँगको भेटमा काजिशले खुशी व्यक्त गर्दै भने–‘दर्शकले मेरो मिहिनेतलाई वुझिदिनुभएको छ । आफ्नो कामले सफलता पाउँदा खुशी कसलाई नलाग्ला र ?’

हालसम्म ५ सय गीतको कोरियोग्राफी तथा १ सय भिडियोमा अभिनय गरेका काजिश आफूलाई मोडलभन्दा पनि कोरियोग्राफरकै रुपमा चिनाउन पाउँदा खुशी हुन्छन् ।

आजका दिनमा सफलता चुम्दै गर्दा काजिशले जिन्दगीमा सयौै ठक्कर भने नखाएका होइनन् । ‘काठमाण्डौमा संघर्ष गर्दै गर्दा गोजीमा सय रुपैयाँ पनि हुदैनथ्यो । केही होला कि भनेर रेष्टुरेन्ट खोले, त्यो पनि डुब्यो । रोजगारका लागि मलेसिया पुगेँ, त्यहाँ पनि टिक्न सकिनँ । मेरो सबै कुरा गीत संगीतमै रहेछ भन्ने बल्ल वुझ्दैछु ।’, काजिशले विगत सुनाए ।

चुनौती थपिएको छ
काजिश हिजोआजका म्युजिक भिडियो चलचित्रको गीतको भिडियो स्तरको बन्ने गरेको दाबी गर्छन् । म्युजिक भिडियो स्तरीय बन्न थालेसँगै चलचित्रका कलाकारहरुको पनि आकर्षण बढेको छ । दर्शक तथा सर्जकहरुले आफ्नो कामलाई मन पराएसँगै चुनौती भने थपिएको काजिश बताउँछन् ।

‘हरेक भिडियोमा आउने प्रतिक्रियाहरु हेर्छु । गीत–संगीतका अग्रजहरुबाट मेरो कामको तारिफ भएको सुन्छु । यसले काम गर्ने जोश अझै बढाएको छ । साथै, मलाई अझै राम्रो काम गर्नुपर्छ भन्ने चुनौती पनि थपिएको छ ।’, काजिशले भने ।

पछिल्लो समयमा नेपाली लोकदोहोरीका भिडियोहरुमा देखिएको फरकपन र स्तरियता काजिश जस्तै प्रतिभाहरुको मिहिनेतको फल हो । काजिश यो क्षेत्रका लागि आफूले अझै धेरै गर्ने जोश सुनाउँछन् ।

नेपाली म्यूजिक भिडियो दुनियाँमा एउटा प्रतिभा काजिशको नाममा फक्रिदैछ । सायद, काजिश जस्तै नेपाली म्यूजिक भिडियो क्षेत्रले आफूलाई फराकिलो बनाउन अझ धेरै काम गर्न बाँकी छ । यसमा काजिशले एउटा इट्टा थप्ने काम गरे भने पनि त्यो उनी र नेपाली म्यूजिक भिडियोका लागि नयाँ आयाम हुनेछ ।

प्रस्तुतिः सुशिल नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment